अनेसास नेपाल च्याप्टरद्वारा ग्रन्थ र गीति एल्बमहरुको विमोचन

इनेप्लिज २०७१ चैत ५ गते ७:३५ मा प्रकाशित

DEF_7332

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले गत मंगलबार ( २०७१ चैत ३ ) नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको ग्रन्थ र गीति एल्बमहरुको विमोचन, सम्मान तथा संगीत प्रस्तुति समारोहमा नेपाली वरिष्ठ सङ्गीतकार प्राज्ञ बुलु मुकारुङले लेख्नुभएको नेपाली सङ्गीत क्षेत्रको इतिवृत्तान्त समेटिएको पुस्तक ‘नेपाली सङ्गीतको अभिलेख’ एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको छ ।

सोहि समारोहमा बुलु मुकारुङ्को एकल सङ्गीत भएका नरेन्द्रबहादुर श्रेष्ठको ‘अधरको मुस्कान’, राधेश्याम लेकालीको ‘आगत’, कमला कुँवरको ‘के मागूँ’, कमलसिंह कार्कीको ‘मुटुमा राखेको मान्छे’, जलेश्वरी श्रेष्ठको ‘चुम्बनबाट’, लक्ष्मी उप्रेतीको ‘जिन्दगीको बाटो’, वसुश्री पाण्डेको ‘यो मनको कुरा’, स्नेह पोखरेलको ‘नारी तिमी’, वीरु बाङ्देल (सिक्किम) को ‘कैले कैले’ लगायतका १२ वटा गीति एल्वम् विमोचन गर्नुभएको थियो ।

विमोचित अन्य एल्वमहरूमा सुरेश घिमिरे ‘निश्चिन्त’को ‘सुदीपन’, राजेन्द्र प्रसाद प्रसार्इं (क्यानाडा)को ‘प्रवास बोल्छ’, डा ध्रुवचन्द्र गौतम, डा.तारानाथ शर्मा, दौलतविक्रम विष्ट, इश्वर वल्लभ, डा विष्णु राई, यादव खरेल, श्रवण मुकारुङ, हरिभक्त कटुवाल, नरेन्द्रनाथ कोइराला आदिको ‘घराना’ रहेका छन् ।

निर्माण प्रकाशन, सिक्किम र पाल्पा बुक्स बागबजारद्वारा अलग अलग प्रकाशित उक्त पुस्तकले नेपाली सङ्गीतको इतिहासलाई समेट्ने प्रयास गरेको छ । जम्मा ८४८ पृष्ठमा तयार भएको सो पुस्तकमा नेपालको सङ्गीत क्षेत्रमा विशिष्ट योगदान पुर्याएका छ हजार सङगीतकर्मी तथा संस्थाहरूको चर्चा गर्दै नेपाली सङ्गीतको लिच्छवीकाल, मल्लकाल, शाहकाल हुँदै वर्तमानसम्मको घटनाक्रमलाई उल्लेख गरिएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको संयोजनमा आयोजित सो कार्यक्रममा पुस्तक र गीति एल्बमहरुको लोकार्पण गर्दै सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले नेपाली सङ्गीत तथा कलाको विकासलाई जीवन्त राख्न पुस्तक निकै उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । मुकारुङ्को यो कृति नेपालको कला तथा सङ्गीतका क्षेत्रमा लाग्नेका लागि पनि निकै उपयोगी हुने उहाँले बताउनुभयो । नेपालको समग्र विकासमा सङ्गीत तथा कला क्षेत्रको महत्वपूर्ण योगदान रहेको उहाँको भनाइ थियो । उक्त अवसरमा मन्त्री रिजालले नेपाली सङ्गीतको अभिलेख पुस्तकका स्रष्टा बुलु मुकारुङ्ले आफ्नो १६ वर्षको निरन्तर अध्ययन तथा खोजी पछि पुस्तकको प्रकाशन गरेको जानकारी गराउनुभयो । पुस्तकमा नेपालभित्र र नेपाल बाहिरका सिक्किम, आसाम, बर्मा जस्ता ठाउँमा वसी नेपाली सङ्गीत र कलाका क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरूलाई समेट्ने प्रयास भएको उहाँले बताउनुभयो ।

उक्त अवसरमा स्रष्टा बुलु मुकारुङ्लाई सम्मान प्रदान गरिएको थियो | अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकाली, पूर्व सभासद् शोभाकर पराजुलीलगायतले प्रकाशित पुस्तकले नेपाली सङ्गीत तथा कलाको क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने धारणा राख्नु भएको थियो । कार्यक्रम संयोजक नरेन्द्रबहादुर श्रेष्ठले स्वागत मन्तब्य व्यक्त गर्नुभएको सो कार्यक्रम स्रष्टा यादव भट्टराइले संचालन गर्नुभएको थियो | कार्यक्रममा गायकहरु विश्व नपाली, आभा मुकारुङ, नीशा देसारले विमोचित एल्बमहरुबाट गीत गाउनु भएको थियो | यसैगरी कलाकारहरु रोमिला नेउपाने र नीरु खड्काले नृत्य गर्नु भएको थियो |

प्रतिक्रिया