यस्तो छ अमेरिकामा सडक दुर्घटना र क्षतिको इतिहास

इनेप्लिज २०७१ चैत २२ गते ९:१० मा प्रकाशित

10427216_10152944670678999_2046347461429268390_n“लेखेको दिन टर्दैन” भन्ने हाम्रो उखान त एकातिर छँदैछ । अर्कोतिर विज्ञान र प्रविधिले मानव विकास र चलखेललाई यति उच्चसम्म पुर्यायो कि जसबाट मानवले आफूलाई विकसित प्राणीको दर्जामा पुर्याए पनि त्यतिकै रूपमा क्षति ब्यहोरिरहेको छ । क्षति मानवीयमात्र छैन, साधन, श्रोत र भौतिक सम्पति पनि त्यतिकै रूपमा क्षति भइरहेको छ । आजको यस लेखमा मानव विकास, प्रविधि र विज्ञानको उच्चतम प्रयोगअन्तर्गत सवारी साधन र यसको दुर्घटनाबाट संसारकै मानव प्राणी र संयुक्त राज्य अमेरिकाले ब्यहोरिरहेको ठूलो जन–धनको क्षतिलाई मुख्य विषयवस्तु बनाएको छु ।
विश्वमा हरेक २५ सेकेण्डमा सडक दुर्घटनाबाट एक जना मानिसको मृत्यु हुँदोरहेछ । संयुक्त राज्य अमेरिकामा सडक दुर्घटनाबाट हरेक १३ मिनेटमा एक जना र हरेक दिन एक सय १५ जनाको मृत्यु हुने गरेको रहेछ । अमेरिकाको यातायात तथ्यांक विभागको सन् २०१३ को तथ्यांकअनुसार, अमेरिकामा २५ करोड ४६ लाख ३९ हजार ८६ सवारी साधन दर्ता भएका छन् । तीमध्ये १८ करोड ३१ लाख ७१ हजार ८ सय ८२ हल्का सवारी साधन दर्ता भएका छन् । सन् १८९९ देखि सन् २०१२ सम्मको तथ्यांकलाई हेर्दा सडक दुर्घटनाबाट अमेरिकामा मात्रै ३५ लाख ५१ हजार तीन सय ३२ जनाको मृत्यु भएको छ । सन् २०१२ देखि यतामात्रै पनि हालसम्म झन्डै एक लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।
अमेरिकाको फेडरल हाइवे प्रशासन कार्यालयका अनुसार अमेरिकामा पक्की सडकको लम्बाई २७ लाख ३४ हजार एक सय दुई सार्वजनिक सडक र १३ लाख २४ हजार दुई सय ४५ कच्ची सडक छन् । अमेरिका संसारको यस्तो मुलुक हो, जहाँ सडकको विकास र लम्बाई नमुना र ऐतिहासिक रूपमा रहेको छ । अमेरिकाका ५० वटै राज्यको विकास संरचनालाई जोड्ने काम पनि सडकले नै गरेको छ । अमेरिकी सडक इतिहास हेर्ने हो भने सन् १६२५ मा अमेरिकाको मेन राज्यको कोलोनियल सहरमा पहिलो पटक सडक बनेको हो । सन् १८७७ मा वासिङटन डीसीको पेन्सिलभेनियामा पहिलो कालोपत्रे पक्की सडक बन्यो ।
अमेरिकामा सडक दुर्घटना मानव विकासकै अभिषापका रूपमा रहेको छ । दैनिक रूपमा ठूलो संख्यामा हुने सडक दुर्घटनाबाट ठूलो जन–धनको क्षति हुने गरेको छ । फेडेरल यातायात प्रशासन कार्यालयको तथ्यांकअनुसार, सन् २००३ मा मात्रै अमेरिकामा ६३ लाख २८ हजार गाडी दुर्घटनाग्रस्त भए । जसबाट तीन मिलियन मानिस घाइते भए भने ४२ हजार ६ सय ४३ जनाको मृत्यु भयो । त्यस्तै, सन् २००५ मा ६४ लाख २० हजार गाडी दुर्घटनाग्रस्त भए भने दुई सय ३५ विलियन डलरबराबरको क्षति र आर्थिक भार ब्यहोर्नुपर्यो । त्यस्तै, २.९ मिलियन मानिस घाइते भए भने ४२ हजार ६ सय ३६ जनाको मृत्यु भयो । सन् २०१२ को तथ्यांकअनुसार, ३० हजार आठ सय ठूला दुर्घटना र सन् २०१० मा २२ लाख ३९ हजार सख्त घाइते र ३२ हजार नौ सय ९९ जनाको मृत्यु भयो ।
