एसएसबीले तोडफोड गर्दा दलित परिवार बिचल्लीमा

इनेप्लिज २०७१ चैत ५ गते ४:३० मा प्रकाशित

गौशाला, ५ चैत । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले महोत्तरी जिल्लाको बथनाहा गाविसका दशगजा क्षेत्रमा वर्षौंदेखि बसोबास गर्दै आएका सयौँ दलित परिवारका घरबार तोडफोड गरेपछि उनीहरु बिचल्लीमा परेका छन् ।

सो गाविसका वडा नं ५, ६, ७ र ८ मा बसोवास गर्दै आएका करिब ३०० मुसहर, खत्बे, बिनलगायत दलित परिवारको १५० घरबारलाई एसएसबीले दशगजा क्षेत्र खाली गर भन्दै तोडफोड गरेका छन् ।

पुर्र्खौपुर्खादेखि दशगजा क्षेत्रमै बसोबास गर्दै आएका ती भूमिहीन दलित परिवारको अर्को ठाउँमा जान जग्गाजमिन नरहेको, घरबार बनाउन साधनस्रोत नभएको र ठुल्ठूला जहान परिवार रहेको बथनाहा– ६ का श्रीचन सदाले बताउनुभयो ।

एसएसबीले गत माघ २९ गते आउँदो पाँच दिनभित्र दशगजा क्षेत्र खाली नगरे डोजर चलाइदिने भनेर गएको र बुधबार साँझ अचानक आएर दशगजा क्षेत्रको १५० घरको अधिकांश भाग भत्काएको थियो । बाँकी रहेका १५० घर पनि दुई दिनभित्र भत्काउन आदेश दिएको बथनाहा– ५ रामजी खत्बेले बताउनुभयो । त्यस्तै एसएसबीले दशगजा क्षेत्र आफैँ खाली गरी नगए घरबार तोडफोड गर्नाका साथै कुटपिटसमेत गर्ने धम्कीसमेत दिएको बथनाहा– ७ का सुरजा बिनले बताउनुभयो ।

गाँस, बास र कपासको समस्या सधैँभरि रहेका तथा गरिबी र विपन्नताले जरो गाडी बसेका बथनाहाका मुसहर, बिन र खत्बेलाई बिनावैकल्पिक व्यवस्था नगरीकनै घरबारविहीन बनाएपछि उनीहरु वास्तवमै ठूला समस्यामा पर्न गएको एमाओवादी नेता सत्येन्द्र यादवले बताउनुभयो ।

अहिले पीडितहरु नेपालपट्टिका खेतमा पाल टाँगेर बस्न बाध्य छन् । कतिले नजिकैको गाउँमा समेत शरण लिएर बसेको बथनाहा– ४ का राष्ट्रिय मधेस समाजवादी पार्टीका नेता चन्दन दुबेले बताउनुभयो ।

प्रतिक्रिया