भारतीय पर्यटकका कारण म्याग्दी स्वाइनफ्लुको उच्च जोखिममा

इनेप्लिज २०७१ फागुन १५ गते ४:०८ मा प्रकाशित

swine_flue_115702164बेनी (म्याग्दी), १५ फागुन । भारतमा स्वाइनफ्लुको प्रकोप भइरहेका बेला मुक्तिनाथ दर्शनका लागि आउने भारतीय पर्यटकका कारण म्याग्दी पनि स्वाइनफ्लुको उच्च जोखिममा रहेको छ ।

भारतबाट भित्रिएको स्वाइनफ्लु देशका विभिन्न स्थानमा सङ्क्रमण देखिएपछि म्याग्दीमा पनि उच्च सतर्कता अपनाइएको छ । बिहीबार जिल्ला प्रशासनमा बसेको सरोकारवाला निकायको बैठकले जिल्ला भित्रने सवारीसाधन, प्रवासबाट घर फर्कनेबाट सङ्क्रमण फैलनसक्नेप्रति सचेत रहँदै प्रचारप्रसारलाई तीव्रता दिने निर्णय गरेको छ ।

मुक्तिनाथ दर्शनका लागि भारतबाट धेरै पर्यटक आउने गरेकाले सङ्क्रमणका बारेमा जानकारी गराउनुपर्ने प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताउनुभयो । उहाँले भारतका साथै विभिन्न देशबाट घर बिदामा आउनेलाई समेत आफ्नो स्वास्थ्य परीक्षण गर्न सार्वजनिक सूचना जारी गरिएको बताउनुभयो ।

सरोकारवाला निकायको बैठकमा जिल्ला अस्पतालकी चिकित्सक सुधा त्रिपाठीले रुघाखोकी जस्तै सम्बन्धित बिरामीले खोक्दा, हाच्छिउँ गर्दा र बोल्दा मुखबाट निस्कने पानीका स–साना कणलगायतको माध्यमबाट छिट्टै एकअर्कामा फैलिन सक्ने भएकाले त्यसतर्फ ध्यान दिनु जरुरी छ भन्नुभयो ।

बैठकले सामाजिक संस्था, विद्यालय तथा अन्य सरकारी तथा गैरसरकारी कार्यालयसँग समेत साझेदारी गरी जनचेतनामूलक कार्यक्रमलाई अगाडि बढाउने निर्णय गरेको छ । जनस्वास्थ्यका हिसाबले म्याग्दी उच्च जोखिममा रहेकाले जनचेतनामूलक कार्यलाई प्रभावकारी बनाउनुपर्नेमा सरोकारवालाको जोड थियो । जिल्लामा उपस्वास्थ्य २३, स्वास्थ्य १६, प्राथमिक स्वास्थ्य केन्द्र एक र जिल्ला अस्पतालका साथै अन्य सार्वजनिक स्थानमा समेत सङ्क्रमणबाट बच्न र पहिचान गर्ने उपायका बारेमा जानकारी गराउने निर्णयसमेत बैठकले गरेको छ ।

प्रतिक्रिया