एकै गाउँका ८० प्रतिशत बालबालिका विद्यालय जाँदैनन्

इनेप्लिज २०७१ फागुन १२ गते ११:०८ मा प्रकाशित

Nibugau-Ni.Ma.Vi._03मेलम्ची, १२ फागुन । सिन्धुपाल्चोक जिल्लाको पश्चिमी गाउँ फटकशीला तीनघरेकी अस्मिता दनुवार विद्यालय नै जाँदिनन् । घर नजिकै दुईवटा विद्यालय छन् तैपनि उनी विद्यालयमा पुगेकी छैनन् ।

गाउँका धेरैजसो बालबालिका विद्यालय नजाने भएकाले आफू पनि नगएको उनी बताउँछिन् ।

तिमी भविष्यमा के बन्ने भन्ने प्रश्नको उत्तर उनले दिइनन् । अस्मिता आफू भविष्यमा के बन्नेबारे आफैं अनभिज्ञ रहेको पाइन्छ । कक्षा १ मा गई भर्ना भएर पढ्ने उमेर पनि बढी भएकाले उनी अब काठमाडौँ गएर काम गर्ने सुरमा छिन् ।

आफ्नो परिवारबाट कोही पनि विद्यालय नगएको र उनीहरु नगएपछि आफूलाई पनि विद्यालय जाने रहर नपलाएको दनुवारले सिधै भनिन् । यो गाउँबाट विद्यालय नजाने अस्मितामात्रै हैन । फटकशीलामा रहेका २६३ धुरीका अधिकांश दुनुवार बालबालिका विद्यालय जाँदैनन् ।

तीनघरेमा रहेका ३७ घरधुरीबाट पढ्ने उमेरका २० प्रतिशतमात्र विद्यालय जाने गरेका छन् । घरबाट आफ्ना बालबालिकालाई विद्यालय पठाए पनि अधिकांश बीचबाटैबाट फर्किने गरेको अभिभावक बताउँछन् । अभिभावक सानो खड्गबहादुर दनुवार बालबालिका परिवारको आर्थिक अवस्था न्यून भएकै कारण विद्यालय नगएको बताउनुहुन्छ ।

“आम्दानीको स्रोत केही छैन, छोराछोरीलाई विद्यालय पठाउँदा कापी, कलम किन्ने पैसा यहाँका अभिभावकसँग हुँदैन,” उहाँले भन्नुभयो – “कतिपय अभिभावकले विद्यालय भर्ना गराएका छोराछोरी पनि बीचबाटो बाटै छोडेर आउने गरेका छन् ।” उहाँले यहाँका बालबालिका आमाबाबुले भनेको नमान्ने भएकाले विद्यालय नजाने गरेको बताउनुभयो ।

बालबालिका विद्यालयभन्दा पनि वनपाखा र घरमै रमाउने गरेकाले यस्तो समस्या आएको हो । अभिभावक सानो खड्गबहादुर गाउँमा ८० प्रतिशत बालबालिका विद्यालय नजाने गरेको बताउनुहुन्छ ।
“सिङ्गै टोलबाट १२÷१३ जनामात्रै पढ्न जाने गरेका छन्,” उहाँले भन्नुभयो – “कोही गोठालो, त कोही घाँस काट्न जान्छन् ।”

उहाँले यहाँका बालबालिकामा विद्यालय गएर पढ्नुपर्छ भन्ने चेतना नभएको बताउनुभयो । अभिभावकले बालबालिकालाई विद्यालय पठाउने प्रयत्न भने नगरेका हैनन् । गाउँका हर्कबहादुर दनुवार बालबालिकालाई जति कर गरे पनि विद्यालय पठाउन नसकेको दुखेसो पोख्नुहुन्छ ।

“हामीले बेलैमा स्कुल जाओ भन्ने गरेका छौँ,” उहाँ भन्नुहुन्छ – “जानै मान्दैनन्, विद्यालयभन्दा गोठालो जान रहर गर्छन् ! हामीले के गर्नु ।” पहिलादेखि नै यो गाउँका बालबालिका विद्यालय नजाने गरेकाले अहिलेसम्म शिक्षा आर्जन गर्नुपर्छ भन्ने कसैमा चेतना नै छैन ।

प्रतिक्रिया