कृषि क्षेत्रको विकास बिना देश विकास हुँदैनः अध्यक्ष पाण्डे

इनेप्लिज २०७१ फागुन ९ गते १५:२१ मा प्रकाशित

indexइलाम, ९ फागुन । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष प्रदीपजंग पाण्डेले कृषि क्षेत्रको विकास बिना देशको आर्थिक विकास नहुने बताउनुभएको छ ।

इलाम उद्योग वाणिज्य सङ्घको एघारौँ वार्षिक साधारणसभाको आज उद्घाटन कार्यक्रममा बोल्दै उहाँले कृषिको व्यवसायिकरणले मात्र देश आर्थिक समृद्धितर्फ उन्मुख हुने बताउनुभयो ।

मुलुकमा विद्यमान विद्युत्भार कटौती समस्यालाई आगामी वर्षमा अन्त्य गर्न आफूले पहल गरेको बताउँदै दैनिक १४ घन्टाबाट घटाएर तीन घन्टामा झार्न सोहीअनुरुप महासङ्घले काम गरिरहेको बताउनुभयो ।

उहाँले विगतको तुलनामा बन्द, हडतालका घटना कम हुँदै गएकाले बन्द हडताल सदाका लागि बन्द गर्दै बन्दको विकल्प खोज्न सबै पक्षसँग आग्रह गर्नुभयो ।

मध्यपहाडी लोकमार्गलाई चाँडै सम्पन्न गर्ने र बुढीगण्डकी आयोजना सञ्चालन गर्ने हो भने मुलुकले अर्थतन्त्रमा ठूलो फड्को मार्ने बताउँदै उहाँले लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।

अलैँची, अदुवा, चिया क्षेत्रको विकासका लागि महासङ्घले विशेष पहल गरिरहेको बताउँदै उहाँले राज्यले कृषि क्षेत्रको विकासका लागि अनुदानका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।

साधारणसभाको अवसरमा इलामका चार जना व्यवसायीलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा व्यवसायी सुरेश मास्के, प्रल्हाद चौधरी, केशरबहादुर खड्गी र देवेन्द्र शङ्कर रहेका छन् ।

इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुशीला सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सङ्घका कोषाध्यक्ष आनन्द कट्टेलले आगामी आर्थिक वर्षका लागि रु ७० लाख ४६ हजार ८२८ बराबरको अनुमानित आयव्यय विवरण प्रस्तुत गर्नुभयो ।

प्रतिक्रिया