प्रमुख नहुँदा सेवाग्राहीलाई समस्या

इनेप्लिज २०७१ चैत ६ गते ३:५४ मा प्रकाशित

लम्की, ६ चैत । कैलालीको टीकापुरस्थित मालपोत कार्यालयमा प्रमुख नहुँदा सेवाग्राहीलाई समस्या भएको छ ।

कार्यालय प्रमुख चण्डीप्रसाद कोइराला कार्यालयमा गत असोज महिनादेखि नियमित छैनन् । कोइराला असोजमा चार दिनबाहेक कात्तिक र मङ्सिरमा एक दिन पनि कार्यालयमा हाजिर भएका छैन् । यसैगरी पुस महिनामा १४ दिन हाजिर भएका छन् भने माघ महिनादेखि अत्तोपत्तो छैन ।

निमित्त कार्यालय प्रमुख नरेन्द्रबहादुर पाल अधिकृतस्तरको भए पनि प्रमुखको जति अधिकार नभएको भन्दै सर्वसाधारणका काम रोकिएका छन् ।

कार्यालय प्रमुख नहुँदा तीनपुस्ते नामसारी, निर्णय नभएका श्रेस्ता कायम र दर्ता हुन सकेका छैनन् । कार्यालय प्रमुख कोइराला नहुँदा मुनुवा–७ गोलौरीका एक परिवारले दुई महिनादेखि मालपोतमा चक्कर काटिरहेका छन् ।

बाबु आमाको नाममा रहेको जग्गा सात भाइको नाममा गर्न उनीहरुले दुई महिनादेखि मालपोत धाइरहेका छन् । हकदार भए नभएको पत्रिकामा सार्वजनिक सूचना गरेको ४५ दिनपछि पनि उनीहरुको जग्गा नामसारी नभएको रामलखन चौधरीले बताए ।

निमित्त प्रमुख पालले भन्नुभयो, “कतिपय अधिकार मलाई हुँदैन, मसँग सेवाग्राही दैनिक झगडा गर्न आउने गर्छन् ।”

कैलालीको आधा क्षेत्रका जनताले टीकापुरस्थित मालपोत कार्यालयबाट सेवा लिने गरेका छन् ।

प्रतिक्रिया