खड्ग गर्बुजा र जुना श्रीसको साथमा यूएईमा ३३औं मगर दिवस मनाइयो

इनेप्लिज २०७१ फागुन १७ गते १५:५६ मा प्रकाशित

uae 1

 फागुन १७ – ३३औं मगर दिवसका अवसरमा चर्चित गायक खड्ग गर्बुजा र जुना श्रीसको साथमा मगर संघ यूएईले आबुधाबीमा एक आकर्षक कार्यक्रम सम्पन्न गर्यो ।

मगरको छोरो भएकाले मगर समुदायमा प्रचलित गीत गाउनु आफ्नो कर्तब्य भएको र मगर भाषाको सम्बर्धनका लागि विश्वभर छरिएका मगरहरु एकजुट हुनुपर्ने संदेश दिंदै व्हिल चेयरमा स्टेज प्रवेस गरेका चर्चित लोक गायक खड्ग गर्बुजा मगरले झन्डै एक घण्टा दर्शक नचाए । मगर भाषाको “यहानी माया”, सुन माया, सोले डाँडा, सालै जु लगायत आधा दर्जन गीत गाउदै गायक गर्बुजाले दर्शकहरु बुरुक्कै उफारेर यहाँको चिसो मौसमलाई गरम बनाइदिए ।

गर्बुजाले पन्चे बाजाको धुनमा समेटीएको आफ्नो नयाँ गीत गाउदा कार्यक्रम स्थलमा जम्मा भएका अधिकांश सहभागीहरु छमछमी नाचेका थिए । मगर भाषा बोल्न नजाने पनि मगर भाषाका थुप्रै गीत गाउन पाएकोमा गर्व लागेको बताउने गायक गर्बुजाका अधिकांश भनाइलाई दर्शकले तालीको गड्गडाहटद्वारा साथ दिएका थिए ।

गर्बुजा अगाडी स्टेजमा आएकी चर्चित गायिका जुना श्रीष मगरले त्यसैगरी दर्शक नचाइन् । आफैंमा राम्रो नृत्य कला भएकी गायिका मगरले बिभिन्न चर्चित गीतहरुद्वारा उपस्थित सहभागीहरुलाई भरपुर मनोरञ्जन गराएकी थिइन् । गायक गर्बुजाले गीतहरु प्रस्तुत गरिरहँदा गायिका मगरले समेत नृत्य गरेकी थिईन् ।

मगर कला संस्कृति झल्काउने उद्देश्यले आयोजक मगर संघ यूएईको एक सांस्कृतिक टिमले तनहुँ जिल्लामा प्रचलित ठेट कौडा गीत बाजागाजाका साथ लाइभ प्रस्तुति गर्यो । दर्शकहरुद्वारा औधि रुचाइएको उक्त कौडा गीतमा मगर समुदायमा प्रचलित मौलिक बाजाहरुको प्रयोग गरेर संघले संस्कृति जगेर्नामा देश बाहिरै रहेर पनि आफुहरुले अभियान संचालन गरिरहेको वास्तविक उदाहरण पेश गर्यो । कार्यक्रमको शुरुवाततिरै संघको सांस्कृतिक टोलिले प्रस्तुत गरेको मगर भेषभुषा र संस्कृति झल्काउने नृत्य पनि कम चाखलाग्दो थिएन । मगरहरुको सांस्कृतिक पहिरनमा कार्यक्रम स्थल वरिपरी आवतजावत गरिरहेका सहभागीहरु देख्दा नेपालकै गाउँठाउँमा भए झैं महशुस गरेको केहि दर्शकहरुले खुलेरै बताए ।

यूएईका लागि नेपाली राजदुत धनन्जय झा, बिभिन्न नेपाली संघसंस्थाका प्रमुख तथा प्रतिनिधि र ठुलो संख्यामा उपस्थित प्रवासी नेपालीहरुका बीच प्रथम शहिद लखन थापाको १३८औं स्मृति दिवस र ३३औं मगर दिवस एकैसाथ एकैमंचमा मनाउदै मगर संघ यूएईले बिबिधतामा एकता झल्किने आकर्षक कार्यक्रम आयोजना गर्न सफल भएको छ ।

