खेत मै सुक्यो उखु

इनेप्लिज २०७१ चैत १३ गते ३:३२ मा प्रकाशित

c7cffde5acce62cb0e1ae56216de2822_Lपथरी (मोरङ), १३ चैत । खेतमै उखु सुक्न थालेपछि मोरङका उखु कृषक चिन्तित भएका छन् ।

माघ फागुन महिनामा काट्नुपर्ने उखु सुनसरीको इस्टन चिनी मिलले कृषकलाई कटान पूर्जी नदिएकाले खेतमै उखु सुक्न थालेको हो ।

समयमै उखुको पैसा नदिने र बेलैमा उखु नकिन्ने चिनी मिलको समस्याले गर्दा कृषक चिन्तित भएका हुन् ।

चैत १५ बित्नै लाग्दासमेत चिनी मिलले कृषकलाई कटानपूर्जी नदिएकाले उखु खेतमै सुक्न थालेको मोरङ कदमहाका कृषक भोला सरकारले बताउनुभयो ।

सिँचाइ अभावका कारण आफूहरू उखु लगाउन बाध्य भएको कृषकको भनाइ छ । जति समय बित्यो त्यति उखु हलङ्गो हुने भएकाले चिनी मिलले ढिलो कटान पूर्जी दिने गरेको कृषकहरूको भनाइ छ ।

उखु किसान सदानन्द सरदार कृषकले चाहेको समयमा उखु काट्न र बेच्न नसक्ने बताउनुहुन्छ । उहाँका अनुसार चिनी मिलले जहिले उखु काट्ने पूर्जी दियो त्यही दिन काट्नुपर्ने र उखुको पैसा लिन वर्षौँ कुर्नुपर्ने कृषकहरूको बाध्यता रहँदै आएको छ ।

उखु कृषकमाथि चिनी मिलले चरम शोषण गरेको कृषकहरूको आरोप छ । चिनी मिलले बेलैमा उखु नकिन्ने र उखुको पैसासमेत समयमै नदिने गरेका कारण उखु कृषक मारमा पर्दै आएका छन् ।

प्रतिक्रिया