आठ गाविसका सबै घरधुरी महिला सहकारीमा आबद्ध

इनेप्लिज २०७१ चैत २६ गते ३:४१ मा प्रकाशित

Myagdi_district_locationम्याग्दी, २६ चैत । म्याग्दीका ग्रामीण भेगमा सञ्चालित महिला सहकारीले सबै घरधुरीलाई आबद्ध गराउने अभियान चलाएका छन् ।

महिलाको सामाजिक, आर्थिक रुपान्तरणका लागि विभिन्न गाविसमा सञ्चालित महिला सहकारीले गाविसभित्रका शतप्रतिशत घरधुरीलाई सहकारीमा आबद्ध गराउन लागेका हुन् ।

महिला तथा बालबालिका कार्यालयले प्रवद्र्धन गरेका तथा प्लान नेपाल र सहमति संस्थाको साझेदारीमा सञ्चालित परियोजनाको सहयोगमा स्थापना भएका महिला सहकारीले सबै घरधुरीलाई समेट्न थालेपछि सहकारीको कारोबारसमेत बढेको छ ।

हालसम्म जिल्लामा आठ गाविसमा रहेका महिला सहकारीले शतप्रतिशत घरधुरी आबद्ध गराइसकेका छन् । त्यसमध्ये कुइनेमङ्गले, दग्नाम, झिँ र कुहुँलाई शतप्रतिशत घरधुरी सहकारीमा आबद्ध भएको गाविस घोषणा गरिएको सहमति संस्थाका जिल्ला कार्यक्रम संयोजक शिव सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार निस्कोट, लुलाङ, चिमखोला र बेगखोलामा रहेका महिला सहकारीले शतप्रतिशत घरधुरी सहकारीमा आबद्ध गराइसकेकाले औपचारिकरुपमा घोषणा गर्ने तयारी भइरहेको छ ।

कुइनेमङ्गले गाविसमा रहेका २३१, दग्नामका २३५, झिँका २९९ र कुहुँका ७३६ घरधुरी स्थानीयस्तरमा सञ्चालित महिला सहकारीमा आबद्ध भएका छन् ।

महिला सहकारीको क्षमता तथा संस्थागत विकासका लागि महिला तथा बालबालिका कार्यालयसँगै गैरसरकारी संस्थाले समेत सहकारी लक्षित कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

सहमति र प्लान नेपालको साझेदारीमा जिल्लामा सञ्चालित बालिका शक्ति परियोजना र सामाजिक समावेशीकरण तथा विभेदरहित परियोजनाअन्तर्गत स्वावलम्बी महिला समूह तथा सहकारी प्रवद्र्धन कार्यक्रममार्फत बेनी नगरपालिकाअन्तर्गतका १० वडा र २२ गाविसमा रहेका महिला सहकारीलाई सहयोग गर्दै आएको जनाएको छ ।

परियोजना सञ्चालन भएका गाविसमा महिला स्वावलम्बी समूह गठन, व्यवस्थापन र सहकारी शिक्षासम्बन्धी तालिम, सहकारी दर्ता, फर्निचर तथा स्टेसनरी सहयोगसँगै सहकारीका व्यवस्थापक र सहजकर्ताका लागि तलबस्वरुप प्रशासनिक खर्चसमेत सहयोग गर्दै आएको सहमति संस्थाका जिल्ला कार्यक्रम संयोजक सुवेदीले बताउनुभयो ।

‘‘सत्ताइस वटा महिला सहकारीमा हालसम्म, ११ हजार ३३७ घरधुरी आबद्ध भइसकेका छन्, घरधुरी आबद्ध हुने क्रम बढेसँगै सहकारीको कारोबारसमेत बढेको छ, सहमतिका जिल्ला कार्यक्रम संयोजक सुवेदीले भन्नुभयो ।’’ उहाँका अनुसार, महिला सहकारीले रु नौ करोडभन्दा बढीको कारोबार गरिसकेका छन् भने ५०३ वटा स्वावलम्बी महिला समूह क्रियाशील छन् ।

सहकारीमा आबद्ध हुने घरधुरीले रु १०० देखि ५० हजारसम्म सेयर हालेका छन् । सहकारीमा आबद्ध भएपछि ग्रामीण भेगमा रहेका महिला तथा बालबालिकामा बचत गर्ने बानीको विकास हुनुका साथै सहकारीबाट ऋण लिएर उद्यमशीलतातर्फ लाग्न थालेको कुहुँमा रहेको प्रगतिशील महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पूर्णामायाँ शेरपुञ्जाको भनाइ छ ।

सहकारीबाट स्थानीयस्तरमा कुखुरापालन, तरकारीखेती, बुनाइजस्ता उद्यमशीलताको क्षेत्रमा लगानी हुने गरिएको छ ।

प्रतिक्रिया