जाँते उच्चमावि आर्थिक सङ्कटमा

इनेप्लिज २०७१ चैत २७ गते १:२५ मा प्रकाशित

Morang_district_locationपथरी (मोरङ), २७ चैत । मोरङको जाँते–९ मा रहेको श्री उच्च मावि जाँते आर्थिक सङ्कटमा परेको छ ।

जिल्ला शिक्षा कार्यालयले माविसम्मको दरबन्दीसमेत नदिँदा सो माविलाई रु आठ लाख ऋण परेको अध्यक्ष सन्तबहादुर लिम्बु बताउनुहुन्छ ।

उहाँका अनुसार सामुदायिक वनले रकम नदिने हो भने विद्यालय बन्दै गर्नुपर्ने अवस्था हुने थियो । वसन्त हरियाली सामुदायिक वनले वार्षिक रु एक लाख त उपलब्ध गराएको छ तर त्यसले विद्यालय धान्न मुस्किल परेको विद्यालय व्यवस्थापन समितिको भनाइ छ । विद्यालय प्राविको दरबन्दीमा उच्च मावि सञ्चालनमा रहेको छ ।

प्राविमा पाँचजना दरबन्दीमा तीन स्थायी, एक अस्थायी र एक राहत शिक्षक रहेको विद्यालयले जनाएको छ ।

विद्यार्थीमार्फत केही रकम लिने गरिएको भएपनि जम्मा भएको रकमले विद्यालय चल्नै नसक्ने अवस्थामा रहेको बताइन्छ । उच्च माध्यमिक विद्यालय थाम्न सक्ने अवस्थामा नरहेकाले कसैले सहयोग नगरेमा यस वर्षदेखि बन्द हुने विद्यालय प्रशासनको भनाइ छ ।

विसं २०२९ मा स्थापना भएको विद्यालयमा अहिलेसम्म तीन स्थायी र एक अस्थायी दरबन्दी मात्र जिल्ला शिक्षा कार्यालयले दिएको छ । जिल्ला शिक्षा कार्यालयले राहत शिक्षक राख्न पाउनेसम्मको व्यवस्था गरेको भएपनि प्राविबाहेकमा एकजना पनि दरबन्दी नभएको श्री उच्च माविका सहायक प्रधानाध्यापक खेमराज दुलालले जानकारी दिनुभयो ।

विद्यालयले आफ्नै जोहोमा निमावि राहत तीनजना र माविमा चारजना राहत शिक्षकमार्फत पठनपाठन गराउँदै आएको जनाएको छ ।

प्रतिक्रिया