शनिबार, मंसिर २० २०७७
काठमाडौं ११:१६
वासिङटन डिसी 00:31

डा. गोविन्द केसीको अनसनले उब्जाएका केही प्रश्न तथा पाठहरु

इनेप्लिज २०७१ चैत १४ गते १७:१३ मा प्रकाशित

unnamed

‘मेरो ज्यान गए पनि मलाई कुनै पर्वाह छैन । आफ्नो ज्यानभन्दा ३ करोड नेपालीको स्वास्थ्य जोगाउनु मेरा लागि ठूलो कुरो हो।’ यी निष्ठापूर्ण भनाइ पाँचौ पटक आमरण अनसनरत डा. गोबिन्द केसीका हुन् । मानिसको जीबनमा उसको नैतिक द्रिढता र आफ्नो पेशा प्रतिको निष्ठाले महत्वपूर्ण स्थान राख्छन् । जसले जीबनमा जति धेरै सम्पत्ति, सत्ता, पद, पारिवारिक जन्जाल आदी संग्रह गर्दै जान्छ, उसलाई यी बस्तुहरु प्रति मोह उत्तिकै बढ्दै जान्छ र यी बस्तुहरु गुमाउने भयले उ जानी-नजानी आक्रान्त हुँदै जान्छ । तर जसलाई यी संसारिक बस्तु प्रति मोह कम हुन्छ, उसलाई जीबनमा गुमाउने बस्तुहरु धेरै हुंदैनन् केवल उसको आत्मा र अन्तस्करणले निश्चित गरेका नैतिक मुल्य र निष्ठा बाहेक । डा. गोविन्द केसीको साधा र निष्ठापूर्ण जीबनमा पनि उनको अन्तस्करणले ठम्याएका सही र दूर-द्रिष्टी राख्ने द्रिढ निर्णयहरुको अनुमोदन बाहेक उनलाई अरु केही कुरा पनि गुमाउने डर छैन । उनका बिगतका कृयाकलापले पुस्टी गर्छ कि उनलाई पद, पैसा वा अन्य कुनै संसारिक बस्तुहरु बारे आसक्ती छैन । यदी यसो हुँदो हो त उनी अर्थोपार्जनका सयौ उपाय खोज्न तिर नलागी आफ्नो पसिनाले कमाएको पैसा खर्च गरेर गरीब जनताको उपचारार्थ किमार्थ गाउँ-गाउँमा पुग्दैनथे।कतिपयलाई लाग्दो हो डा. केसी अविवाहित भएको कारणले गर्दा र उनका आवश्यकता सिमित भएको हुँदा उनले आफ्नो पैसा, समय र श्रोत अर्काको हीतको लागि खर्चन सकेका हुन् । उनलाई एक्लै भएको कारण आफ्नो निर्णय गर्न र योजना बनाउन केही सजिलो पक्कै भएको होला, तर मान्छेको सिद्दान्त र निष्ठा भन्ने कुरा एक्लै होस् वा पारिवारिक यो उसको बिबेक र इच्छा शक्तीमा भर पर्ने कुरा हो । यस अर्थमा, आफ्नो निष्ठा र दायित्वबोधको प्रतिबद्दता प्रकट गर्ने क्रममा डा. केसीको पाँचौं आमरण अनसनले केही महत्वपूर्ण प्रश्नहरु उब्जाएको छ ।

