जङ्गली पशुपक्षीको चोरी सिकार बढ्यो

इनेप्लिज २०७१ चैत २५ गते ८:०९ मा प्रकाशित

indexगाईघाट (उदयपुर), २५ चैत । उदयपुरको पूर्वी क्षेत्रका जङ्गलमा केही समययता जङ्गली पशुपक्षीको चोरी सिकार तीव्ररुपमा बढ्दै गएको छ ।

जिल्लाको पूर्वी क्षेत्रको रामपुर बेलका जङ्गल, देउराली तथा सुन्दरपुर र हँडिया क्षेत्रको चुरे जङ्गल क्षेत्रमा दिनानुदिन चोरी सिकार बढ्दै गएको स्थानीयबासी बताउँछन् ।

मुख्य गरेर वन कुखुरा, लुईंचे तथा कालिज र दुर्लभ पक्षी हुचिलको समेत अवैधरुपमा सिकार हुने गरेको रामपुर–२ का देवराज मगर बताउनुहुन्छ ।

रामपुरको देउराली जङ्गल र सीमानामा पर्ने कटुन्जे बबला तथा चौदण्डीबीचमा पर्ने जङ्गल क्षेत्रमा व्यापक रुपमा कालिज र हुचीलको सिकार हुने गरेको बबला–४ का विष्णुबहादुर कार्कीले बताउनुभयो ।

हुचीलको सिकार गर्न जिल्लाको अन्य भाग र सप्तरी तथा सुनसरीबाट समेत चोरी सिकारी आउने गरेको र यसरी अवैध रुपमा सिकार गरिएका हुचील उदयपुर हुँदै सप्तरी, सिरहा र भारतसम्म लगेर बिक्री गर्ने गरेको केही स्थानीयवासी बताउँछन् ।

सुन्दरपुरका मोहन घिमिरे भन्नुहुन्छ, “रातिको समयमा चुरे क्षेत्रमा टर्चलाइट बल्ने गरेको देखिन्छ, अनि मध्यरातमा बन्दुक पड्केको आवाज आउने गरेको छ ।” दैनिक रातिको समयमा आठ÷दश पटक बन्दुक पड्केको आवाज सुन्ने गरेको उहाँ बताउँनुहुन्छ ।

चुरे क्षेत्रमा सिकार खेल्नको लागि केही पेशेवर सिकारी आउने गर्दछन् । केही पेशेवर सिकारीले जङ्गलको कालिज सिकार गरेर सप्तरीको मौली, रुपनगर तथा फत्तेपुर क्षेत्रका होटलमा प्रतिकिलो रु एक हजार ५०० देखि रु दुई हजारसम्ममा बिक्री गर्ने गरेको जानकारहरु बताउँछन् ।

जङ्गल आसपासमा बसोबास गर्ने पेशेवर सिकारीले घर–घरमा बन्दुक राख्ने गरेको र सप्तरी तथा सुनसरीका पेशेवर सिकारीसँग मिलेर रातको समयमा सिकार गर्ने गरेको जानकारहरुको भनाइ छ ।

अहिले पनि यस क्षेत्रमा ठूलो सङ्ख्यामा अवैध भरुवा बन्दुक रहेको र ती बन्दुकहरु अवैध सिकारमा प्रयोग हुने गरेका छ । तर स्थानीय प्रशासन, प्रहरी र इलाका वन कार्यालयले चोरी सिकार नियन्त्रणतर्फ कुनै कदम चालेको छैन ।

प्रतिक्रिया