महमाईमा घुम्ती शिविर

इनेप्लिज २०७१ चैत ७ गते ६:०८ मा प्रकाशित

ilam-mapइलाम, ७ चैत । इलामको दक्षिणी गाविस महमाईमा दुईदिने घुम्ती शिविर सुरु गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले महमाईका बासिन्दालाई लक्षित गरेर सञ्चालन गरेको सो शिविरमा फोटोसहितको मतदाता नामावली, कम्प्युटरबाट नागरिकता वितरण, माटो शिविर, अपाङ्गता परिचयपत्र वितरण, पशु स्वास्थ्य शिविर, स्वास्थ्य परीक्षणलगायत काम गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुजन फागोले जानकारी दिनुभयो ।

यहाँका बासिन्दा सेवा लिन सदरमुकाम आउन एकदिन माया मार्नुपर्ने भएकाले विशेष गरी दुर्गम क्षेत्रलाई लक्षित गरेर शिविर सञ्चालन गरिएको हो ।

जिल्लाको अतिनै दुर्गम क्षेत्र मानिएको महमाईका बासिन्दाले वर्षाैंदेखि यस क्षेत्रमा घुम्ती शिविर सञ्चालन गर्नुपर्ने माग राख्दै आएका थिए ।

शिविरको पहिलो दिननै शुक्रबार करिब ८० नागरिकता वितरण, फोटोसहितको मतदाता नामावली सङ्कलन गरिएको छ । यस्तैगरी गाईवस्तुको गोबर परीक्षण, औषधि वितरण गरिएको छ । शिविरमा आउने सर्वसाधारणलाई जिल्ला अस्पतालको सहयोगमा उपचार, स्वास्थ्य परीक्षण र निःशुल्क औषधि वितरण गरिएको सहायक प्रजिअ फागोले बताउनुभयो ।

यसैगरी अपाङ्गताको क्षेत्रमा कार्यरत महिला बालबालिका कार्यालयले अपाङ्ग परिचयपत्र वितरण, जिल्ला कृषि विकास कार्यालयले किसानको माटो परीक्षण गरिएको छ । स्थानीयस्तरमै सबै सेवा पाउँदा सर्वसाधारण हर्षित भएका छन् । सो कार्यालयले यसपछि फाकफोकको घुर्विसे पञ्चमी, माईमझुवा गाविसमा पनि घुम्ती शिविर सञ्चालन गर्ने जनाएको छ ।

प्रतिक्रिया