सीमा क्षेत्रमा प्रहरीको सक्रियता बढ्यो

इनेप्लिज २०७१ चैत १९ गते ३:०६ मा प्रकाशित

1425710510jange_aanugaman_photosतौलिहवा (कपिलवस्तु), १९ चैत । सीमा क्षेत्रमा हुने विभिन्न किसिमका आपराधिक क्रियाकलाप नियन्त्रण गर्न कपिलवस्तु प्रहरीले सीमा क्षेत्रमा पर्ने कृष्णनगर बजारलगायत अन्य क्षेत्रमा सक्रियता बढाएको छ ।

पछिल्लो समय जिल्लाका सीमा क्षेत्रमा चोरी तस्करीका साथै विभिन्न किसिमका आपराधिक क्रियाकलापमा कमी ल्याउन प्रहरीले सीमा क्षेत्रमा गस्ती अभियानमा तीव्रता दिएको जनाएको छ ।

अभियानका क्रममा कृष्णनगर प्रहरीले गत एक वर्षभित्र लागुऔषध बेचबिखन, जबर्जस्ती करणी, हातहतियारलगायतका अन्य घटनाका दोषीलाई कानुनी दायरामा ल्याएको जानकारी प्रहरी निरीक्षक डिलबहादुर मल्लले दिनुभयो ।

यस्तै मानव बेचबिखनसम्बन्धी छ वटा, जबर्जस्ती करणीका दुई वटा, जबर्जस्ती करणी उद्योगअन्तर्गत तीन वटा, अप्राकृतिक मैथुनका एक तथा हातहतियार खरखजानासम्बन्धी घटनाका दोषीलाई कारबाहीका लागि अदालती प्रक्रियामा पुर्‍याएर थुनामा पठाइएको उहाँले बताउनुभयो ।

सो अभियानमा मानवअधिकारवादी संस्था, शान्ति पुनःस्थापना गृह, के आई नेपाल, थ्रि एन्जेल, राष्ट्रिय मानवअधिकार प्रतिष्ठानलगायतका सङ्घसंस्थाले ठूलो सहयोग गरेको उहाँको भनाइ छ ।

यस्तै सीमावर्ती क्षेत्रको सुरक्षा व्यवस्थापनलाई मजबुत बनाउनका लागि ट्रािफकसम्बन्धी जनचेतना कार्यक्रम, अवैधरुपमा ओसारपसार गरिने मदिराजन्य पदार्थमा रोक र राति १० बजेदेखि होटल तथा रेस्टुरा सञ्चालनमा रोक गरिने प्रहरी निरीक्षक मल्लले बताउनुभयो ।

उहाँले अवैधरुपमा चोरी निकासी तथा पैठारी नियन्त्रणका क्रममा खाद्यपदार्थ, कपडा, सुपारी मोटरसाइकल, ट्र्याक्टर तथा अन्य सवारीसाधनबाट रु ८५ लाख बराबरको सामान भन्सार चलान गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया