टोखामा जीवित देवी कुमारी र गणेशको सिन्दुर यात्रा

इनेप्लिज २०७२ वैशाख २ गते १५:३७ मा प्रकाशित

काठमाडौँ, २ वैशाख । काठमाडौँको उत्तरी भेग टोखाको प्रसिद्ध बिस्केट जात्राअन्तर्गत आज जीवित देवी कुमारी र गणेशको सिन्दुर यात्रा गरियो ।

प्रत्येक वर्ष वैशाख सङ्क्रान्तिदेखि चार दिनसम्म चल्ने सो जात्रामा सरकारी प्रतिनिधि सहभागी भएपछि स्थानीयवासीले ती देवदेवीलाई स्थानीय थनेलाछीदेखि गणेशमन्दिरसम्म सिन्दुर छरेर जात्रा निकालेका हुन् ।

बिस्केट जात्राको महत्वपूर्ण हिस्साका रुपमा कुमारी र गणेशको जात्रालाई लिइन्छ । सो जात्रा ननिकाली बिस्केट जात्रा पूर्ण भएको मानिँदैन । यहाँको बिस्केटमा भने जिब्रो छेड्ने चलन छैन् ।

त्यसैगरी, स्थानीय चण्डेश्वरी, सपन विनायक, गणेश, कुठु गणेश, मशान काली, सरस्वती र महादेवलाई खटमा चढाएर यात्रा गराइएको थियो । प्रत्येक वर्ष वैशाख २ गते ती देवदेवीलाई ध्वजापताकाले सजाएर स्थानीय गाउँ तथा नगरमा परिक्रमा गराई पूजा गरिन्छ । उक्त कार्यक्रममा बालक, युवा, वृद्धवृद्धा तथा पर्यटकसमेत सहभागी भई मनोरन्जन लिएका थिए ।

स्थानीयवासीले भजनकिर्तन गर्दै हृदयविदारक गीतसमेत गाएका थिए ।
बिस्केट जात्राको अवधिभर देवदेवीको दर्शन गरी मेलामा सहभागी भएमा विभिन्न रोगबाट मुक्ति तथा सुख शान्ति मिल्ने जनविश्वास रहेको स्थानीय समाजसेवी गणेशमान श्रेष्ठले जानकारी दिनुभयो ।

मेला व्यवस्थापन समितिका सदस्य एवम् पूजारी देवराज डङ्गोलले उक्त स्थानमा लिच्छवी संवत ५१९ को प्राचीन शिलालेख प्राप्त भएको र त्यसमा नेपालमण्डल अन्तर्गतको टोखा नगरको पर्व र संस्कृतिबारे उल्लेख गरिएको बताउनुभयो ।

प्रतिक्रिया