अब संविधान ल्याउन धेरै समय लाग्दैन: प्रधानमन्त्री कोइराला

इनेप्लिज २०७१ फागुन ८ गते १४:५१ मा प्रकाशित

PMकाठमाडौँ, ८ फागुन । प्रधानमन्त्री सुशील कोइरालाले सङ्घीय गणतन्त्र तथा लोकतन्त्रको मूल्य मान्यतासहितको संविधान ल्याउन अव धेरै दिन नलाग्ने बताउनुभएको छ ।

गणेशमान सिंह अध्ययन प्रतिष्ठानद्वारा आज यहाँ आयोजित ‘लोकतन्त्र, लोकतान्त्रिक आन्दोलन र गणेशमान’ विषयक प्रवचन कार्यक्रममा उहाँले भन्नुभयो, “त्यसका लागि दलहरुसँग वार्ता, सम्वाद, सहमति र एकताद्वारा नै संविधानका अन्तरबस्तुमा सहमति खोज्नुपर्छ भनेर दृढ छौँ ।”

हामीले सदाशयता देखाइरहेका छौँ, अब संविधान ल्याउन धेरै लाग्दैन, प्रजातन्त्रबादी सधैँ विजयी भएका छन्, हुन्छन्, प्रजातन्त्रको मूल्य मान्यतामा कसैसँग सम्झौता हुनसक्दैन, प्रधानमन्त्री कोइरालाले भन्नुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, “लोकतान्त्रिक संविधान जारी गर्ने काममा फेल भएका छैनौं, हुँदैनांै पनि, लोकतान्त्रिक संविधान ल्याएरै छाड्नेछाँै, जनताको शीर निहँु¥याउने काम आफूहरुबाट हुनेछैन ।”

मुलुकको विकास र समृद्धिका लागि शान्ति र अमनचयन आवश्यक भएको बताउँदै उहाँले भन्नुभयो, आन्दोलन, डर, धम्की होइन शान्तिका माध्यमबाट विकासतर्फ उन्मुख गराउने काममा अब सवैपक्ष एकाकार हुन आवश्यक छ ।

प्रजातान्त्रिक आन्दोलनका लौहपुरुष गणेशमान सिंहबाट त्याग र बलिदानीको ठूलो प्रेरणा लिनुपर्ने आवश्यकतामा प्रधानमन्त्री कोइरालाले जोड दिनुभयो ।

नेकपा—एमालेका अध्यक्ष केपी ओलीले बहुदलीय प्रतिस्पर्धाका आधारमा जनताको अभिमत प्राप्त गर्ने लोकतान्त्रिक मूल्य मान्यता विपरित सिद्वान्तका नाममा भित्रिएको सन्कि प्रवृत्तिबाट मुलुक शिकार बनिरहेको बताउनुभयो ।

लोकतन्त्रप्रति दृढ छौं भन्ने अनि दुई तिहाइलाई दम्भ देख्ने प्रवृत्ति कानुन, नियम, नियमावली र संविधानअनुसार अघि बढ्न खोज्दा त्यसको विरोध गर्ने कस्तो खाले लोकतन्त्रको कल्पना गरिएको हो भनी उहाँले प्रश्न गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, देश टुक्र्याउन खोज्नेसँग संविधान लेख्ने विषयमा कुनैपनि लेनदेन हुँदैन, वार्ता मिलेको छैन, राष्ट्रिय हित र चासोको विषयमा लेनदेन हुनसक्दैन, संविधान नबनाउन खोज्ने कुरालाई अस्विकार गरिन्छ ।

आधुनिक लोकतान्त्रिक आन्दोलनको अभिन्न र असाधारण नायक व्यक्तित्वको रुपमा गणेशमान सिंह नेपालको राजनीतिमा स्थापित रहनुभएको बताउँदै उहाँले स्व. सिंहको विचार, हिम्मत, लोकतन्त्रप्रतिको विश्वासले आफूलाई जेलभित्र र बाहिरसमेत लोकतान्त्रिक आन्दोलनमा लाग्न प्रेरणा प्राप्त भएको स्मरण गर्नुभयो ।

नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले समावेशी लोकतन्त्रको पक्षपोषण गर्ने तथा भष्ट्रचार विरुद्धमा प्रखररुपमा आवाज उठाउनुहुने स्व गणेशमान सिंहको सपनालाई साकार तुल्याउन यथाशिघ्र लोकतान्त्रिक संविधान जारी गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, सहमतिका लागि केही समय पर्खने भनेका छाँै, अब त्यो समयावधिभित्र सहमति हुनसकेन भने मुलुक प्रकृयाबाट संविधान जारी गर्ने चरणमा प्रवेश गर्नेछ ।

पूर्वमन्त्री एवम् संविधानविद् निलाम्बर आचार्यले २०४६ सालको आन्दोलनको विपरित पछिल्लो जनआन्दोलनलाई जवर्जस्तीरुपमा उभ्याउन सुझाउ दिँदै संविधानसभाबाट संविधान जारी गर्न राजनीतिक नेतृत्व सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।

भारतीय जनता पार्टीका नेता भगतसिंह पन्जियारले लोकतन्त्रको आन्दोलनमा त्याग र बलिदान दिनुभएका स्व गणेशमानको योगदान नेपालमा मात्र सीमित नभएर हिन्दुस्तानमा समेत रहेको बताउनुभयो ।

नेपालले संविधान प्राप्त गरेपछि लोकतन्त्रले स्थायित्व प्राप्त गर्ने र छिटो समृद्धि हासिल हुने भएकाले यसपटक आफू नेपाल आउँदा आफूलाई कुनै चिज माग्न नभएर पशुपतिनाथसँग नेपाललाई छिटो संविधान बनाइदिनुस् भनी प्रार्थना गरेको प्रसङग उहाँले उल्लेख गर्नुभयो ।

आयोजक संस्थाका अध्यक्ष एवम् सभासद् नविन्द्रराज जोशीले नेपाली राजनीतिक क्षेत्रका शिखरपुरुष गणेशमान सिंहले जीवनभर जनताको अधिकार र मुलुकको समृद्धिका लागि चिन्तन गरिरहेको बताउनुभयो ।

विसं २०५२ सालमा स्थापना भएको सो प्रतिष्ठानले स्व. सिंहले प्रजातन्त्रका लागि गर्नुभएको योगदान, उहाँको व्यक्तित्व, साहस, त्याग, बलिदानका बारेमा जानकारी दिन विभिन्न खालका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

नेपालको राजनीतिमा पदभन्दा जनताको मत ठूलो हुन्छ भन्ने मान्यतामा दृढ देखिनुभएका स्व. गणेशमानलाई वीरपुरुष, वरिष्ठ प्रजातन्त्रबादी नेता, जनआन्दोलनका सर्वाेच्च कमाण्डर, सर्वाेच्च नेता, लौहपुरुष आदि नामले सम्वोधन गरिन्थ्यो । विसं १९७२ साल कात्तिकमा जन्मनुभएका सिंहको २०५४ साल असोज २ गते निधन भएको थियो । उहाँले आफूलाई प्रस्ताव गरिएको प्रधानमन्त्री पद त्याग गरेर उदाहरण प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया