अख्तियारलाई भारत सरकारको ३५ वटा गाडी सहयोग

इनेप्लिज २०७२ वैशाख ३ गते १०:३४ मा प्रकाशित

Rss_Images_1429171463308_RS-KTM-vehicles-4काठमाडौँ, ३ वैशाख । भारत सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ३५ वटा गाडी प्रदान गरेको छ ।

आयोगको कार्यालयमा आज आयोजित एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत रञ्जीत रायले आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई ती गाडी हस्तान्तरण गर्नुभएको हो ।

हस्तान्तरित गाडीमा महिन्द्रा कम्पनीको १५ वटा स्कारपिओ (जिप), टाटा कम्पनीको १५ वटा जेन्युयन पिकअप गाडी र पाँच वटा मान्जा कार रहेका छन् ।

सो अवसरमा आयोग प्रमुख कार्कीले भारत सरकारको तर्फबाट प्रदान गरिएको उक्त सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो ।

आयोगको संरचनागत सुधारका लागि उक्त सहयोग महत्वपूर्ण हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा राजदूत रायले भ्रष्टाचार उन्मूलनका लागि नेपालले लिएको पछिल्लो कदम सराहनीय भएको उल्लेख गर्दै नेपालको भ्रष्टाचार निवारणका लागि गरिएका प्रयासमा सघाउन भारत तत्पर छ भन्नुभयो ।

सहयोगस्वरुप प्राप्त गाडीहरु धनकुटा, हेटौँडा, पोखरा, सुर्खेत, दीपायलमा रहेको क्षेत्रीय कार्यालय र इटहरी, बर्दिवास, कोहलपुर, बुटवल र कञ्चनपुरमा रहेको सम्पर्क कार्यालयलाई प्रयोगका लागि दिइने आयोगका प्रवक्ता वेगेन्द्रराज पौड्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया