बिहीबार, मंसिर ११ २०७७
काठमाडौं ०१:०६
वासिङटन डिसी 14:21

टोखाको सपन तीर्थमा बिस्केट जात्रा तथा मेला

इनेप्लिज २०७२ वैशाख १ गते ८:०१ मा प्रकाशित

काठमाडौँ, १ वैशाख । काठमाडौँको उत्तरी भेगमा पर्ने टोखाको प्रसिद्ध बिस्केट जात्रा आज सुरु भएको छ ।

प्रत्येक वर्ष वैशाख १ गतेदेखि चार दिनसम्म जारी रहने सो जात्रामा पञ्चबलि, विभिन्न देवदेवीका खटजात्रा तथा पूजा गरिन्छ ।

स्थानीय चण्डेश्वरीमा ध्वजापताकाले सजाएर आजै साँझ हाँस, बोका, राँगालगायतको बलि दिने प्रचलन छ ।

त्यसैगरी, स्थानीय बज्रयोगिनी, चण्डेश्वरीको विशेष पूजा गरिने यस जात्रामा जीवित देवी कुमारी, गणेश र नारायणको समेत पूजा र सिन्दूर जात्रा गरी भजन कीर्तनसमेत गरिन्छ तर यहाँको बिस्केट जात्रामा भने जिब्रो छेड्ने चलन छैन ।

यसैबीच, सोही स्थानमा सपन तीर्थ मेलाका लागि ‘सपन तीर्थ पोखरी’ मा आज रातिदेखि मेला लागेको छ । सो मेला भर्न भक्तजनको घुइँचो लागेको मेला व्यवस्थापन समितिका सदस्य देवराज डङ्गोलले जानकारी दिनुभयो ।

काठमाडौँ उपत्यका तथा त्यस आसपास क्षेत्रका विभिन्न स्थानबाट नयाँ वर्षको दिन उक्त स्थानमा मेला भर्न भक्तजन आउने गर्दछन् । मेला भर्न आउने भक्तजनले आजको दिन सो पोखरीमा स्नान गर्ने गर्दछन् ।

काठमाडौँबाट करिब १० किलोमिटर उत्तरी भेग तथा शिवपुरी राष्ट्रिय निकुञ्जको काखमा रहेको पोखरीमा स्नान गर्नाले निःसन्तानलाई सन्तान हुने तथा छालासम्बन्धी रोग नलाग्ने जनविश्वास रहेको छ ।

प्रतिक्रिया