मास्कोमा नेपालविषयक वैज्ञानिक सेमिनार

इनेप्लिज २०७२ वैशाख ३ गते २३:०५ मा प्रकाशित

1मास्कोको केन्द्रमा अवस्थित रुस विज्ञान प्रज्ञा–प्रतिष्ठानअन्तर्गत प्राच्यविद्या संस्थानमा भारतवर्ष अनुसन्धान केन्द्रको अग्रसरतामा आयोजना गरिएको नेपालविषयक एक वैज्ञानिक सेमिनार सफलतापूर्वक सुसम्पन्न भयो । त्यसमा प्रमुख वक्ताको हैसियतले मास्को यात्रामा रहनुभएका नेपालका वरिष्ठ कूटनीतिज्ञ तथा पूर्वराजदूत श्री पुष्कर राजभण्डारीले ‘नेपालको सामाजिक–आर्थिक स्थिति तथा नेपाल–रुस सम्बन्ध’ भन्ने विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्राच्यविद्या संस्थानका उपनिर्देशक भ्याचेस्लाभ भेलोक्रेनित्स्कीको समुपस्थितिमा भारतवर्ष अनुसन्धान केन्द्रकी प्रमुख ताच्याना शाउम्यानले सेमिनारको उद्घाटन गर्दै रुसका लागि महामहिम नेपाली राजदूत डा. रविमोहन सापकोटा कोपिलाज्यूसहित सेमिनारका सहभागी नेपाली तथा रसियाली विद्वान् र उपस्थित महानुभावहरुको हार्दिक स्वागत गर्नुभयो र रुस–नेपाल सम्बन्ध एवं नेपालको वर्तमान अवस्थाको बारेमा सही जानकारी हासिल गर्न मात्र नभई बुद्धिजीवीहरुको यस किसिमको विचारविमर्शबाट हाम्रा दुवै देशका जनताहरुबीच पारस्परिक समझदारीको विकासमा समेत निकै गहकिलो सहयोग पुग्नेछ भनी जोड दिनुभयो ।

 सेमिनारका प्रमुख अतिथि रुसका लागि नेपाली राजदूत डा. रविमोहन सापकोटाज्यूले दास्रोपल्ट प्राच्यविद्या संस्थानमा उपस्थित हुने सम्भावना प्रदान गरिएकोमा ‘नेपालप्रति आस्था राख्ने र चिन्तन गर्ने’ विभिन्न पेशामा कार्यरत मानिसहरुको सेमिनारका आयोजकहरुप्रति कृतज्ञता जनाउँदै ‘नेपाललाई अति माया गर्ने रुसी विद्वान्हरुलाई सादर नमन गर्दछु’ भन्ने उद्गार पोख्नुभयो । महामहिमज्यूले आफ्नो सारगर्भित मन्तव्यमा राजनीतिको परिधिभन्दा माथि उठेर आफ्नै विशेष दृष्ट्रिकोण राख्ने विद्वान्हरुलाई (१) वर्तमानप्रति मात्र अभिमुख, (२) अतीत र वर्तमानप्रति अभिमुख र (३) भूत, भविष्य, वर्तमान तीनै कालप्रति अभिमुख गरी तीन वर्गमा विभाजित गरेर रूसी विद्वान्हरुलाई सर्वकालिक प्राज्ञको संज्ञा दिनुभयो र ‘यस्ता त्रिकालदर्शी प्राज्ञहरुका  लेखोटहरु हजारौंं वर्षपछिको लागि पनि मूल्यवान् हुन्छन् भन्ने अभिव्यक्ति दिनुभयो । महामहिमज्यूले ‘आगामी वर्ष रूस–नेपाल दौत्यसम्बन्ध स्थापनाको ६० वर्ष पूरा हुने हुँदा विशेष उल्लासका साथ मनाइने विशेष वर्ष’ बन्ने सन्दर्भमा ‘नेपाल र रुस दुवै ठाउँमा केही काम गर्नेछौं’ भन्नुभयो र दुवै देशका विद्वान्हरुको पारस्परिक आदानप्रदानमा जोड दिंदै ‘प्राज्ञ सम्बन्धका लागि नेपालको सबभन्दा पुरानो त्रिभुवन विश्वविद्यालयअन्तरगतको नेपाल एशिया अनुसंधान संस्थान र प्राच्यविद्या संस्थानबीच सहयोग गाढा बनाउन साठियौं वार्षिबकोत्सवलाई प्रयोग गर्ने’ दृढता जनाउँदै एक हप्तापछि सुरु हुने नेपालको नयाँ वर्ष बिक्रम सम्बत् २०७२ को उपलक्षमा हार्दिक शुभकामना व्यक्त गर्नुभयो ।