पहिलो र सबभन्दा महत्वपूर्ण प्रश्न, ब्रिहत्तर राष्ट्रीय हीतको स्वास्थ नीतिसँग जोडिएको डा. केसी र सरकार बीचमा भएको सम्झौता किन कार्वान्वयन हुन सकेन?हालको सरकारले आँफुले गरेको निर्णयको बिपरित गई अर्को निर्णय लिएको छ । पाँच दशक निष्ठाको राजनीति गर्ने प्र.म. कोइराला किन बिबश छन् सभासदहरुको दबाब सामु घुँडा टेक्न?उनको कुर्सी जोगाउनको लागि? डा. केसी सँगको सरकारको बिगतको सम्झौता राष्ट्रीय रुपमा महत्व राख्ने सम्झौता थियो । यो दुई पक्ष बीचको सम्झौता मात्र नभई हरेक नागरिकको स्वास्थसँग जोडीएको सम्झौता थियो । सम्झौता र सुझाव लागु नगर्ने हो भने (अन्य यस्ता दर्जनौ उदाहरणहरु देख्न पाईन्छ) आयोग गठन गर्दैमा र रिपोर्ट पेश गर्दैमा केही हुनेवाला छैन । हाल देशमा गरीब बिरामीले अस्पातलमा उपचारको बील तिर्न नसकेर आत्महत्या सम्म गर्नुपर्ने स्थिति रहेको अवस्थामा सरकार र सभासदहरुले हाम्रो जस्तो गरीब देशमा कम भन्दा कम खर्चमा डाक्टर कसरी उत्पादन गर्ने र सहुलियत एबं सुलभ खर्चमा गरीबले कसरी साधारण देखी श्ल्यकृया सम्मका उपचार सुबिधा लिन सक्ने भन्ने महत्वपूर्ण एजेण्डाहरु छलफल र कार्वान्वयनमा ल्याउनु पर्ने हो । सरकार र सभासदहरुले आँफै अग्रसरता लिइ नेपालको संबेदनशील चिकित्सा शिक्षा र स्वास्थ सेवाको स्थितिलाई हृदयंगम गरी राष्ट्रीय हीतको स्वास्थ नीति कसरी अनुमोदन गर्न सकिन्छ भनी डा. केसी लगयतका अन्य डाक्टर एबं स्वास्थकर्मी तथा बिरामी समुदाय सँग परामर्श लिनु पर्ने हो । यहाँ त राज्यले गर्नुपर्ने काम गरिदिन उल्टै एउटा डाक्टर आमरण अनसन बस्नु परेको छ । हामीले सभासदहरुलाई ब्रिहत्तर देश र गरीब जनताको हीतमा काम गर्न जिताएका हौ न कि मनमोहन अधिकारीको नाममा ब्यापार गराउन ।  प्रधानमन्त्रीले माफिया सामु झुकेर मेडिकल कलेज स्विक्रिती दिनु भन्दा समाधानका अन्य उपायहरु खोज्नु उपयुक्त हुनेछ । जस मध्ये, यदी लगानी कर्ताले लिएको ॠणको ब्याज उनीहरुको समस्या हो भने प्रधानमन्त्रीले अनुमति स्विक्रिती नहुनुको कारणले तिर्नुपरेको ब्याज अर्थ मन्त्रालय र राष्ट्र बैंकसँग समन्वय गरी ‘बेला आउट’ को नीति अनुमोदन गराइ राष्ट्रिय कानुन नबने सम्म सरकारले उनीहरुले लिएको ऋणको ब्याजमात्रै तिरिदिन सक्छ । यस्ता समाधानका बिभिन्न उपायहरु खोज्नुको साटो देश र जनताको हीत प्रति प्रतिबद्द हुनु पर्ने सरकार र सभासद द्रब्यपिचासी रुपमा देखिएका छन् ।  कुनै पनि कलेजलाई अनुमति दिने अन्तिम नीति डा. माथेमाको नेत्रित्वमा गठित अध्ययन समितिको आधारमा प्रतिपादन गरिनुपर्छ । असी प्रतिशत भन्दा बढी जनता ग्रामीण क्षेत्रमा बसोबास गरेको र यी क्षेत्रमा मात्री-शिशु मृत्यु दर उच्च रहेको हाम्रो देशमा सोही अनुपातमा मेडिकल कलेज र डाक्टरहरुको प्रतिनिधित्व हुनेगरी राष्ट्रिय नीति बनाउनु पर्छ ।

