भिन्न
इनेप्लिज
२०७१ चैत १४ गते १८:०२ मा प्रकाशित
हो त नि
कहिले देखि म खोजी रहे थें
यो बुद्धत्व प्राप्त गर्न
ढिलै भए पनि बल्ल मैले बुझें
अनि आत्मासात् गरें ।
म चाहन्छु–
मेरो एक पार्टी होस्
जसको सदस्य म मात्रै हुं
जसको अध्यक्ष म आफैं हुं
जसमा पदाधिकारी कोही पनि नहुन्
देशमा प्रजातन्त्र, गणतन्त्र सवै होस्
चुनाव पनि भैरहोस्
तर मेरै पार्टीको विजय होस्
संसदका सवै प्रक्रिया पूरा हुन्
तर प्रधानमन्त्रीमा कसैको उम्मेदवारी नपरोस्
मैले नै जनताको सेवा गर्ने अवसर पाइरहनु परोस्
बाटो, विजुली सबै विदेशीले नै बनाइदिउन्
झगडा गर्ने, ढुंगा हान्ने युवाहरु विदेशतिरै जाउन्
देशै भरि हुने सवै कार्यक्रमहरुको रिवन मेरै हातबाट काटियोस् ।
हरेक टि.भी. र रेडियोमा मेरै मात्र समाचार छाओस् ।
संसारभरिका विद्धानले मेरो ज्ञानमै पिएचडी गरुन्
विश्वको नमूना मेरै देशलाई ठान्न सकून्
सवै मानवअधिकारबादी संस्थाहरु विघटन् हुन्
मानवअधिकारका रिपोर्टहरु मेरै लेखन्दासले लेखुन्
मेरो ज्ञानका चेलाहरु यत्र तत्र सर्वत्र फैलिउन्
बुद्धत्वको भिन्न आविस्कारक भनेर शालिकहरु बनाउन् ।
प्रतिक्रिया