कागज उत्पादनमा नयाँ प्रविधिको प्रयोग

इनेप्लिज २०७१ चैत ९ गते १:३० मा प्रकाशित

nepali-kagajबेनी (म्याग्दी), ९ चैत । म्याग्दीमा नेपाली कागज उत्पादनमा नयाँ प्रबिधिको प्रयोग भएको छ । न्यानो घरमा कागज सुकाउने प्रविधिको प्रयोग भएपछि कागज उत्पादनमा नियमितता हुनुका साथै उत्पादन क्षमता वृद्धि भएको छ ।

म्याग्दीको राम्चे गाविस–२ नांगीमा रहेको हिमाञ्चल हातेकागज तथा हस्तकला उद्योगमा नयाँ प्रविधिको प्रयोग गरी कागज उत्पादन गर्न थालिएको हो । बन्द कोठामा तातो बनाएर कागज सुकाउन छुट्टै न्यानो घर बनाइएको छ । हाल नेपालका प्रायः नेपाली कागज उद्योगले लोत्ता प्रशोधन गरेपछिको लेदोलाई कागज बनाउन घाममा सुकाउने गर्दै आएका छन् । दक्षिण कोरियाको कोरियन इस्न्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजीअन्तर्गतको इन्जिनियर्स विथ ब्रोदर समूहको सहयोगमा यस्तो प्रविधिको प्रयोग गरिएको हो ।

होचो गरी बनाइएको भुइँतलामा आगो बालेर कोठालाई तातो बनाउने र त्यही कागज सुकाउने गरिएको छ । भवनको एकातर्फबाट कोठामा प्रकाश पार्न सिसा राखिएको छ भने सिसा राखिएको भन्दा विपरीत भागबाट कोठालाई न्यानो बनाउन ताप प्रसारण गराउने व्यवस्था गरिएको छ । घाममा कागज सुकाउँदा झरी, वर्षा र बदली हुँदा उत्पादन गर्न सकिएको थिएन भने उत्पादित कागजसमेत सुकाउने क्रममा वर्षाले भिजेर क्षति हुने समस्या रहेको थियो ।

यसैगरी, उक्त उद्योगमा उत्पादित नेपाली कागजबाट निर्मित डायरी विदेशमा निर्यात हुन थालेको छ । नेपाली कागजबाट निर्मित डायरी बलियो र टिकाउ हुने भएकाले दक्षिण कोरिया, अस्टे«लिया लगायतका देशमा निकासी हुन थालेको हो ।

सामान्य आकारको एउटा डायरीलाई ४२० रुपैयाँका दरले बिक्री गरिन्छ । गाउँको जङ्गलमा खेर गइरहेको लोत्ताको सदुपयोग गरी कागज उत्पादन र रोजगारी सृजना गर्ने उद्देश्यले स्थानीय समुदायले २०७० सालमा उद्योग स्थापना गरेका थिए । बढी मूल्य पाइने र बजारको मागअनुसार नेपाली कागज बिक्री नगरी उद्योगमा डायरी उत्पादन गर्न सुरु गरिएको हो । उद्योगमा नांगीका ११ महिलाले रोजगारी पाएका छन् ।

उद्योग सञ्चालनका लागि जिल्ला वन कार्यालय, बहुसरोकारवाला वन कार्यक्रम, सङ्गम म्याग्दीलगायत सङ्घसंस्थाले पनि सहयोग गरेका छन् । गैरकाष्ठ वन पैदावारमा आधारित उद्यमलाई प्रोत्साहन गर्ने नीतिअनुसार गत वर्ष उपकरण खरिदका लागि एक लाख रुपैयाँ उपलब्ध गराएको उद्योगमा यस वर्ष पनि थप एक लाख रुपैयाँ अनुदान दिएको जिल्ला वन अधिकृत रामस्वार्थ शाहले बताउनुभयो ।

प्रतिक्रिया