एचआइभी प्रभावित सरकारी चिकित्सकद्वारा अपहेलित

इनेप्लिज २०७१ चैत १२ गते ४:४७ मा प्रकाशित

hiv-aidsजनकपुरधाम, १२ चैत । जनकपुर अञ्चल अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारीहरूले एचआइभी सङ्क्रमितहरूलाई अपहेलना गर्ने गरेको पीडितहरूले गुनासो गरेका छन् ।

धनुषा र महोत्तरीका एक दर्जनभन्दा एचआइभी सङ्क्रमितहरूले अस्पतालका चिकित्सकका साथै अस्पतालका कर्मचारीले अपहेलना गरेको गुनासो पोखेका हुन् ।

एचआइभी सङ्क्रमितको संस्था विश्वासिलो आशा जनकपुरकी अध्यक्ष प्रमिला साहले सरकारीस्तरबाट विभिन्न प्रकारको सेवा सुविधाहरू उपलब्ध भएपनि अञ्चल अस्पतालबाट प्राप्त हुन नसकेको बताउनुभयो ।

सरकारले एचआइभी सङ्क्रमितका लागि प्रदान गर्ने भनिएको स्वास्थ्य सेवामा स्वास्थ्यकर्मीले कटौती गर्ने गरेको पनि उहाँको भनाइ छ ।

यस्तै एचआइभी सङ्क्रमितको लागि रोग प्रतिरोधक एआरभी नामक औषधि निःशुल्करुपमा सरकारले उपलब्ध गराउने व्यवस्था भएपनि अस्पतालबाट उपलब्ध नगराइएको, स्वास्थ्यकर्मीले पर्याप्त समय नदिएको, औषधि लिन वा स्वास्थ्य जाँच गराउन जाँदा हप्काउने गरेको, सामान्य अवस्थामा पनि ब्लड प्रेसर जाँच गराउन जाँदा ग्लव किन्न लगाउने गरेको पनि उहाँले गुनासो गर्नुभयो ।

यस्तै महोत्तरी प्लसका कोषाध्यक्ष हरिकिसुन साहले स्वास्थ्य जाँच गराउन जाँदा स्वास्थ्य जाँच गर्ने मेसिन (सिडिफोर) बिग्रिसकेको भन्दै बहानाबाजी गरी बाहिर निजी क्लनिकमा जाँच गराउन पठाउने गरेको आरोप लगाउनुभयो ।

अस्पतालमा निःशुल्क जाँच गर्ने व्यवस्था भएपनि निजी क्लिनिकमा जचाउन जाँदा एक चोटीमा रु एक हजार ५०० लाग्ने गरेको पनि उहाँले बताउनुभयो ।

हाल जनकपुर अञ्चल अस्पतालमा धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली र सिरहाका एचआइभी सङ्क्रमितहरू स्वास्थ्य जाँच गराउन आउने गरेका छन् ।

पाँचै जिल्लाबाट करिब एक हजार एचआइभी सङ्क्रमित महिना दिनको फरकमा स्वास्थ्य जाँच गराउन आउने गरेको जनाइएको छ ।

जिल्ला सरकारी अस्पतालमा एचआइभीको स्वास्थ्य जाँचको सुविधा प्रदान नगरिएकाले पाँचवटै जिल्लाका करिब एक हजार एचआइभी सङ्क्रमित हजारौँ रुपैया खर्चेर जनकपुर अञ्चल अस्पतालमा सेवा लिन आउने गरेका छन् ।

प्रतिक्रिया