दोश्रो प्रश्न, के हामी सबैले कर्तब्यनिष्ठ र आचारसंहीता भित्र रहेर आफ्नो ब्यबसायिक दायित्व र पदको मूल्य-मान्यता पुरा गरेका छौं? डा. केसीले सरकार, अदालत, अख्तियार, त्रिवि, मेडिकल काउन्सिललगायत संस्था प्रति प्रश्न चिन्ह खडा गरेका छन् । के यी संस्थाका सम्बन्धित ब्यक्तिले इमान्दार भई डा. केसीको दाबीलाई प्रमाण सहित असत्य साबित गर्न सक्छन्? उनीहरुले बनाबटी उत्तर त दिन सक्लान् तर समाधान र निराकरण गर्न कुनै चासो हाल सम्म देखाएका छैनन् । भनिन्छ मनिसको आत्मपरिक्षा उसको हातमा शक्ति वा अधिकार हुँदा गरिन्छ । महाभारतमा ध्रितराष्ट्र असफल हुनुको प्रमुख कारण “राम्रा” छोडेर “हाम्रा” प्रति उनको आसक्ति बढ्नु र “समता” छोडेर “ममता” लाई अपनाउनुले हो । कोही राजा, राष्ट्रपति, प्रधानमन्त्री, न्यायधिस वा कुनै संस्थाको जिम्मेवारी पदमा बस्नु ठुलो कुरो होइन (किनभने यो केही समयको लागि मात्र हुन्छ) तर उसको प्रतेक सेकेन्ड मनभित्र उब्जने सोचाइ (सकारात्मक वा नकारात्मक) र यसबाट निर्देशित हुने  कार्य वा कर्महरुले दूरगामी नतिजा दिन्छन् । मेडिकल कलेजको सम्बन्धनको बिषयलाई लिएर पनि माथिका संस्थासँग सम्बन्धित ब्यक्तिहरुले जस्तो कर्म गरेका छन त्यसको सत्यता संधै सत्य नै रहन्छ, ढिलो-छिटो थाहा हुनेछ, तर यसबाट सिक्नुपर्ने पाठ भने महत्वपूर्ण हुन्छ । यसकारण, कुनै लोभ, लालच, डर, लापरवाह आदीले हुने गल्तीले अरु कोही पिडित हुँदैन, केबल स्वयं यस्तो (कु)कार्य गर्नेनै पिडित हुन्छ । मनोबैज्ञानिक रुपमा भन्ने हो भने एकान्तमा बस्दा डा. केसीको अनसन बारे सबभन्दा बढी सोच्ने र पिडित हुने यिनै पदधारी (जो सम्बन्धन सँग जोडिएको निर्णय प्रति सम्बन्धित छन्) र मेडिकल कलेज प्रति मरिमेटेर लागिपरेका सभासदहरु हुनुपर्छ । डा. केसीलाई देशको लागि गुमाउनु पर्ने एउटा जीबन बाहेक केही छैन, तर उनलाई यहाँसम्म पुर्याउने तत्वहरुलाई बचाउनु पर्ने धेरै कुराहरु छन्, जस्तो, आफुले गरेको बिगतको निर्णय, पद, स्वाभिमान (वा अभिमान), चिने-जानेका मान्छे बीच रहेको (झुठो) इज्जत (जुन एउटा भ्रम हो), पारिवारिक शान्ति, आफ्नो स्वास्थ आदी । अचम्म छ, डा. केसीको सत्याग्रहले यति धेरैलाई पीडा दिएको छ, किनभने उनी सत्यको मार्गमा छन्, उनलाई आत्माबाटै प्रेरणा र अनन्त उर्जा मिलेको छ आफ्नो असल कर्मको लागि । उनी आफ्नो पेशाको धर्म प्रति कर्तब्यनिष्ठ भएर लागेका छन् । उनको अनसनको प्रभाव उनका सहयात्री, शिष्यहरु मात्रै नभै सम्पूर्ण राष्ट्रमै परेको छ ।

