बी एन्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल स्थापित

इनेप्लिज २०७१ फागुन १९ गते १:५० मा प्रकाशित

thumb_1425296645_8cc80136a6d85adcf89bb72875afe96dबिर्तामोड (झापा), १९ फागुन । निजी क्षेत्रको लगानीबाट पूर्वाञ्चलको आर्थिक एवं व्यापारिक नगरी बिर्तामोडमा पहिलो पटक बी एन्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि स्थापना भएको छ ।

स्थानीय युवा चिकित्सक डा उमेशकुमार शर्मा, डा रामबहादुर गिरी, डा बाबुराम गिरी एवं समाजसेवी इन्दिरा गिरी, दुर्गाप्रसाद प्रसार्इं र महेन्द्र प्रसाईंको मिहिनेत तथा लगानीबाट तीन बिगाहा जमिनमा ७५० शय्याको सो शिक्षण एवं अनुसन्धान अस्पताल करिब रु तीन अर्बको लगानीमा बनेको हो ।

अन्तरङ्ग एवं बहिरङ्ग भवनको एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले आज यहाँ उद्घाटन गर्नुभयो । निकट भविष्यमा सञ्चालनमा आउने अन्तरङ्ग भवनमा आकस्मिक उपचार एवं सघन उपचार कक्ष, सबै प्रकारका वार्ड तथा चिकित्सा विज्ञानका उपचारका लागि अत्याधुनिक औजार तथा एमआरआई, सिटी स्क्यान, प्रयोगशाला छन् । साथै सोही भवनमा नौ शल्यक्रिया कक्ष सञ्चालनमा आउने छन् ।

बहिरङ्ग भवनमा बिरामीको परीक्षण मात्र गरिने प्रबन्ध मिलाइएको तथा शिक्षणका लागि अलग्गै भवन तयारी गरिएको छ । विसं २०६९ माघ १ गतेदेखि सो अस्पताल निर्माण सुरु गरिएको अस्पतालका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईंले जानकारी दिनुभयो ।

अस्पतालका कार्यकारी निर्देशक डा उमेशकुमार शर्माले अस्पताल निर्माणका लागि अनुमति प्राप्त गरिए पनि सम्बन्धन प्राप्त गर्ने प्रक्रियामा रहेकाले अस्पताल निकट भविष्यमा सञ्चालनमा आउने जानकारी दिनुभयो ।

अस्पतालका अर्का प्रबन्ध निर्देशक डा रामबहादुर गिरीले अस्पतालमा विकसित देशमा पाइने चिकित्सा सेवा सहज, सरल र सस्तो रुपमा उपलब्ध गराइने जिकिर गर्दै यसबाट पूर्वाञ्चल क्षेत्रका जनताको स्वास्थ्य स्थितिमा कायपलट आउने विश्वास व्यक्त गर्नुभयो ।

अर्का प्रबन्ध निर्देशक महेन्द्र प्रसाईँले अस्पतालले जटिल प्रकारका मुटु, मिर्गौला र मस्तिष्कको शल्यक्रिया पनि गर्ने जिकिर गर्दै यसलाई उत्कृष्ट चिकित्सा शिक्षण केन्द्रका रुपमा विकसित गरिने बताउनुभयो ।

अस्पतालका अध्यक्ष इन्दिरा गिरीले एमबिबिएस तहमा १५० सिट अध्यापन हुने तथा नर्स र प्रयोगशालासम्बन्धी अध्यापन निकट भविष्यमा एम डी तहमा अध्यापन गराइने तयारी भएको जानकारी दिनुभयो ।

संविधानसभाबाट अलग हुने नीति छैन –दाहाल

अध्यक्ष दाहालले राजनीतिक सङ्क्रमण लम्बिँदै जाँदा पनि आर्थिक विकासका काम सम्भव हुँदो रहेछ भन्ने कुराको प्रमाण अस्पताल बनेको बताउनुभयो ।
उहाँले आफ्नो पार्टीले संविधानसभाबाटै संविधान बनाउनुपर्छ भन्ने मान्यता राखेको र संविधानसभाबाट अलग हुने नीति नरहेको स्पष्ट पार्नुभयो ।

नेकपा (एमाले)का सचिव योगेश भट्टराईले संविधानसभालाई संविधान निर्माणको प्रतियोगितात्मक खेल मैदान होइन मैत्रीपूर्ण खेल मैदान बनाउनुपर्छ भन्नुभयो ।

सभासद् सुधीर शिवाकोटी र गणेश विमलीले राज्यले शिक्षा र स्वास्थ्यमा यथेष्ट लगानी वृद्धि गर्न नसक्दा गरिब जनताको जीवनस्तर माथि उठ्न नसकेको अवस्थामा निजी क्षेत्रबाट स्थापना भएका अस्पताललाई सरकारी सुविधा दिनुपर्ने माग गर्नुभयो । सभासद् प्रेमकुमार गिरीले निजी लगानीमा स्थापना भएको अस्पतालले नाफाभन्दा सेवाको भाव लिनुपर्छ भन्नुभयो ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा बिपी दास र काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति प्रा सुरेशराज शर्माले मेडिकल कलेज सञ्चालनसम्बन्धी नयाँ नीतिको आवश्यकता औँल्याउनुभयो ।

प्रतिक्रिया