तत्पश्चात् सोभियत संघको राजधानीमा अवस्थित नेपाली राजदूतावासमा सन् १९८२ देखि १९८६ सम्म प्रथम सचिवको पदभार वहन गर्नुका साथै पाकिस्तानमा नेपाली राजदूत समेत रहिसक्नुभएका श्री पुष्कर राजभण्डारीले २८ वर्षपछि मास्कोमा घुम्दा ‘हृदयमा अङ्कित पुराना दिनहरुको सम्झना आइरहने’ तर विश्वप्सिद्ध प्राच्यविद्या संस्थान चाहि यसपल्ट मात्र पुग्ने सुअवसर जुटेकोमा हर्ष प्रकट गर्नुुका साथै सोभियत रुसले नेपालको आर्थिक विकासको जग हाल्नका  लागि पु-याएको सहयोगमध्ये डाक्टर, इन्जीनियर आदि विभिन्न क्षेत्रका दक्ष विशेषज्ञहरुको  तैयारीको सर्वोपरि महत्व रहेको जनाउनुभयो र नेपालविषयक सेमिनारको प्रमुख वक्ताको हैसियतले सघन विश्लेषणपूर्ण कार्यपत्रमा प्रवेश गर्नुभयो ।

 आधा घन्टा लामो कार्यपत्रको सुरुमै श्री पुष्कर राजभण्डारीज्यूले दक्षिण एशियाका देशहरुको संगठन सार्कअन्तर्गत विश्वको जनसंख्याको २१ प्रतिशत ओगट्ने ९ मुलुकहरु सदस्य तथा पर्यवेक्षकको रुपमा रहेको र निकट शिखर सम्मेलनमा पर्यवेक्षकको रुपमा रुसको उम्मेदवारीको सन्दर्भमा पनि सकारात्मक निर्णय लिइने विश्वास व्यक्त गर्नुभयो । रुस र नेपालबीचको सम्बन्ध ‘अतीतमा निकै न्यानो रहेको, तर अहिले केही चिसोपना देखिएको’ चर्चा गर्दै एक्काईसौं शताब्दीको प्रथम चरणमा हाम्रा दुवै देशहरुमा युनान्तकारी घटनाहरु घटेको तथ्य उल्लेख गर्दै नेपालमा सन् २००८ मा शान्तिपूर्ण तरीकाले राजतन्त्र विस्थापित भई नयाँ सामाजिक–आर्थिक विकासतर्फ संक्रमणको स्थिति रहेकोतर्फ अंगुलीनिर्देश गर्नुभयो र दुई देशबीच आपसी सम्पर्कका माध्यमहरु (सोझै हवाई उडान, उच्चस्तरीय र जनस्तरीय प्रमण्डलहरुको आदानप्रदान,  विभिन्न सामाजिक–सांस्कृतिक संस्थाहरुबीच सम्बन्ध–विस्तार आदि) को आवश्यकतातर्फ औंल्याउँदै ‘दुवै देशमा नयाँ नेतृत्वले नयाँ सम्बन्ध विस्तार गर्नेछ’ भनी जोड दिनुभयो ।

कार्यपत्रमा बहुभाषिक, बहुजातीय, बहुधार्मिक देश नेपालका जनताहरुको धर्मसहिष्णुता, सौहार्दता, मिलनसारिता आदि विशेष मौलिक सद्गुणहरुको चर्चाका साथै जलविद्युत् उत्पादन, पर्यटन विकास आदि विभिन्न आर्थिक तथा सांस्कृतिक क्षेत्रमा सहयोगको विपुल सम्भाव्यता रहेको तथ्यांकसहित विस्तृत वर्णन गरिनुका साथै उद्यमीहरुका लागि लगानीको वैधानिक सुरक्षा र नाफाको विप्रेषणको सम्भावनामूलक नीति अख्तियार गरिएको जानकारी दिइएको थियो । चीन तथा भारत जस्ता द्रुततर विकासको फड्को मारिरहेका  विशाल मुलुकहरुको माझमा अवस्थित नेपालमा बग्ने ६ हजार नदीनालाहरुको विद्युत् उत्पादन गर्ने सम्भाव्य क्षमताको उपयोग गर्ने हो भने देशका लागि चाहिने जति विजुलीको मात्र खपत हुने नभई भारतका लागि विद्युत्शक्तिको बढ्दो आवश्यकताको समेत पूर्ति हुन सक्ने छ भने भावी ८–१० वर्षभित्रै नेपालको सीमाबाट ३५ किमि मात्र टाढा रहेको केरुङसम्मै रेलमार्ग विस्तार गर्ने चीनको योजनाको कार्यान्वयले रेलमार्गद्वारा नेपाल समेत भारत र चीनसित जोडिने सम्भावना छ भनी कार्यपत्रमा चर्चा गरिएको छ ।

 हाल छिमेकी देशहरुका साथै सम्पूर्ण विश्वको ध्यान नेपालको संविधान लेखनतर्पm आकृष्ट भएको र देशको मूल कानून छिटो घोषित भएमा दिगो राजनैतिक स्थीरता कायम भई देशको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासको सम्भाव्यताले मूर्त रुप पाउने कुरामा पनि कार्यपत्रमा जोड दिइएको छ । अहिले नेपालका राजनैतिक दलहरुबीच देशको संविधान बहुमतको आधारमा पारित गर्ने कि सहमतिमा संविधान लेखन पूरा गर्ने भन्ने मूल विषयवरिपरि विवाद चलिरहेको भए तापनि१५ हजार नेपालीहरुको ज्यान लिने द्वन्द्व समेत शान्तिपूर्ण तरीको सुल्झाउने अनुकरणीय उदाहरण विश्वसमक्ष प्रस्तुत गर्ने नेपालीहरुमा विद्यमान सद्गुणहरु र नेपालीहरुको सच्चरित्रको प्रभावले गर्दा अन्ततोगत्वा सहमतिकै आधारमा नेपाली जनताले देशको संविधान प्राप्त गर्नेछन् र देशमा ‘राजनैतिक स्थीरताले राष्ट्रिय अर्थतन्त्रको विकासमा योगदान पु¥याउने छ’ भनी श्री पुष्कर राजभण्डारीको विवेचनामूलक र सारगर्भित कार्यपत्रमा निष्कर्ष निकालिएको छ ।

 कार्यपत्रको प्रस्तुतिपश्चात् नेपालबारे सेमिनारका सहभागीहरुले विभिन्न प्रश्नहरु राखेका थिए । उदाहरणार्थ, भारतवर्ष अनुसंधान केन्द्रकी उपप्रमुख एभ्गेनिया भानिनाले नेपालमा धार्मिक द्वन्द्वको सन्दर्भमा जिज्ञासा राखेकी थिइन् भने नेपालमा रसियाली राजदूतावासमा केही वर्ष काम गरिसकेका कूटनीतिज्ञ युल्दुज हालिउल्लिनले वर्तमान राजनैतिक गतिरोधसम्बन्धी प्रश्न तेर्स्याएका थिए । प्रमुख वक्ता श्री पुष्कर राजभण्डारीले सबै प्रश्नहरुको समुचित उत्तर दिएर सहभागीहरुको जिज्ञासा शान्त गर्नुभएको थियो ।

 नेपालविषयक सेमिनारको दोस्रो खण्ड नेपालप्रति समर्पित नवप्रकाशित पुस्तकहरुप्रति समर्पित थियो । सेमिनारको अध्यक्षता गर्ने भारतवर्ष अनुसंधान केन्द्रकी प्रमुख ताच्याना शाउम्यानले दिवंगत नेपालविद अलेक्सान्द्र लेद्कोभले प्रकाशित गर्न नभ्याएको तर उनका सहपाठी नेपालविद् सेर्गेइ लुन्योभको थपथापपछि प्रकाशित गरिएको ‘बीसौ शताब्दीको नेपालको इतिहास’ सेमिनारका प्रमुख अतिथि र प्रमुख वक्तालाई उपहारस्वरुप प्रदान गर्नुभएको थियो ।

तत्पश्चात् रसियाली विद्वान् सेर्गेइ मुर्तुजालिएभले यसै पंक्तिकार (कृष्णप्रकाश श्रेष्ठ) को साथमा मिलेर दागेस्तान र नेपालको विषयवस्तुमा संयुक्त रुपमा तयार पारिएको ‘ककेशिया चुलीदेखिन् हिमाली उच्चतातक’ शीर्षकको पुस्तकको विषयमा र हाम्रो भेट–परिचय कसरी भयो भन्नेबारे पनि रोचक पाराले मन्तव्य राखेपछि हामी दुवैले उपहारस्वरुप उक्त पुस्तक भारतवर्ष अनुसंधान केन्द्रका लागि र पुष्कर राजभण्डारीलाई पनि हस्तान्तरित गरेका थियौं ।

