हात्ती साङ्लोमुक्त

इनेप्लिज २०७१ चैत २३ गते ११:१४ मा प्रकाशित

dhurbe-hattiचितवन, २३ चैत । चितवन राष्ट्रिय निकुञ्जले निकुञ्ज सुरक्षार्थ पालेका हात्तीलाई साङ्लोमुक्त गरेको छ ।

निकुञ्ज सुरक्षामा प्रयोग गरिने हात्तीलाई हात्तीसारमा मोटो साङ्लोले खुट्टामा बाँधेर राखिने गरिएको थियो । जसका कारण कामबाहेकको समयमा सीमित ठाउँमा हात्ती बाँधिएर बस्नुपर्ने हुन्थ्यो ।

चितवन राष्ट्रिय निकुञ्जले इलाफेन्ट एड इन्टरनेसनल अमेरिकाको आर्थिक सहयोगमा विद्युतीय तारबारमार्फत हात्तीसार बनाएसँगै हात्तीलाई साङ्लोमुक्त गरिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजङ्ग कुँवरका अनुसार रु एक करोड ८२ लाख तारबारमा खर्च गरिएको छ । सो रकम इलाफेन्ट एड इन्टरनेसनल अमेरिकाले सहयोग गरेको हो ।

तारबारका लागि चाहिने सिमेन्ट, ढुङ्गा, गिट्टी, बालुवालगायतका सामग्री निकुञ्जले आफ्नै स्रोतबाट खर्च गरेको हो । निकुञ्जले सौराहाको हात्ती प्रजनन केन्द्रसहित १५ वटा हात्तीसारमा विद्युतीय तारबारमार्फत हात्ती राख्ने छुट्टाछुट्टै ठाउँ निर्माण गरेको छ ।

एउटा हात्तीलाई ७० मिटर लम्बाइ र ३० मिटर चौडाइको विद्युतीय तारबार बनाइएको छ । निकुञ्जमा ६३ वटा हात्ती रहेका छन् । अस्थायी रुपमा राखिने टाइगर टप्सबाहेकका सबै क्षेत्रमा हात्तीलाई साङ्लोमुक्त बनाइएको निकुञ्जले जनाएको छ ।

सन् २०१४ को जनवरीबाट काम थालिएको थियो । निकुञ्ज स्थापनाअघि सिकारमा प्रयोग हुने हात्ती संरक्षण हँुदै हाल पर्यटन क्षेत्रमा प्रयोग हुन थालेका छन् ।

नेपालमा पहिलोपटक चितवन राष्ट्रिय निकुञ्जमा हात्तीलाई साङ्लो मुक्त गरिएको प्रमुख संरक्षण अधिकृत कँुवरले बताउनुभयो ।

मातेको र विशेष परिस्थितिबाहेकको समयमा मात्र हात्तीलाई साङ्लोमा बाँधिने सहायक संरक्षण अधिकृत टीकाराम पौडेलले बताउनुभयो ।

नेपालका चितवनसहित बर्दिया, कोसी टापु, पर्सा, शुक्लाफाँटालगायतका निकुञ्ज र आरक्षमा पनि हात्ती रहेका छन् । यद्यपि सङ्ख्याको हिसाबले चितवन राष्ट्रिय निकुञ्जमा यो सङ्ख्या बढी भएको पौडेलले बताउनुभयो । चितवन राष्ट्रिय निकुञ्जको सौराहामा हात्ती प्रजनन केन्द्रसमेत रहेको छ ।

यसअघि निकुञ्जले हात्तीलाई पर्यटक घुमाउनका लागि प्रयोग गर्दै आएको भए पनि पछिल्लो समय सुरक्षा गस्तीमा मात्र हात्ती प्रयोग गर्दै आएको छ ।

प्रतिक्रिया