चार दर्जन विद्यालय बन्द हुने अवस्थामा

इनेप्लिज २०७१ चैत २४ गते ३:५५ मा प्रकाशित

schoolइलाम, २४ चैत । विद्यार्थी सङ्ख्या कम भएका कारण इलामका चार दर्जन सामुदायिक विद्यालयको अस्तित्व गुम्ने खतरामा परेको छ । प्राथमिक तहमा विद्यार्थी कम भएका कारण अस्थित्व सङ्कटमा परेको हो ।

अधिकांश प्राविमा विद्यार्थी नभएकाले बन्द गर्ने अवस्थामा पुगेको जिशिकाले जनाएको छ । प्राविमा एक शिक्षक बराबर ४५ विद्यार्थी हुनुपर्ने शिक्षा नियमावलीमा उल्लेख भए पनि त्योअनुसार कुनै पनि विद्यालयमा नभएको जिशिकाले जनाएको छ । नयाँ शैक्षिकसत्रको विद्यार्थी भर्नादर हेरेर विद्यालय गाभ्ने तयारी गरिएको जिशिअ टङ्कप्रसाद गौतमले बताउनुभयो ।

“विद्यार्थी अनुपातमा शिक्षक बढी देखिएका छन्, विद्यार्थी सङ्ख्या अत्यन्तै न्यून भएका विद्यालयबाट शिक्षकलाई अन्य विद्यालयमा पठाउँछौँ”–जिशिअ गौतमले भन्नुभयो–“शिक्षक विद्यार्थी अनुपात अत्यन्तै कम भएको देखिएकाले दरबन्दी मिलान गर्न लागिएको छ ।” सूर्याेदय नगरपालिकाको पञ्चकन्यास्थित भवानी प्रावि माघेमा पाँच विद्यार्थीका लागि तीन शिक्षक कार्यरत छन् ।

यस्तैगरी सोही नगरपालिकाको फिक्कल आहालेमा रहेको कृष्ण प्राविमा सात विद्यार्थीका लागि चार शिक्षक छन् । जिल्लामा १० भन्दा कम विद्यार्थी भएका विद्यालय नै सात वटा छन् । सिद्धार्थ प्रावि साँखेजुङ, पुवामाई प्रावि साँखेजुङ, शान्ति प्रावि समालबुङ, अरनिको प्रावि रक्से, लालीगुराँस प्रावि माईमझुवामा १० भन्दा कम्ती विद्यार्थी अध्ययनरत रहेको जिशिकाको तथ्याङ्कमा उल्लेख छ । शिक्षा नियमावलीमा ४५ विद्यार्थीबराबर एक शिक्षकको व्यवस्था हुनुपर्ने उल्लेख छ । शिक्षा कार्यालयले भने २३ न्यूनतम विद्यार्थी भएकामा पनि अनुमतिका लागि सिफारिस दिने गरेको छ । तर पाँच विद्यार्थी भएका ठाउँमा पनि तीन शिक्षक अझै कार्यरत देखिएको छ ।

शिक्षामा यस्तो तथ्याङ्क देखिनु अत्यन्तै अव्यावहारिक र निराशाजनक भएको जिशिअ गौतम बताउनुहुन्छ । न्यून विद्यार्थी भएका विद्यालय गाभ्ने र बढी विद्यार्थी भएका ठाउँमा दरबन्दी समेत थप गरिने उहाँले बताउनुभयो । निम्नमाध्यमिक तह र माध्यमिक तहमा शिक्षक दरबन्दी नपुगेर निजी तथा अन्य स्रोतबाट शिक्षक राख्नुपर्ने अवस्था रहेको छ । तर अर्कातिर प्राथमिक तहमा शिक्षक विद्यार्थीबिना नै बसिरहेका छन् । प्रावि तहमा विद्यार्थी अनुपातमा शिक्षक राख्ने हो भने सबै विद्यालयमा शिक्षक अभाव नहुने जिशिअ गौतम बताउनुहुन्छ ।

सूर्याेदय प्रावि श्रीअन्तु, राष्ट्रिय प्रावि जौवारी जमुना, सूर्याेदय प्रावि मावुमा ११÷११, सिंहदेवी प्रावि जितपुर, अमरज्योति प्रावि जितपुर र महमाई प्रावि बरबोटेमा १२÷१२, भानुभक्त प्रावि समालबुङ, लालीगुराँस प्रावि जोगमाई र जनज्योति प्रावि फाकफोकमा १३÷१३ विद्यार्थी अध्ययनरत छन् । नामसालिङ–८ स्थित हात्तीटार प्राविमा १९ विद्यार्थी र चार स्थायी शिक्षक छन् । १४ विद्यार्थी भएका तीन, १५ विद्यार्थी भएका चार, १६ विद्यार्थी भएका तीन, १७ विद्यार्थी भएका चार, १८ विद्यार्थी भएका दुई, १९ विद्यार्थी भएका सात र २० विद्यार्थी भएका सातवटा प्रावि गरी ४८ वटा रहेका छन् । यी विद्यालयमा छात्रा ३२९ र छात्र ३७४ रहेका छन् । विद्यार्थी सङ्ख्या कम भएका कारण विगत तीन वर्षको अवधिमा १८ प्रावि समायोजन भएका छन् । विद्याज्योति प्रावि श्रीअन्तु, सरस्वती प्रावि सुलुबुङ, दुर्गा प्रावि साङरूम्वा, विजुवाडाँडा प्रावि साङरूम्वा, भानुभक्त प्रावि गजुरमुखी र नेत्रज्योति प्रावि मङ्गलवारे बन्द भएका हुन् ।

यसैगरी सरस्वती निवास प्रावि गोर्खे, सिंहदेवी प्रावि गोर्खे, चन्द्रोदय प्रावि सोयाङ, बिक्री प्रावि सुम्वेक र कृष्णज्योति प्रावि बाँझो विद्यार्थी अभावमा समायोजन भएका हुन् । विद्यालयबाट प्राप्त तथ्याङ्कमा विद्यार्थी सङ्ख्या न्यून देखिए पनि केही विद्यालयमा फर्जी विद्यार्थी सङ्ख्या पेस गरेको हुनसक्ने जिशिकाले जनाएको छ । विद्यालय स्वीकृत गराएर दरबन्दी र भौतिक संरचनाको व्यवस्था हँुदा पनि विद्यार्थी सङ्ख्या दिनदिनै घट्दै गएपछि त्यसको व्यवस्थापनमा चुनौती पनि सँगसँगै थपिएको छ ।

प्रतिक्रिया