संघका अध्यक्ष भरत रानाको सभापतित्वमा आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि राजदुत झाले बिबिधताले भरिएको राष्ट्रको विविधता बीचको एकता नै राष्ट्रिय एकताको बलियो आधार हो भन्दै मगर दिवसको अवसरमा सबै नेपालीलाई शुभकामना दिए ।

राजदुत झाले देश बाहिर रहेका सम्पूर्ण नेपालीले विदेशबाट सकारात्मक संदेश दिन सक्नुपर्ने बताउंदै सार्वजनिक रुपमा नकारात्मक संदेश छर्न नहुनेतर्फ सबैलाई ध्यानाकर्षण गराए । उक्त अवसरमा राजदुत झाले परराष्ट्र मन्त्रालयले एमआरपी आवेदनमा दुतावासको सहयोगका लागि घुम्ती टोली पठाउने निश्चित भएपनि समय निर्धारण नभइसकेको बताए । अहिलेसम्म मोटामोटी यूएईको फुजिरा, रास अल खेमा, रुवाइस वा शिलामा घुम्ती टोली जाने पक्कापक्की भएको उनले जानकारी दिए । नेपाली नागरिकको सहयोगका लागि संचालन हुने यस्ता अभियानहरुलाई संघसंस्था, समाजसेवी सबैले सकेसम्म प्रचार प्रसार गरिदिन झाले आग्रह गरे । तर घुम्ती अभियान एक ठाउँमा एकदिन मात्रै जाने भएकाले एमआरपी बनाउनका लागि सबै नेपालीलाई समयमै दुतावास आउन आग्रह गर्दै राजदुत झाले हजारौंको संख्यामा सेवाग्राही आएपनि दुतावासले सेवा प्रदान गर्ने र रित्तो हात नफर्काउने प्रतिबद्धता व्यक्त गरे ।आफुले शुरुवात गरेको महिनाको पहिलो शुक्रवार दुतावास खुल्ला रहने प्रावधानले धेरै नेपालीले राहत पाएका कारण सो प्रावधान जारी रहने उनले स्पष्ट पारे ।

पहिलो चरणको औपचारिक कार्यक्रम हर्क बहादुर रानाले संचालन गरेका थिए भने सांस्कृतिक कार्यक्रम उपेन्द्र राना र बिमला मगरले आकर्षक शैलीमा गरेका थिए । यूएईमा रहेका बिभिन्न स्थानीय नेपाली कलाकारहरुको प्रस्तुति रहेको सो कार्यक्रममा संघलाई योगदान पुर्याउने बिभिन्न व्यक्तिहरुलाई सम्मान पत्र समेत प्रदान गरियो । कार्यक्रमको अन्त्यमा भाग्यशाली चिट्ठा समेत खोलिएको थियो । बिभिन्न ८ जनाले उक्त भाग्यशाली चिट्ठा प्राप्त गर्न सफल भएका छन् ।

uae 3

समापनका क्रममा नेपालबाट कार्यक्रममा सहभागी हुन आएका पाहुना कलाकार द्वयलाई संघका अध्यक्ष भरत रानाले दोशल्ला तथा कदर पत्र सहित  सम्मान गरे । कार्यक्रमका बिचमा गायक गर्बुजाले जातीय कला र संस्कृतिलाई जिम्मेवार भइ मौलिक पहिचान जोगाउन लागि परेकामा मगर संघ यूएईलाई धन्यवाद दिए । मगर एकतामा जोड दिंदै उनले ३३औं दिवसका अवसरमा मगरहरु फरक फरक दिशातर्फ फर्किएको देख्न नपरोस् भन्ने धारणा राखेका थिए ।

कार्यक्रममा व्हिल चेयर गायक खड्ग गर्बुजा मगरलाई सहयोगी मन भएका बिभिन्न व्यक्तिहरुले उनले गीत प्रस्तुत गरिरहँदा स्टेजमै उक्लिएर आर्थिक सहयोग प्रदान गरेका थिए । सो मार्फत गर्बुजालाई चार हजार दिर्हाम आर्थिक सहयोग प्राप्त भएको छ ।

uae 4

प्रतिक्रिया