बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फेरि तालाबन्दी

इनेप्लिज २०७१ चैत २२ गते ११:०४ मा प्रकाशित

ghopaधरान, २२ चैत । यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान विरोध र विवादका कारण अस्तव्यस्त बन्न पुगेको छ ।

प्रतिष्ठान कर्मचारी, शिक्षक तथा विद्यार्थीको आधिकारिक सङ्गठन कर्मचारी कल्याण समाजबाट असन्तुष्ट बन्दै निर्माण भएको राजन कोइराला नेतृत्वको कर्मचारी कल्याण तदर्थ समितिले आज प्रतिष्ठानको चार प्रमुख पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेको हो ।

प्रतिष्ठानका उपकुलपति प्रा डा बलभद्रप्रसाद दासले स्थानीय एक दैनिक पत्रिकामा कर्मचारीलाई ‘फटाहा” भन्ने अभिव्यक्ति दिएको आरोपमा आक्रोशित कोइराला समूहले आज बिहान तालाबन्दी गरेको हो । समितिले प्रतिष्ठानका उपकुलपतिलगायत अस्पताल निर्देशक, शिक्षाध्यक्ष तथा रजिष्ट्रारको राजीनामाको माग गरेका छन् ।

उपकुलपति प्रा डा दास, रजिष्ट्रार तुलबहादुर श्रेष्ठ, शिक्षाध्यक्ष प्रा डा विक्रमप्रसाद श्रेष्ठ र अस्पतालका निर्देशक डा अरविन्दकुमार सिन्हाको कार्यकक्षमा तालाबन्दी गरिएको हो । तदर्थ समितिका अध्यक्ष कोइरालाले उपकुलपति प्रा डा दासले कर्मचारीहरु फटाहा हुन् भन्नेखालको अभिव्यक्ति दिएकाले आफूहरु तालाबन्दीमा उत्रिएको बताए ।

यता, उपकुलपति प्रा डा दासले प्रतिष्ठानको आन्तरिक सूचना बाहिर दिने जो कोही व्यक्ति भए पनि तिनीहरु फटाहा हुन् भनेर आफूले भनेको तर कोही व्यक्ति वा सङ्गठनलाई नकिटेको बताउनुभयो ।

दुईदिन अगाडि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय सम्पर्क कार्यालय इटहरीको टोलीले प्रतिष्ठानका केही विषयमा मुद्दा परेपछि केही कागजपत्रहरु नियन्त्रणमा लिएको विषयमा अभिव्यक्ति दिने क्रममा प्रा डा दासले प्रतिष्ठानको आन्तरिक विषयहरु बाहिर ल्याउने जो कोही भए पनि कारबाही गर्ने अभिव्यक्ति दिनुभएको थियो ।

त्यस्तै, प्रतिष्ठानका प्रवक्ता एवम् सहायक अस्पताल निर्देशक डा पशुपति चौधरीले स–साना विषयलाई लिएर प्रतिष्ठानभित्र भइरहेको राजनीतिले प्रतिष्ठानलाई अझ धरासायी बनाइरहेको बताउनुभयो । यसअघि गत भदौ ३१ गतेदेखि तलब सेवा सुविधाको वृद्धिको माग राख्नेहरुले प्रतिष्ठानका आपत्कालीन बाहेक सम्पूर्ण सेवा १९ दिनसम्म बन्द गराएका थिए । सो आन्दोलनपछि प्रतिष्ठानका पूर्व उपकुलपतिसमेत रहेका डा शेखर कोइरालाको संयोजकत्वमा तलब मापन आयोग गठन भएको थियो ।

सो आयोगले स्वास्थ्य मन्त्रालयमा प्रतिवेदन बुझाई अर्थ मन्त्रालयमा पेस गरिसकेको र रकम निकासा हुन बाँकी रहेकाले हालसम्म कर्मचारीले वृद्धि भएको तलब पाउन नसकेको डा दासले बताउनुभयो । उनाइस दिन लामो आन्दोलनकोे नेतृत्व प्रतिष्ठानको आधिकारिक सङ्गठन कर्मचारी कल्याण समाजले गरेको थियो ।

प्रतिक्रिया