महाकाली अञ्चल अस्पतालको शवगृहमा उपकरण अभाव, काम गर्न समस्या
बेलौरी (कञ्चनपुर), १० चैत । महाकाली अञ्चल अस्पतालको शवगृहमा उपकरण अभाव हुँदा परीक्षण गर्न समस्या भएको छ ।
शवगृहमा शव चिरफारका लागि चाहिने उपकरण अभाव भएका कारण परीक्षण गर्न समस्या भएको अञ्चल अस्पतालका स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
शवगृहमा काम गर्ने स्वास्थ्यकर्मीहरुले अस्पताल प्रशासनसँग उपकरण र शवगृहमा भएका समस्याबारे जानकारी गराए पनि अझैसम्म उपकरण र पानीको उचित व्यवस्था नभएको गुनासो गरेका छन् ।
अञ्चल अस्पतालका जनरल फिजिसियन डा रामबिहारी चौधरीले शव राख्ने आइस बक्स नभएका कारण समस्या हुने गरेको बताउनुभयो । उहाँका अनुसार शवगृहमा पानीको समेत समस्या छ । “पानी नहुँदा काम गर्नसमेत समस्या हुन्छ”, उहाँले भन्नुभयो । चौधरीले शवगृह आधुनिक नहुँदा समस्या भएको बताउँदै शवगृहमा आइस बक्सको अभाव रहेको बताउनुभयो ।
उहाँका अनुसार नाइफोल्डर, निडिल होल्ड, सिजर, टाउको खोल्ने मेसिन, आइस बक्स र पानीको व्यवस्थापन नहुँदा परीक्षण गर्न समस्या भएको हो । “शवगृहमा कामचलाउ उपकरण र थिचोमिचोमा परीक्षण हुन्छ”, उहाँले भन्नुभयो । “सबैभन्दा मुख्य पानीको समस्या छ ।” शव परीक्षण गर्न धेरै पानी चाहिने भए पनि शवगृहमा पानीको समेत व्यवस्था नहुँदा झन समस्या भएको छ ।
बेवारिसे शव आएपछि त्यहाँ कार्यरत कर्मचारी चिकित्सकहरुलाई झन समस्या हुने गरेको छ । अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुरेन्द्र लाल श्रेष्ठले पनि शवगृहमा पानीको समस्या भएको स्वीकार्दै, शवगृहमा काम गर्ने चिकित्सकहरुले उपकरण अभाव बारे कुनै जानकारी नगराएको बताउनुभयो । शव गृहको सुधारका लागि प्रयास थालिने डा. श्रेष्ठले बताउनुभयो । शवगृहमा दुई तिन लास मात्रै राख्न सकिने व्यवस्था भएपनि कहिलेकाँही बढि लासहरु आउने भएकाले घरको क्षेत्रफल समेत बढाउनुपर्ने चिकित्सकहरुको भनाई छ ।
अञ्चल अस्पताल स्रोतका अनुसार शवगृहमा भएको समस्या बारे बाहिर सार्वजनिक नगर्न समेत अस्पताल प्रशासनले आफ्ना कर्मचारीहरुलाई आग्रह गरेको थियो । काम चलाउ अवस्थामा शव पोष्टमार्टम हुँदै गरेको अञ्चल अस्पताल कर्मचारी स्रोतको दावी छ ।
अठार जना चिकित्सकको दरबन्दी भएपनि दरबन्दीअनुसार पदपूर्तीको समस्या खेप्दै आएको अञ्चल अस्पतालको शवगृहमा समेत उपकरण, पानी लगायतका समस्या समेत समाधान नहुँदा सर्वसाधारण चिन्तित भएका छन् । अञ्चल अस्पताल जस्तो अति सम्वेदनशिल क्षेत्रमा उपकरण र पानीको व्यवस्था गर्नुपर्ने स्थानिय बासिन्दाको सुझाव छ ।
क्यालिफोर्नियाका सेफ ध्रुव थापा टप टेन सेफमा चुनिए
ट्रम्पले आफू बिरुद्ध मतदान गरेकी अलास्काकी सिनेटर बिरूद्ध अभियान चलाउने चेतावनी
अमेरिकामा १ करोड २४ लाख ४७ कोरोनाबाट मुक्त,८ करोड ७९ लाख १२ हजारले खोप लगाए
टेक्ससका उदियमान र्याप कलाकारको जर्जियाको राजमार्गमा गोलीवारीमा मृत्यु
डिसीका १३ बर्षिय किशोरलाई जबर्जस्ती अर्काको गाडी लुट्ने पाइएकोमा पक्राउ
प्रतिक्रिया