 त्यसपछि तीनपल्ट नेपालको यात्रा गर्ने दागेस्तानका महाकवि रासुल हाम्जातोभकृत तथा नेपाली भाषामा यसै पंक्तिकारबाट अनूदित नेपालविषयक दुई काव्यग्रन्थ ‘जीवनचक्र’ तथा ‘जीवित देवी कुमारी’ समावेश गरिएको र युवा छविचित्रकार इभान कोजोरेजोभकृत दागेस्तान र नेपालका रंगीन दृश्यचित्रहरुले सिंगारिएको त्रिभाषिक (रुसी, आभार तथा नेपाली)सचित्र ग्रन्थ–अल्बम ‘दुई देवताप्रति’ का सम्पादक–प्रकाशक एभगेनी कोजोरेजोभले ठूलो आकारमा छापिएको चित्रावली–पुस्तकको परिचय दिए ।

त्पसपछि हामी तीनै जनाले उक्त त्रिभाषिक चित्रावलीग्रन्थ “दुई देवताप्रति”   भारतवर्ष अनुसंधान केन्द्रका लागि ताच्याना शाउम्यानलाईप्रदान गरेका थियौ भने एकप्रति मास्को आइरहनुभएका श्री प्रवीण गौचनमार्फत् मदन पुरस्कार पुस्तकालयका लागि पठाइएको थियो ।

  तत्पश्चात् रुसमा आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिक समारोहप्रति समर्पित दुई पुस्तक (भानुभक्तका कविताहरुको रुसी भाषामा यसै पंक्तिकारद्वारा रुसी कवयित्री ल्युदमिला साल्तिकोभाको सहयोगबाट तयार पारिएको श्लोकबद्ध छायानुवादसहित द्विभाषिक (नेपाली–रुसी) संग्रह ‘लोकको गरूँ हित भनी’ (प्रकाशक : विश्व नेपाली साहित्य महासंघ, रुस शाखा) र रुसी भाषामा यसै पंक्तिकारको अनुवादमा र डा. ऋषिकान्त मण्डलको प्रकाशन सहयोगमा छापिएको मैथिली लोकसाहित्यको परिचय दिने गोनु झाका ‘कथाकुथुङ्ग्री’) पनि भारतवर्ष अनुसन्धान केन्द्रलाई उपहारस्वरुप प्रदान गरिएको थियो ।

नेपालविषयक सेमिनारको संयोजकको नाताले मैले पनि सेमिनारमा दुई शब्द व्यक्त गर्ने सम्भावना पाएको थिएँ । सेमिनारमा रुस–नेपाल सहयोग तथा मैत्री समाज (कार्यकारी सचिव बोरिस भेर्शिनिन), रुस लेखक संघ मास्को नगर संगठन (ल्युदमिला आभ्देएभा), गैरआवासीय नेपाली संघ रुस (कार्यवाहक अध्यक्ष डिल्ली खरेल सुमन), विश्व नेपाली साहित्य महासंघ रुस (महासचिव डा. मनमूर्ति भुर्तेल), नेपाली छात्रसंघ, रसियाली जनमैत्री विश्वविद्यालय (किरण रानाभाट), ‘ओरियन्तालिया’ प्रकाशनगृह (ओल्गा सोकोल्निकोभा) आदि विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको सूचित गर्दै गतः वर्ष मास्कोमा आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिक समारोह सप्ताहव्यापी रुपमा भव्यताका साथ मनाइनुका साथै रुसको कालुगा अञ्चलमा अवस्थित ‘एत्नोमिर’ परिसरमा निर्मित मनोरम ‘नेपाली घर’ मा भानु–प्रतिमा र संग्रहालय समेत स्थापना गरिएको र भानुप्रति समर्पित पुस्तकहरुको प्रकाशन क्रम जारी रहेको अवगत गराउँदै विश्व नेपाली साहित्य महासंघ रुसको तर्फबाट रुसी विद्वान्हरुको नेपालबारे लेखहरुको संग्रह ‘रुसमा नेपालको बिम्ब’ तथा श्री उत्सवकुमार अमात्यको प्रकाशन सहयोगमा नेपालको साहित्य र संस्कृति विषयक यसै पंक्तिकारका लेखहरुको संग्रह ‘हिन्दू अधिराज्यबाट धर्मनिरपेक्ष गणतन्त्रतिर’ काठमाडौंमा प्रकाशित भइसकेको सूचित गरेको थिएँ ।

