बलात्कार र महिला हिंसा रोक्न वृत्तचित्र

इनेप्लिज २०७१ फागुन ११ गते २:५० मा प्रकाशित

balatkarगोरखाबजार, ११ फागुन । गोरखा जिल्लामा बढ्दै गएको बलात्कारका घटना, महिला हिंसा र आत्माहत्याका घटना रोक्नका लागि वृत्तचित्र निर्माण गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाले निर्माण गरेको ‘पश्चाताप’ नामक वृत्तचित्रमा जिप्रकामा कार्यरत प्रहरी, पत्रकार किशोरजङ्ग थापा र नरहरि सापकोटाको मुख्य भूमिका रहेको छ । ५० मिनेट लामो उक्त वृत्तचित्रको क्षेत्रीय प्रहरी कार्यालय कास्की पोखराका प्रमुख प्रहरी नायब महानिरीक्षक पङ्कज श्रेष्ठले आइतबार शुभारम्भ गर्नुभयो ।

बलात्कार, महिला हिंसा, छुवाछूत प्रथा, आत्महत्याविरुद्ध गाउँले परिवेशमा आधारित वृत्तचित्र अवलोकनपछि महानिरीक्षक श्रेष्ठले भन्नुभयो–“गाउँगाउँका स्थानीय बासिन्दालाई वृत्तचित्र देखाउन सकियो भने चेतनास्तर माथि उठ्नेछ र घरेलु हिंसाका घटनाहरुमा न्यूनीकरण हुन्छ भन्ने विश्वास गरेको छुँ ।”

गोरखाका प्रहरी प्रमुख रमेश थापाको लेखन तथा पत्रकार सापकोटाको निर्देशनमा बनाइएको वृत्तचित्र जिप्रका गोरखाको आन्तरिक स्रोतबाट निर्माण गरिएको हो । “गोरखाको दुई नगरपालिकाका विभिन्न वडामा र ६० गाविसमा वृत्तचित्र प्रदर्शन गर्नेछौँ”–प्रहरी प्रमुख रमेश थापाले भन्नुभयो–“आपराधिक घटना न्यूनीकरणका लागि शिक्षा, सन्देश दिने खालको वृत्तचित्र बनाएका हौँ ।”

प्रतिक्रिया