सुर्य बहादुर थापा, मुगा र हाम्रो ध्वस्त घर
अमेरिकाको व्यस्त जीवन । आफ्नो निजी भन्ने त केही नै रहन्न । जतिबेला नि काममै व्यस्त । तर, जतिबेला पनि इन्टरनेटको पहुँचमा हुने हुँदा विश्वमा भएका साना ठूला सबै घटना क्षणभरमै थाहा भइहाल्छ ।
बुधबार यस्तै भयो । भर्खरै काममा गएको थिएँ । धनकुटा जिल्लाको मुगा गाबिसमा जन्मेका नेपालका पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको गत बुधबार राति भारतको मेदान्त अस्पतालमा निधन भएको समाचार सुन्नासाथ क्षणभरमा हातखुट्टा गले ।
उहाँको निधनको समाचार मलाई काठमाडौँबाट संचालित दैनिक नेपाल डटकमका सम्पादक, मेरा मित्र गणेश पाण्डेले अमेरिकाको समय अनुसार दिउसोको ३ः२० मा दिनुभयो । दैनिक नेपालले नै सूर्यबहादुर थापाको निधन भएको समाचार ब्रेक गरेको थियो । दैनिक नेपाल टिमले रात पनि नभनी अपडेट दिएको थियो । काममा ब्यस्त भैरहेको बेला भाइबरमार्फत यो खबर पाउँदा राम्रोसँग हेर्न सकिन । र, सरसर्ती हेर्दा अचम्मित भएँ । अनुहारमा गम्भीर भएकोले सहकर्मीहरुले के भयो ? भनि सोधे । र ,पारिवारिक मृत्यु भएको छ भन्दा के नेपाल जानुपर्छ भनि मलाई सोधे ।
सूर्यबहादुर थापा र हामी दाजुभाइ । एउटै परिवारका । धनकुटा जिल्लाको मुगा हाम्रो पुख्र्यौली । हाम्रो घर पनि सँगसँगै जसतो छ । परिस्थितिले हामी टाढा टाढा पुगेपनि चाडपर्वमा भेट हुन्थ्यो । देवाली मनाउन मुगामा पुग्थ्यौँ । हामी लामिछाने थापाहरुको देवाली हुन्छ र मुगामा मनाइन्छ ।
उहा पनि हाम्रो हजुर बुवाको हातबाट टिका लगाउन हाम्रो घर काठमाडौँको बालुवाटार आउनु हुन्थ्यो, हाम्रो घरबाट पनि उहाँको मालिगाउँस्थित घर जाने गर्थ्यौँ । हामी थापा परिवार भित्रकै सदस्य हौँ । जुठो र सुतक बार्ने गर्छौँ । मेरो उहाँ साइनोले दाजु । काठमाडौँमा बास भए पनि उहाँ र हामी कसैले पनि मुगा छोडेका छैनौँ । हामीले एक कञ्चो जग्गा पनि बेचेको छैन । घर खण्डहर भएको छ । मुगा छोडेको युग भएतापनि घरको रेख देख गर्ने मानिसलाई अझ पनि मुगामै व्यवस्था गरिएको छ ।

४० बर्ष देखि मुगास्थित हाम्रो घर रेखदेख गर्ने बीरबहादुर भुजेल, मैले यही बिद्यालयबाट १ कक्षासम्म पढेको हो भने सूर्यबहादुर थापाले पनि यहीँ पढ्नु भएको हो ।
घर भत्केको तस्बिर देख्दा आँशु आउँछ, केही गर्न नसकिएकोमा दुख लाग्दछ । किनभने हामी अमेरिकामा छौँ । तर मेरो जन्मस्थान मुगा खण्डहरमा परिवर्तित भएको छ । आवतजावत ठप्प छ। जन्मस्थल बिरानो लाग्दछ । जन्मस्थानलाई हाम्रो खाँचो चाहिएको छ । अनि सूर्यबहादुर दाइको परिवार त्यहाँ गएर बस्न सक्ने अवस्था छ, न त हामी । अझ हामी त सबै भाइ परदेशीझैँ भएका छौँ ।