तेश्रो प्रश्न, के जताततै राजनीतिको बिष रोपेर हामी आफ्नो राष्ट्र प्रति जिम्मेवार भएका छौं?   हाल राष्ट्रमा कुनै ब्यबसायिक संगठन होस् वा स्वास्थ, शिक्षा, कृषि, उद्दोग, पर्यटन सबै संस्थामा राजनीतिको बिषारोपण गरिएको छ । संस्था भित्र सर्भिस-डेलिभरी चुस्त छैन र उपभोग्य बस्तुको उत्पादन गुणात्मक छैन ।यसमा नेताहरु मात्र नभइ अमुक संस्था भित्रका अमुक कर्मचारी पनि उत्तिकै दोषी छन् । शिक्षक, डाक्टर वा कर्मचारीको कुनै रुप, रङ वा राजनीति हुँदैन ।उनीहरु लाई त आफ्नो ब्यबसायिक दक्षता र आफ्नो बिषयमा गरेको योगदानको आधारमा सम्मानित  गरिनुपर्छ । त्यस्तै पेशाको हीत बिपरित गतिबिधि गरेमा दन्डित गरिनुपर्छ । राजनैतिक संरक्षण दिइनु हुन्न । हाल देशको समस्या भनेको युवाहरु हैनन्, समस्या युवाहरुलाई दिग्भ्रमित गर्ने नेता-कार्यकर्ताहरु हुन् । हामीले निस्प्रिह राजनीति गर भनेका छैनौँ । तर राजनीति पनि मूल्य र मान्यताको हुनु पर्‍यो । पैसा भन्दा माथी उठेर जनताको समस्यामा समहीत हुन सक्नु पर्‍यो । व्याबहारिक र दूरदर्शी नेता हुन सिक्नु पर्‍यो, सिक्न लाज मान्नु भएन । जनतालाई दु:ख दिने र उनिहरुको भन्दा पनि तल्लो स्तरमा गएर राजनीति गर्नु भएन । नेताहरुलाई सिक्नको लागि डा. केसीले उठाएका एजेण्डाहरु नै यथेष्ट छन् ।

डा. केसीका सबै मागहरु उपयुक्त छन् । सरकारले तत्काल उनको माग प्रति सहमति सहित नयाँ मेडिकल कलेज स्थापनार्थ आवश्यक नीति निर्धारण र भरपर्दो अनुगमन गरी राष्ट्रिय नीतिको आधारमा मात्रै कलेज खोल्न अनुमति दिने प्राबधान बनाउनु पर्छ । यस अर्थमा, हाल अनुमतिको प्रयासमा रहेका कलेजहरुको अनुमति स्थगन गरिनु पर्छ र यस सम्बन्धमा निकट भबिस्यमा डा. माथेमा नेत्रित्वको कमिसनले दिने रिपोर्टलाई प्रमुख आधार बनाइनु पर्छ । जसरी एउटा उद्दोग स्थापनार्थ यथेष्ठ तयारी र उद्दोगबाट गुणात्मक उत्पादन गर्नको लागि गुणात्मक कच्चा पदार्थ, योग्य प्राबिधिक  एबं मेसिन तथा योग्य अनुगमनकर्ताहरुको आवश्यकता पर्छ, त्यही नियम डाक्टर उत्पदनमा पनि लागु हुन्छ । जसरी निम्न कोटीको उत्पादित खाना खाँदा उपभोक्ताहरु बिरामी हुन्छन्, त्यस्तै जनताको स्वास्थमा प्रत्यक्ष सरोकार राख्ने उत्पादित डाक्टरहरु निम्न गुणका भएमा जनताको ज्यानको प्रश्न  आउँछ । यसकारण अब देखि मेडिकल कलेज खोल्ने तयारी देखि लिएर लगानीकर्ता (आम्दानी-श्रोतको ब्याकग्राउन्ड चेक सहित), अनुगमनकर्ता, बिद्यार्थी-प्राध्यापक, श्रोत-साधन, राष्ट्रिय र अन्तरराष्ट्रिय सम्बन्धन आदी सबैको इन्भेन्टरी कम्प्युटराइज्ड गरिनु पर्छ । यसो गर्दा कसैले छल-छाम गर्न पाउंदैनन् ।

गुरुलाई आफ्नो आमा-बुवाको स्थानमा राखिन्छ, किनभने हाम्रो सांस्कृतिक मान्यता अनुसार गुरुहरुले कहिल्यै आफ्ना शिष्य प्रति कुभलो सोचेका हुन्नन् । डा. गोबिन्द केसी आज तीन करोड नेपालीको गुरु भएर हाम्रो सामु असक्त रुपमा सुतिरहेका छन् । देशमा जता-ततै अस्त-ब्यस्तको स्थिति रहेको बर्तमान अवस्थामा अन्धकारमा टाढा कतै सानो आशाको ज्योति देखिए जस्तो डा. केसी हाम्रो बीच शैयामा अर्ध चेत छन् । उनका मागहरु पूर्ती गराउन सबैले दबाव दिदैं यी मागहरुलाई तत्काल पुरा गराइ उनको अमूल्य जीबनको रक्षा गर्नु हामी सबैको कर्तब्य हो ।

प्रतिक्रिया