फिदिम तीन दिनदेखि अन्धकारमा

इनेप्लिज २०७१ चैत १५ गते ३:१४ मा प्रकाशित

light5पाँचथर, १५ चैत । सदरमुकाम फिदिमका स्थानीयवासी तीन दिनदेखि अन्धकारमा बस्न बाध्य भएका छन् ।

बिग्रिएको ‘फिडर’ अहिलेसम्म मर्मत हुन नसक्दा विद्युत् आपूर्ति बन्द भएको विद्युत् प्राधिकरण सबस्टेसनका प्राविधिक उमेश यादवले बताउनुभयो । उहाँले भन्नुभयो–“प्रविधि हो, बिग्रन्छ, हामीले इलामबाट फिडर ल्याएर बनाउने प्रयास गरे पनि त्यो सम्भव भएन, अब विराटनगरबाट उक्त सामान झिकाएका छौँ, सामान आएपछि मात्रै विद्युत् पुनःसञ्चालन हुने छ ।”

विद्युत् सञ्चालन हुन नसक्दा फिदिम, नाँगिन, यासोक, स्याब्रुम्बा, फाक्तेप रानीगाउँ, राँके बजारलगायतका हजाराँै उपभोक्ता अन्धकारमा छन् । विद्युत् सञ्चालन हुन नसक्दा विद्युत्बाट चल्ने सम्पूर्ण विद्युतीय उपकरण, कम्प्युटर इन्स्टिच्युट, स्थानीय सञ्चारमाध्यमसमेत बन्द भएका छन् । इमेल, इन्टरनेट र फोटोकपी यन्त्रसमेत नचल्दा गाउँबाट आएका मानिसहरु नागरिकता तथा राहदानीलगायत निकाल्न चाहिने सिफारिसको फोटोकपीसमेत गर्न नपाउँदा सास्ती खेपिरहेछन् ।

जिल्लामा खासै विद्युत्भार कटौती नहुने भए पनि हावाहुरी चलेर खम्बा ढल्दा विद्युत् सञ्चालन हुन नसक्ने फिदिम साना जलविद्युत् केन्द्र सञ्चालन परियोजनाले जनाएको छ । विद्युत् सञ्चालन हुन अझै केही दिन लाग्ने प्राविधिक यादवले बताउनुभयो ।

पटक पटक यसरी लामो समयसम्म विद्युत् आपूर्ति सञ्चालन गर्न परियोजनालाई आग्रह गर्दासमेत बेवास्ता गर्न थालेपछि उपभोक्ता आक्रान्त बन्न थालेको स्थानीय उपभोक्ता दीपेश गुप्ताले बताउनुभयो । उहाँले भन्नुभयो–“यसअघि पनि हामीले बत्ती नआउँदा पटक पटक डेलिगेसन गएर ध्यानाकर्षण गराउँदा पनि आफ्नै पारामा काम गर्ने परिपाटी कार्यालयको भएकाले हामीहरु हैरान भएका छौँ, हामीले भनेको सुन्दै सुन्दैनन् ।”

प्रतिक्रिया