अमेरिकामा सडक दुर्घटनाबाट सबैभन्दा कम सन् १८९९ मा बर्षभरि २६ जनाको मृत्युभएको थियो । सबैभन्दा बढी सन् १९६२ मा ५४ हजार पाँच सय ८९ जनाको मृत्युभएको थियो । अमेरिकामा सन् १९०० देखि १९३६ सम्म सडक दुर्घटनाबाट भएको जन–धनलाई हेर्ने हो भने उच्चतम मान्न सकिन्छ भने पछिल्ला वर्षहरूमा यसको दर घटिरहेको देखिन्छ । यो दर घट्नु खुसीको कुरा भए पनि पक्कै पनि मानवीय र भौतिक क्षतिलाई खुसी मान्न सकिन्न । अमेरिकामा वर्षेनि सडक दुर्घटनाबाट मृत्यु हुनेको संख्या ३० हजारभन्दा बढी नै रहने गरेको छ । फेडेरल यातायात विभागका अनुसार, अमेरिकामा सडक दुर्घटनाबाट सन् २००० मा ३३ हजार आठ सय ८३ जनाको मृत्यु भयो भने सन् २०१० मा ३२ हजार नौ सय ९९, सन् २०११ मा ३२ हजार चार सय ७९, सन् २०१२ मा ३३ हजार पाँच सय ६१ र त्यसैगरी सन् २०१३ मा ३२ हजार सात सय १९ जनाको मृत्यु भयो । त्यसैगरी लाखौं गाडीहरू दुर्घटनाग्रस्त भई बिलियन डलरबराबरको भौतिक र आर्थिक भार ब्यहोर्नुपर्यो ।
अमेरिकामा १६ वर्षपछि सीमित तहको सवारी चालक अनुमति पत्र पाइन्छ । लिखित परीक्षा पास गरी सडक परीक्षणमा समेत पास भएपछि मात्रै सवारी चालक अनुमतिपत्र पाइन्छ । त्यसैगरी १८ वर्ष पुगेपछि मात्रै पूर्ण सवारी चालक अनुमति पत्र पाइन्छ । सुरुका तीन वर्ष नयाँ सवारी साधन चालकका लागि जोखिम समयका रूपमा लिइन्छ । त्यस अवधिमा बीमा पनि महंगो हुने गर्दछ । सडक दुर्घटना हुँदा दुर्घटनामा संलग्न सवारी चालकहरूबीच कुटाकुट र मुख छाडाछाड हुँदैन । दुबैको सहमतिमा प्रहरीलाई खवर गरिन्छ । र, प्रहरीको आगमनपश्चात् दुर्घटना प्रतिवेदन तयार पारी बीमा कार्यालयलाई पठाएर दुर्घटनाग्रस्त गाडी र मानवीय क्षति ब्यहोरिने गरिन्छ । सवारी चालक अनुमति पत्रबिना गाडी चलाउनु, मादक पदार्थ तथा लागूऔषध सेवन र सवारी साधनमा राख्नु, सवारी चालक अनुमति पत्र खोसिनु, द्रुत गतिमा गाडी चलाउनु, सडक प्रहरीलाई ढाँट्नु वा सहयोग नगर्नु दुर्भाग्यपूर्ण हुन्छ । अमेरिकामा कानुन र नियमभन्दा माथि कोही पनि छैन । विविध कारणले अमेरिकामा सडक दुर्घटना हुने गरेको छ । भर्खरका युवायुवती, नयाँ सवारी चालक, बृद्धबृद्धा चालक, मादक वा लागूऔषध सेवन, थकान, निद्रा, चिन्ता, प्राविधिक गडबडी, सिट बेल्ट नलगाउने, सेल फोनको प्रयोग, गाडी चलाउँदा टेक्स्ट गर्ने, द्रुत गति, घना ट्राफिकमा गाडी चलाउँदा अरूका कारणबाट र सवारी चिन्हहरूको बेवास्ता र दुरूपयोग आदि कारणबाट अमेरिकामा सडक दुर्घटना हुने गरेको देखिन्छ । अमेरिकामा सडक दुर्घटनामा संलग्न हुने सवारी नियमको उल्लंघन गर्दा हुने कारवाहीको मानसिक, आर्थिक र कानुनी बाधा प्रसस्त हुने गर्दछ । ठूला सहरहरूमा सार्वजनिक सवारी साधन हुने भएकाले केही सहज भए पनि अमेरिकामा अधिकांश राज्यहरूमा सवारी साधनबिना जीवनशैली अत्यन्त असहज हुन्छ । यहाँ गाडी र जीवन र जीवनशैलीको अन्तरसम्बन्ध गाँसिएको छ । सवारी साधन किन्न र पहुँचका लागि त्यति गाह्रो छैन । सवारी साधनको पहुँच र यसको प्रयोग सामान्यभन्दा सामान्य मानिसको जीवन पनि जोडिएको हुनाले सवारी साधन हाँक्दा आफू गल्ती नगरेकै भरमा यसबाट बच्न सकिन्छ भन्ने होइन । अरूका गल्तीका कारणबाट पनि जन–धनको क्षति र मृत्यु हुने गर्दछ ।
