बागलुङ, २८ चैत । बागलुङ क्षेत्र नं १ को संविधानसभा उपनिर्वाचनमा आज बिहान ७ बजेदेखि सबै मतदान केन्द्रमा मतदान सुरु भएको छ ।
उन्नाइस गाविस र एक नगरपालिका गरी ३५ मतदानस्थलमा रहेको ७० मतदान केन्द्रमा मतदान सुरु भएको हो ।
आज ७ बजे अघि नै मतदान केन्द्रमा मतदाताको भीड लागेको छ । मतदाता उत्साहका साथ मतदान गर्न लामबद्ध बनिरहेका छन् । साँझ ५ बजेसम्म मतदान कार्य चल्ने जिल्ला निर्वाचन अधिकारी टोलराज उपाध्यायले बताउनुभयो ।
यस क्षेत्रमा ५२ हजार २०२ मतदाता रहेका छन् । यो उपनिर्वाचनमा मतदानको दर बढ्ने अनुमान गरिएको छ । मतदान अवधिभर मतदान केन्द्रको सुरक्षाका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
भित्री घेरामा जनपद प्रहरी र बाहिरी घेराबाट सशस्त्र प्रहरीले सुरक्षा दिइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । निर्वाचन सुरक्षाको लागि सशस्त्र प्रहरीका आठ र जनपद प्रहरीका सात वटा मोबाइल टोली परिचालन गरिएको छ ।
राष्ट्रिय अनुसन्धानका गुप्तचर कर्मचारीलाई पनि सबै मतदान केन्द्रमा खटाइएको छ ।
राजनीतिक दलका १० र तीन स्वतन्त्र गरी १३ उम्मेदवार उपनिर्वाचनको मैदानमा छन् । अघिल्लो निर्वाचनमा विजयी बनेको नेपाली काँग्रेसको तर्फबाट स्व सभासद् हरिबहादुर खड्काकी श्रीमती चम्पादेवी खड्का उम्मेदवार रहनुभएको छ ।
नेकपा (एमाले) बाट वैकल्पिक केन्द्रीय सदस्य मनकुमारी केसी उम्मेदवार रहनुभएको छ । एकीकृत नेकपा (माओवादी) बाट कृष्णबहादुर केसी उपनिर्वाचनको मैदानमा हुनुहुन्छ ।
त्यस्तै राष्ट्रिय जनमोर्चाबाट नेत्रबहादुर बुढाथोकी, राप्रपा नेपाल र राप्रपाबाट साझा उम्मेदवारको रुपमा नवीनचन्द्र शर्वुजामगर, नेपाल परिवार दलको तर्फबाट बाबुराम शर्माले उम्मेदवार रहनुभएको छ ।
नेकपा (माले)का तर्फबाट कुलबहादुर किसान उम्मेदवार रहनुभएको छ । सङ्घीय समाजवादीको तर्फबाट रेशम थापामगर चुनावी मैदानमा हुनुहुन्छ ।
यसैगरी राष्ट्रवादी एकता पार्टीका तर्फबाट क्षेत्रप्रताप थापा र राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट रुकबहादुर पुज उम्मदेवार रहनुभएको छ । स्वतन्त्र उम्मेदवारको रुपमा तुलसी थापा, नैना केसी र सरस्वती पन्त रहनुभएको छ । गत निर्वाचनमा नेपाली काँग्रेसका स्व सभासद् हरिबहादुर खड्काले १३ हजार ५०० मत प्राप्त गरी विजयी हुनुभएको थियो ।
गत मङ्सिरमा सडक दुर्घटनामा परी सभासद् हरिबहादुर खड्काको निधन भएपछि रिक्त स्थान पूर्तिका लागि उपनिर्वाचन भएको हो । तस्वीरः दैनिक नेपाल डटकम
प्रतिक्रिया