धनकुटा मुगाको भन्ने बित्तिकै सूर्य बहादुर थापासँग के सम्बन्ध छ र के नाता पर्छ भनी अहिलेसम्म पनि सोधिन्छ । सूर्यबहादुर दाइ प्रधानमन्त्री भएकोमा हाम्रो परिवारमा कम्ता खुसी भएको थिएन् । तर, पनि उहाँको नाम र शक्ति कहिल्यै दुरुपयोग गर्न परेन हामीलाई । उहाँ बाँचुञ्जेल त परेन, अब त स्वर्गबास नै भइसक्नुभएको छ ।
बिहिबार दिउँसो नेपालको एउटा अनलाइनमा समाचार हेर्दै झनै स्तब्ध भएँ म । सूर्यबहादुर दाइको धनकुटा मुगाको घर तथा अन्य थापाहरुको घरहरुको तस्बिर देख्दा आँशु छचल्कियो ।
पीडा अझ बढ्यो किनभने अनलाइन खबरले हाम्रो मुगाको घर र हाम्रो घर हेरचाह गर्ने मानिसको समेत तस्बीर प्रकाशित गरिदिएकोले त्यसले मन कुटुक्क खायो । नयन नै रसायो काम गर्दागर्दै ।
आफू पनि त्यही जन्मेको र त्यहाँको पाठशालाको समेत तस्बीर प्रकाशित गरेकोले झन् गार्हो भो । हाम्रो घरको दुर्दशा देख्दा डाँको छोडेर रुन मन लाग्यो ।
मैले झन्डै १५ बर्ष भयो सूर्यबहादुर दाइसँग नभेटेको । आफनो नातेदार भए पनि जीवनमा ३ पटक मात्र प्रत्यक्ष भेट्ने अवसर पाएँ, उहाँसँग ।
१० बर्षे युद्धकालमा मुगामा थापाहरुको कुल देवताको पूजा देवाली मनाउने बिषयमा थापा परिवारको जमघट बिराटनगरमा भएको थियो । त्यस समयमा बिराटनगरमा रेवत थापाद्वारा संचालित रत्ना होटलमा भएको कार्यक्रममा स्वर्गीय सूर्यबहादुर थापा उपस्थित हुनुभएको थियो । उहालाईँ नै प्रमुख अतिथि बनाइएको थियो ।
उहाँ प्रायः गम्भीर मुद्रामा हुनुहुन्थ्यो । सौभाग्यबश मैले नै कार्यक्रम संचालन गर्ने अवसर पाएको थिएँ । त्यस समयमा पनि आफू जन्मेको ठाउँलाई बिर्सनु हुँदैन भनी स्वर्गीय सूर्यबहादुर थापाले भन्नु भएको थियो ।
आज झन्डै १५ बर्षपछि उहाँले आफ्नो जन्मथलोको बारेमा भनेका कुरा मिडियाबाट थाहा पाउँदा मैले मन थाम्न सकिन । भावुक हुन् पुगेछु ।
आफू अमेरिकामा छु, उडेर जान सक्ने भए जान्थेँ होला तर पनि नेपालमा भएका परिवार त्यहाँ पुगेको तस्बिर हेर्ने मौका पाएको छु ।
पूर्वप्रधानमन्त्री एवं पाका नेता सूर्यबहादुर थापाको निधनले नेपाली राजनीतिको एउटा युगको अन्त्य भएको छ । राजनीतिक व्यवस्था जस्तोसुकै भए पनि थापाले उदारवादी राजनीतिक अवधारणालाई सधैँ आफ्नो प्राथमिकतामा राख्नुभयो ।
थापालाई राष्ट्रिय सम्मान दिइएको कुराले मन हल्का भएको छ । शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै बिदा ।
दुई वर्षको कानुनी लडाई पछि ट्रम्पको गोप्य कर विवरण जिल्ला अधिवक्ताको हातमा
लेडी गागाको कुकुर घुमाउनेको छातीमा गोली प्रहार गर्दै फ्रेन्च बुलडग नामक दुई कुकुर चोरी
ओहायोको बरफिलो तालमा खस्दा किशोरी र उद्धार गर्ने प्रहरी समेतको मृत्यु
अमेरिकाको आर्कन्सको एक घरमा ३ जनाको हत्या ,अपहरित बच्चा सुरक्षित फेला
न्यूयोर्क शहरमा नयाँ प्रजातिको कोरोना भाइरस फेला
प्रतिक्रिया