महायज्ञमा पौने दुई करोड दान सङ्कलन

इनेप्लिज २०७१ चैत ३० गते ३:५३ मा प्रकाशित

लम्की (कैलाली), ३० चैत । खप्तड बहुमुखी क्याम्पसको शैक्षिक र भौतिक स्तरोन्नति तथा कृषि क्याम्पस स्थापनार्थ आयोजना गरिएको खप्तड धार्मिक महायज्ञमा रु पौने दुई करोड दान सङ्कलन भएको छ ।

कैलालीको मसुरियामा चैत २१ देखि २८ गतेसम्म सञ्चालन भएको महायज्ञमा रु एक करोड ८० लाख दान सङ्कलन भएको हो । ‘शान्ति, सद्भाव तथा शैक्षिक विकास’ भन्ने मूल नाराका साथ सञ्चालन भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ एवम् धार्मिक महायज्ञमा एक करोड नगद र ८० लाखबराबरको २२ कट्ठा भूमिदान सङ्कलन भएको महायज्ञ मूल आयोजक समितका संयोजक रामबहादुर कलेलले जानकारी दिनुभएको छ ।

महायज्ञमा अन्तर्राष्ट्रिय भागवत भूषणनारायण प्रसाद शास्त्री–पुज्य सञ्जेलले कथा वाचन गर्नुभएको थियो । महायज्ञमा प्रत्येक दिन भागवत पूजा रुद्री पाठ, योग विज्ञान शिविर, सङ्गीतमय कथा प्रवचन र धार्मिक झाँकी, भजनकीर्तनलगायत कार्यक्रम भएका थिए ।

प्रतिक्रिया