शनिबार, मंसिर १३ २०७७
काठमाडौं १७:१९
वासिङटन डिसी 06:34

तरकारीमा आत्मनिर्भर बन्दै कञ्चनपुर

इनेप्लिज २०७१ चैत २२ गते ११:०९ मा प्रकाशित

शेरबहादुर सिंह

tarkariभीमदत्तनगर, २२ चैत । महेन्द्रनगर तरकारीमण्डीमा झन्डै अढाइ दशकदेखि तरकारी बेच्दै आएका भीमदत्त नगरपालिका–१८ सालघारीका अनिल चौधरी कुनै समय भारतको पश्चिमी सीमावर्ती सहर वनबासा र खटिमाबाट तरकारी ल्याएर बिक्री गर्नुहुन्थ्यो । तर केही वर्षयता तरकारी खरिद गर्न भारत जान उहाँको बाध्यता हटेको छ ।

स्थानीय उत्पादन हरेक दिन बिहान मण्डीमै आएर थोकमा खरिद गर्न पाउन थालेपछि महेन्द्रनगरस्थित मण्डीका व्यापारीलाई तरकारी लिन अन्यत्र जाने दिन सकिएका छन् ।

“बीस वर्ष पहिले यहाँका सबै व्यापारी वनबासा र खटिमाबाट तरकारी ल्याएर बेच्थ्यौँ”, मण्डीमा तरकारी बेच्दै आउनुभएका चौधरीले भन्नुभयो, “उतिबेला यहाँ स्थानीय उत्पादन थिएन ।”

हाल बाह्रै महिना जिल्लामा उत्पादन भइरहेको बेमौसमी तरकारी मण्डीमा खपत भइरहेको उहाँको भनाइ छ । “बेमौसमी तरकारीसमेत बिक्रीका लागि मण्डीमा ल्याउने गरिएको छ ।”

उत्पादन गर्ने किसानबाट किनेर बिक्री गर्दै आएको अर्का व्यापारी विश्रामसिँह धामी बताउनुहुन्छ । “बजारमा अहिले ८० प्रतिशत तरकारी स्थानीय उत्पादन छ”, उहाँले भन्नुभयो, “आलु प्याजमात्रै भारतबाट आउँछ ।”

हिउँदमा तरकारी पहाडी जिल्लाबाट समेत थोरै मात्रामा आयात गरिन्छ । कञ्चनपुर मण्डी व्यवसायी संघका कोषाध्यक्ष समेत रहनुभएका धामीले भन्नुभयो, “यहाँको तरकारी धेरै ठाउँमा निर्यात हुँदैछ ।”

कञ्चनपुर मण्डी व्यवसायी सङ्घका अध्यक्ष तर्कराज भट्टका अनुसार ८० प्रतिशत स्थानीय उत्पादनले बजार ओगटेको छ । कञ्चनपुरमा उत्पादित तरकारी दैनिक काठमाडौँ, बुटवल, बझाङ र कैलालीको धनगढी निर्यात भइरहेको उहाँले बताउनुभयो । काठमाडाँैमा दैनिक १० टन, बुटवलमा १२ टन, बझाङमा ८ तन तथा धनगढी दैनिक आठ टन तरकारी मण्डीबाट निर्यात भइरहेको अध्यक्ष भट्टले बताउनुभयो ।

“गोलभेँडा, आलु र प्याजबाहेक सबै स्थानीय उत्पादन हो”, उहाँले भन्नुभयो, “जिल्लामा सबै गरी दैनिक छ देखि आठ टनसम्म तरकारी खपत हँुदै आएको छ ।”

भारतीय किसानले महेन्द्रनगर र आसपासका क्षेत्रमा जग्गा ठेक्कामा लिएर तरकारी उत्पादनमा जोड दिएकाले पनि यहाँ स्थानीय उत्पादन बढेको अध्यक्ष भट्टको भनाइ छ । “जिल्लामा ६० प्रतिशत भारतीय र ४० प्रतिशत स्थानीय किसान तरकारी उत्पादनमा लागेका छन्”, उहाँले भन्नुभयो, “गाउँघरतिर राना र चौधरी थारु व्यावसायिक तालिम लिएर तरकारी उत्पादनमा लागेका छन् ।”

सदरमुकाम आसपासमा भारतीय किसान बढी तरकारी खेतीमा लागेका छन् । दक्षिणी क्षेत्रका किसानले उत्पादित तरकारी बेलौरी, पुर्नावास तथा पूर्वी क्षेत्रका किसानले गुलरिया र अत्तरियाका साथै झलारी बजारमा तरकारी बिक्री गर्दै आएका छन् ।

“पाँच बिगाहा जमिन ठेक्कामा लिएर तरकारी फलाएको छु”, भारतको पिलिभितबाट आएर तरकारी उत्पादन गर्दै आएका मक्सुर ऐहसनले भन्नुभयो, “बिक्री गर्न दैनिक मण्डीमा आउने गरेको छु ।” कञ्चनपुरको सुडा गाविसमा विगत छ वर्षदेखि तरकारी उत्पादनमा लागेका ऐहसनले हाल उत्पादन भएको काँक्रा, फर्सी र लौका धनगढी निर्यात गरिरहेको बताउनुभयो ।

महेन्द्रनगरस्थित मण्डीमा हाल लौका, फर्सी, हरियो खुर्सानी, अदुवा, काउली, गोलभेँडा, आलु, हरियो साग, केराउ, मुला, भन्टा, प्याज र धनियाँलगायतका तरकारी उपभोक्ताले सहज रुपमा खरिद गर्न पाइरहेका छन् ।

“तरकारीको बढीमा एक हप्तासम्म समान दर रहन्छ”, तरकारी व्यापारी एवम् मण्डी सङ्घका महासचिव विशाल सोनारले भन्नुभयो, “अहिले रु २० देखि रु ११२ सम्म प्रतिकिलो मुल्यका तरकारी मण्डीमा उपलब्ध छ ।”

“दैनिक रु ५०० देखि रु तीन हजारसम्मको तरकारी खपत भएको छ”, अर्का व्यापारी लीलाधर गिरीले भन्नुभयो, “तरकारी उत्पादन गर्नेलाई खपतको कुनै समस्या छैन ।” नेपाली सेनाका पूर्व कर्मचारीसमेत रहनुभएका गिरी तरकारी व्यापारमा राम्रो आम्दानी हुने देखेपछि यसमा लागेको बताउनुहुन्छ ।

ग्रामीण भेगमा महिलाको सशक्तीकरण कार्यक्रमअन्तर्गत विभिन्न गैरसरकारी संस्थाहरुले समेत आवश्यक तालिम÷प्रशिक्षण दिएर महिलालाई बेमौसमी तरकारी उत्पादनमा अग्रसर गराउँदै आएका छन् ।

“गाउँका धेरै महिला तरकारी उत्पादनमा जुटेका छन्”, महेन्द्रनगरस्थित नेपाल राष्ट्रिय समाजकल्याण सङ्घ (एनएनएसडब्लुए)मा महिला सशक्तीकरण क्षेत्रमा काम गर्दै आउनुभएकी मेनुका बस्नेत विष्टले भन्नुभयो, “यसले महिलालाई आत्मनिर्भर बनाउनुका साथै जिल्लाको तरकारी उत्पादनमा पनि वृद्धि भएको छ ।”

उहाँले विभिन्न समुदायका महिला नगदेबालीका रुपमा तरकारी उत्पादन गरी गाउँघर तथा नजिकका बजारमा बिक्री गर्दै आएको बताउनुभयो ।

प्रतिक्रिया