एसएलसी परीक्षा सम्पन्न

इनेप्लिज २०७१ चैत १३ गते १२:२४ मा प्रकाशित

slcभक्तपुर १३ चैत । विद्यार्थीका लागि उच्च शिक्षाको ढोका खोल्ने परीक्षाका रुपमा लिइने प्रवेशिका परीक्षा आजदेखि सम्पन्न भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सञ्चालन गरेको सो परीक्षा यही चैत ५ गतेदेखि सुरु भएको थियो ।

परीक्षाका लागि कुल पाँच लाख ७४ हजार ६८५ जनाले फाराम भरेका थिए । परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले परीक्षाको अन्तिम दिन आज सप्तरीमा २४ परीक्षार्थी निष्काशित गरिएको जानकारी दिनुभयो । यस वर्षको परीक्षामा पनि तराईका जिल्लामा अनियमितता गर्ने कार्यमा न्यूनता नआएको उहाँको भनाइ छ ।
बहत्तर वर्षीया हजुरआमा परीक्षार्थी

उमेरले ७२ वर्ष पुगिसक्नुभएकी केदारकुमारी याखा पढाइ छाडेर बस्नेका लागि पे्ररणा बन्नुभयो । इलाम घर भई हाल पेप्सीकोला बन्दै आउनुभएकी १० नातिनातिनीका हजुरआमा याखाले मध्यपुरथिमि नगरपालिकास्थित बोडे उमाविमा सञ्चालित खुला विद्यालयमा अध्ययन गरी आदर्श उच्चमावि लायकु केन्द्रबाट परीक्षा दिनुभएको छ ।

आफूले उमेरमा पढ्न नपाएको अधूरो चाहनालाई मेट्न छ वर्षअघि अनौपचारिक कक्षाबाट पढाइ सुरु गर्नुभएका उहाँले यस वर्ष घरका दुई नातिनातिनासँगै परीक्षा दिनुभयो ।
याखाले भन्नुभयो– “अनौपचारिक कक्षाबाट सुरु भएको पढाइ खुला विद्यालय हुँदै यस वर्ष एसएलसी दिन पाइयो, घरमा नाति आमोद याखा र नातिनी एन्जिला याखाले पनि यस वर्ष एसएलसी दिए, उनीहरुसँगै घरमा पढेर मैले पनि परीक्षा दिएँ ।”

आदर्श उमावि लायकुका प्राचार्य एवम् परीक्षा केन्द्राध्यक्ष विद्यादेवी चित्रकारले वृद्ध उमेरमा पनि याखाले परीक्षा दिएको देखेर थिमिका बासिन्दा, शिक्षक र विद्यार्थीलाई प्रेरणा मिलेको बताउनुभयो ।

प्रतिक्रिया