सडक दुर्घटना अमेरिकाको मात्रै समस्या नभएर संसारभरकै दुर्भाग्यपूर्ण अभिषाप हो । जसको नियन्त्रण शून्यता हुन सक्तैन, मात्रै घटाउने हो । विश्वमा ८० प्रतिसत गरीव र मध्यम गरीव तथा विकासोन्मूख मुलुकहरूमा विश्वको ७२ प्रतिसत जनसंख्या रहेको छ । जहाँ विश्वको ५२ प्रतिसत मात्रै गाडी दर्ता रहेको छ । यहीँ नै सडक दुर्घटना र जन–धनको क्षति बढी देखिन्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार, सडक दुर्घटनामा २३ प्रतिसत मोटरसाइकल चालक, २२ प्रतिसत पैदलयात्री, पाँच प्रतिसत साइकल यात्री, ३१ प्रतिसत कार चालक, १९ प्रतिसत ठूला सवारी चालक र संयोगमा पर्ने ब्यक्तिहरूको मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य संगठनले सन् २०१० र सन् २०१३ को अवधिमा गरेको विविध अध्ययन अनुसन्धानबाट के डरलाग्दो परिस्थिति देखियो भने सडक सवारी दुर्घटनाबाट विश्वमा मर्नेहरू अन्य रोगबाट मर्नेभन्दा बढी छ । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०१० मा मात्रै चीनमा सडक दुर्घटनाबाट सबैभन्दा बढी दुई लाख ७५ हजार नौ सय ८३ जनाको मृत्यु भयो भने त्यसपछि भारतमा दुई लाख ३८ हजार पाँच सय ६२ जनाको मृत्यु भयो । सन् १०१० मा सान मारिनोमा एक जनाको पनि मृत्यु भएन भने माइक्रोनेसियामा दुई जना र मार्सल आइसल्यान्डमा चार जनाले सडक दुर्घटनाबाट ज्यान गुमाए । त्यसैगरी सन् २०१०मा भुटानमा ९६ जना, बंगलादेशमा १७ हजार दुई सय ८९, ब्राजिलमा ४३ हजार आठ सय ६९, इन्डोनेसियामा ४२ हजार चार सय ३४, मेक्सिकोमा १६ हजार सात सय १४, नाइजेरियामा ५३ हजार तीन सय ३९, भियतनाममा २१ हजार ६ सय ५१ र नेपालमा चार हजार सात सय ८७ जनाले ज्यान गुमाए । त्यसैगरी सन् २०१० मै थाइल्यान्डमा २६ हजार तीन सय १२ जनाले ज्यान गुमाए । विश्व स्वास्थ्य संगठनका अनुसार, सन् २०१० मा मात्रै विश्वभर १२ लाख मानिसको मृत्यु सडक दुर्घटनाबाट भयो । यसरी ज्यान गुमाउनेमा युवा अर्थात १५ देखि ४४ वर्षका ५९ प्रतिसत छन् । त्यसमा पनि ७७ प्रतिसत पुरुष थिए । सबैभन्दा बढी दुर्घटना अफ्रिकी मुलुक जहाँ २४ प्रतिसत र सबैभन्दा कम यूरोपमा १० प्रतिसत रहेको छ । सडक दुर्घटनाबाट केही अपवादका मुलुकबाहेक अधिकांश मुलुकहरूले ठूलो जन–धनको क्षति ब्यहोरिरहेका छन् । जन–धनको क्षतिको विवरण हेर्दा कुनै युद्ध वा दैवी प्रकोपमा भएको क्षति भन्दा कम छैन ।
सडक दुर्घटनालाई भवितब्यमात्रै भनेर कम आँकलन गर्न मिल्दैन । सवारी नियम कडा भएको मुलुक अमेरिकासमेत सडक दुर्घटना र यसबाट हुने ठूलो क्षतिबाट पीडित बनिरहेको छ । जनचेतना अभिवृद्धि, नियम पालना, सवारी साधनको मर्मत, सवारी साधन चलाउँदा अपनाउनुपर्ने सावधानी, आवश्यक नियम कानुनको तर्जुमा, चालकहरूका लागि चेतनामूलक सन्देश, सूचनासहितका कार्यक्रमहरू मार्फत् सवारी साधन एवं सडक दुर्घटनालाई कम गर्न र यसबाट हुनसक्ने ठूलो जन–धनको क्षतिलाई कम गर्न सकिन्छ ।

प्रतिक्रिया