यसै वर्ष नेपालको यात्रा गर्ने र रुसमा नेपालको परिचय दिने पहिला रुसी विद्वान् इभान पाभ्लोभिच मिनाएभको १७५–रौं जन्मजयन्ती र उनले नेपालको भूमिमा पदार्पण गरेको १४० वर्ष पुग्ने सन्दर्भमा वैज्ञानिक सम्मेलनको आयोजना गरी त्यसैमा पुस्तकहरुको लोकार्पण समेत गर्ने प्रस्ताव राख्नुका साथै बौद्धसाहित्यका धुरन्धर विद्वान् रुसी प्राच्यविद इभान मिनाएभले नेपाल उपत्यकामा टेकेको स्थानमा एउटा प्रतिमास्तम्भ राख्ने आफ्नो सपना रहेको र रुस तथा नेपालको संयुक्त प्रयासबाट सो सपना साकार भएको देख्ने चाहनाबारे पनि अभिव्यक्ति दिएको थिएँ ।

 तत्पश्चात् यसै पंक्तिकारलाई दागेस्तानका महाकवि रासुल हाम्जातोभका नेपालविषयक दुई काव्यकृतिहरुको छन्दोबद्ध नेपाली अनुवादवापत् रुस महासंघका राष्ट्रपतिको मातहतमा रहने दागेस्तानका स्थायी प्रतिनिधि ई.मुगुत्दिनोभद्वारा हस्ताक्षर गरिएको कृतज्ञता–ज्ञापनपत्र सहित मेरा लागि ‘एभरेष्ट’ नामले उत्पादन हुन थालेको दागेस्तानी सोमरस तथा मेरी पत्नीका लागि दागेस्तानी केरामिक फूलदानी पनि उपहार प्रदान गरी सम्मान गरिएको थियो ।

 यस्तो सम्मान पाएर गद्गद हुँदै कृतज्ञता ज्ञापनका लागि शब्द नै नपाएर पुस्तकको शीर्षकअनुरुप प्रारम्भमा छापिएको महाकवि रासुल हाम्जातोभकै ‘दुई देवताहरुप्रति’ शीर्षकको कविताको नेपाली अनुवाद वाचन गरेको थिएँ । त्यसमा अंशतः यस्ता शब्दहरु छन् :

 यौटा अवश्य नै हो है – गीतगायन देवता,
 लयसंगीतका देवकाव्यवाङ्मय देवता ।
र अकों – प्रेमका देव !.. छैन संशय क्यै ममा, –
ज्यून मुस्किल ठान्छु म यी दुवैको अभावमा ।।

हो प्रेम पहिलो मेरो सुरम्य गीतको लय,
गीत – अनन्त आशक्ति तथा शाश्वत प्रणय ।
हुन्छ जीवनसञ्चार मरेको मुटुमा पनि,
यी दुवै देवताबाट निस्के आदेशको ध्वनि ।।
                (दुई देवताप्रतिपृ. ११)

व्याख्यान-कक्षभरि ४० जनाभन्दा बढी रूसी तथा नेपाली (डा. एकनारायण चापागाईं, डा. ध्रुवदास उलक, डा. सूर्यप्रकाश पौड्याल आदि) विद्वान् र अध्येताहरूद्वारा भाग लिइएको सेमिनारमा रुसीबाट नेपालीमा  र नेपालीबाट रुसी भाषामा अनुवाद कार्यमा रुस–नेपाल सहयोग तथा मैत्री समाजका उपाध्यक्ष डा. मणिराज पोखरेलबाट सहयोग प्राप्त भएको थियो भनेरुस–नेपाल सहयोग तथा मैत्री समाजका कार्यकारी सचिव बोरिस भेर्शिनिनले सेमिनारको दृश्य र त्यसका सहभागीहरुको छविचित्र उतार्ने जमर्को गरेका थिए

यस प्रकार मास्कोको मुटुमै प्राच्यविद्या संस्थानमा नेपालविषयक सम्मेलनको समाप्तिपश्चात् गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदमा नारी–संयोजक सपिला राजभण्डारीको अग्रसरतामा नेपाली समुदायका तर्फबाट चियापानको आयोजना गरिएको थियो ।

2

 

 

 

 

 

प्रतिक्रिया