पाँच गाविसमा जीविकोपार्जन सुधार कार्यक्रम

इनेप्लिज २०७१ चैत २३ गते ११:०८ मा प्रकाशित

ilam-mapइलाम, २३ चैत । यहाँका पाँच गाविसमा जीविकोपार्जन सुधार कार्यक्रम सुरु भएको छ ।

अतिविपन्न समुदायको जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले जिविसअन्तर्गतको स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजिसिडिपी) मार्फत ती गाविसमा सुरु भएको हो ।

एलजिसिडिपीको लगानीमा जिर्मले, सोयाक, बाँझो, इभाङ र साकफारा गाविसमा जीविकोपार्जन सुधार कार्यक्रम सुरु भएको हो । प्रत्येक नागरिक सचेतना केन्द्रमा एक÷एक लाख रुपैयाँ बीउ पुँजीका रुपमा उपलब्ध गराइएको छ ।

केन्द्रले ‘ऋण घुम्ती कोष’ सञ्चालन गरी सदस्यलाई सुलभ ब्याजदरमा ऋण उपलब्ध गराई जीविकोपार्जन सम्बन्धी व्यवसाय सञ्चालन गरेको छ । केन्द्रद्वारा सञ्चालित ‘ऋण घुम्ती कोष’ मार्फत ऋण लिई २५ जनाले व्यवसाय सुरु गरेका छन् ।

प्रत्येक नागरिक सचेतना केन्द्रबाट पाँच÷पाँच जनाले ऋण पाएका छन् । प्रत्येकले केन्द्रबाट रु २० हजारका दरले ऋण लिएका छन् । त्यसमा आफ्नै रकम थप गरी रु ५० हजारसम्मको लगानीमा व्यावसायिक बाख्रापालन, गाईपालन, बङ्गुरपालन, तरकारीखेती, अदुवाखेती सुरु गरेका हुन् ।

‘ऋण घुम्ती कोष’ मार्फत सदस्यलाई छदेखि १२ प्रतिशतसम्म वार्षिक ब्याजदरमा ऋण लगानी गरिएको छ । ऋणीले साँवा र ब्याज किस्तामा भुक्तानी गर्ने गर्नुपर्छ । भुक्तानी गर्ने किस्ता, समयावधि र ब्याजदर भने नागरिक सचेतना केन्द्रको आ–आफ्नै निर्णयअनुसार फरक–फरक छन् । ऋणीबाट फिर्ता भएको साँवा र ब्याजसमेत गरी पुनः अर्को सदस्यलाई ऋण लगानी गरिनेछ ।

कार्यक्रम प्रभावकारी भएको सालघारी नागरिक सचेतना केन्द्र इभाङकी संयोजक सुमित्रा राईले बताउनुभयो । “साहुबाट चर्को ब्याजदरमा ऋण लिनुपर्ने बाध्यताले विपन्नलाई झनै विपन्न बनाएको थियो” संयोजक राईले भन्नुभयो ।

विपन्नताको मापन गरी पाँच गाविसमा पहिलो चरणमा कार्यक्रम सुरु गरिएको एलजिसिडिपी इलामकी विभूति बानियाँले जानकारी दिनुभयो । यस कार्यक्रमबाट जिल्लाका एक हजार ५०० विपन्नलाई सहयोग पुग्ने जिविसले जनाएको छ ।

प्रतिक्रिया