नयाँ नगरपालिकामा दमकल छैन, आगलागी भएमा बाल्टिनले पानी छ्याप्नुपर्छ

इनेप्लिज २०७१ फागुन ३० गते ३:४९ मा प्रकाशित

दमकलरङ्गेली, ३० फागुन । हुरी बतासको मौसम सुरु भएसँगै दक्षिणपूर्वी मोरङमा आगलागीका घटनाले जोखिम बढ्दै गएको छ ।

सरकारले हालै नगरपालिका घोषणा गरेको रङ्गेली नगरपालिकाले समेत आगलागीको जोखिम नियन्त्रणका लागि कुनै ठोस योजना नबनाउँदा अझ बढी स्थानीयवासी जोखिममा रहेका छन् ।

मोरङ जिल्लाभर एक उपमहानगरपालिकासहित सात नगरपालिका रहे पनि विराटनगरमा मात्रै बरुणयन्त्रको व्यवस्था भएको त्यो पनि भरपर्दो नरहेको स्थानीयको भनाइ रहेको छ ।

एक साताअघि मात्रै रङ्गेली बजारमै भएको एक आगलागीको घटनाले स्थानीयलाई अझ चिन्तित बनाएको छ । आगलागी नियन्त्रणका लागि बारुणयन्त्र नहुँदा बजारका चार वटा पसल हेर्दाहेर्दै खरानी भएको थियो ।

स्थानीय सम्बोधप्रसाद मण्डलका अनुसार विराटनगरको दमकललाई समयमै फोन गरेर बोलाउँदाबोलाउँदै पनि समयमा दमकल आई नपुग्दा पसल जलेर ध्वस्त भयो । उहाँले भन्नुभयो “यदी रङ्गेलीमै दमकल भएको भए सामान्य क्षति मात्र हुने थियो ।”

गत वर्ष मोरङको गोविन्दपुर, दर्वेशा गाविसमा भएको भीषण आगलागीमा गाउँ नै सखाप हुने गरी आगलागी हँुदा करोडौँको धनमाल जलेर नष्ट हुनुसँगै सयौँ परिवार घरबारविहीन हुनुपरेको थियो ।

रङ्गेली नागरिक समाजका संयोजक मङ्गलचन्द अग्रवालले दक्षिणपूर्वी मोरङको २५ गाविसको केन्द्रका रुपमा रहेको रङ्गेली नगरपालिकामा बारुणयन्त्रको अति आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विराटनगरबाट रङ्गेलीसम्म दमकल आउन एक घन्टा समय लाग्छ त्यति बेलासम्म आगो नियन्त्रणभन्दा बाहिर जाने हुँदा विराटनगरको विकल्पमा अब रङ्गेली नगरपालिकाले नै बारुण यन्त्रको व्यवस्थापन गर्नुपर्ने जरुरी छ ।

दक्षिणपूर्वी मोरङका ग्रामीण क्षेत्रमा कच्ची घरसँगै चुलोमा खाना पकाइने हुँदा आगलागी हुने उच्च जोखिम रहेको स्थानीयवासीको भनाइ छ ।

रङ्गेली नगरपालिका– ३ का अशोक सापकोटाले आगलागी भयो भने बारुणयन्त्र नहुँदा कलबाट पानी भरेर बाल्टिनले पानी छ्याप्नुको विकल्प नरहेको बताउनुभयो ।

रङ्गेली नगरपालिकाका निमित्त कार्यकारी प्रमुख बब्लुकुमार अग्रहरी नगरपालिकाले बारुणयन्त्र राख्ने सोच बनाएको बताउनुहुन्छ ।

प्रतिक्रिया