नेपाली सिनेमाको अमेरिकी बजार
वर्षेनी बग्रेल्ती उत्पादन भए पनि नेपाली सिनेमाले आफ्नो स्तर उकास्न सकिरहेको छैन । हजारौँको संख्यामा पुगिसक्दा पनि अन्तर्राष्ट्रिय स्तरको एउटै सिनेमा बनेको पाइँदैन । हिन्दी सिनेमाको सिको गरेर सुरु भएको र अध्यावधि सोही परम्परा धानिरहेको नेपाली सिनेमा हिन्दी सिनेमाको तुलनामा समेत कताकता पछाडि छ । यसको कारण के हो हामी किन पछाडि परिरहेका छौँ ? सिनेमा व्यवसायमा लागि परेकाहरुले सोच्नुपर्ने विषय हो यो । सोच, सीप, श्रम वा कलाकारिताको कमी हो अथवा यसका अन्य कारण पनि छन् ? निदान र उपचारको खाँचो भइसकेको छ । पछिल्लो समयका केही नेपाली सिनेमालाई हेर्दा स्थिति साह्रै निरासाजनक पनि छैन ।
नयाँ आएका सिनेकर्मीहरुले सम्भावनाका लक्षणहरु देखाएका छन् । प्राविधिक पक्षमा राम्रो प्रगति भएको देखिन्छ । कलाकारिताको फाँटमा पनि आसलाग्दा अनुहारहरु देखापरेका छन् । अधिकांश सिनेमाहरु औसतको स्तरबाट झनझन तल झर्दै गइरहेको अवस्थामा पनि एक दुई सिनेमा र सिनेकर्मीको स्तरभने माथि उठेको पाइन्छ । तिनले पाएको व्यावसायिक सफलताले पनि केही हौसाएकै छ । केही नयाँ गर्ने सोच र त्यसका लागि परिश्रम गर्ने प्रवृत्ति देखापर्न थालेको छ । आजको नेपाली सिनेमा टड्कारो रूपमा नै राम्रा र नराम्रा दुई पाटामा छुट्टिन थालेका छन् । यतिखेर खाँचो छ – राम्राहरुको संरक्षण र सम्वर्द्धन । अझ राम्रो गर्नका लागि व्यवस्थापन । यहाँनेर राम्रो गर्न खोज्ने सिनेकर्मीहरु एकमत छन् कि हाम्रो व्यवस्थापन पक्ष फितलो छ । सिने व्यवसायका सबै पाटाहरुमा व्यवस्थापनको कमी छ । निर्माण, वितरण र प्रदर्शन तीनैवटा पक्षमा हाम्रो सिनेकर्म कमजोर छ. राम्रो निर्माण गर्नेहरुले पनि राम्रो व्यवस्थापन गर्न सकिरहेका छैनन् ।
बलियो बजार व्यवस्था नभएसम्म बलियो आर्थिक उपलब्धि हुन सक्दैन । बलियो आर्थिक उपलब्धि हुने सम्भावना नभएसम्म बलियो आर्थिक श्रोत जुट्दैन । यही नै त्यो आधारभूत कुरा हो जसको अभावमा राम्रो गर्न खोज्नेहरुले पनि राम्रो प्रतिफल दिन सकिरहेका छैनन् । मुलुकभित्रको सानो बजारले मात्रै नेपाली सिनेमालाई उकास्न सक्दैन । विश्व बजारमा नेपाली सिनेमालाई पुर्याउनै पर्छ । कम्तीमा संसारभरि छरिएका नेपाली भाषीहरुसम्म मात्रै भए पनि नेपाली सिनेमाको पहुँच पुर्याउनु पर्छ । यसका लागि गतिलो उत्पादन, गतिलो प्रवर्द्धन र गतिलो प्रदर्शन एकमात्र सूत्र हो । यही निष्कर्ष थियो – केही समय अघि डयालस आउनुभएका नेपाली सिनेकर्मी भाष्करढुंगानाको I
“राम्रो विषयवस्तुमा राम्रो ढंगले सिनेमा बनाउन राम्रो लगानी चाहिन्छ । र, त्यो लगानी अन्तर्राष्ट्रिय बजारबाट मात्र उठ्न सम्भव छ । त्यसका लागि प्रतिस्पर्धात्मक रूपमा दर्शकलाई आकर्षित गर्न सक्ने सिनेमा बन्नुपर्छ । योजनाबद्ध रूपमा प्रचारप्रसार गरिनुपर्छ । र, उच्च प्रविधि सम्पन्न आधुनिक प्रेक्षालयमा प्रदर्शन गरिनुपर्छ ।” यसका लागि बजार खोज्दै र व्यवस्थापनको तयारी गर्दै भाष्कर ढुंगाना दुई साता अमेरिका घुम्नुभयो । उहाँले यस सन्दर्भमा अमेरिकाका विभिन्न राज्यमा रहेका नेपालीहरूलाई भेट्नुभयो र संभाव्यता अध्ययन गर्नुभयो । भ्रमणको अन्त्यमा डयालस, टेक्सस आइपुग्दा उहाँ निकै उत्साहित हुनुहुन्थ्यो ।
डयालसबाट फर्किंदा उहाँले थप ऊर्जा संग्रहित गरेको देखिन्थ्यो । डयालसमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा उहाँले स्थानीय व्यवसायी एवम् नेपाली समाजका अगुवाहरुसँग विचार विमर्श गर्नुभयो । सबैले उहाँलाई सक्दो सहयोग गर्ने आश्वासनमात्र दिएनन्, आफूहरु संलग्न हुने भर पनि दिए । नेपाली समाज टेक्ससका पूर्व अध्यक्षहरु गौरी जोशी, वैकुण्ठ थापा, राम सी पोखरेल, वेस्ट टेक्ससका हरिबोल भण्डारीले भाष्कर ढुंगानालाई परिपक्व योजना तयार पार्न अनुरोध गर्दै आफूहरु लगानी गर्नसमेत इच्छुक रहेको बताए । कार्यक्रममा अमृत सापकोटा, भरत अर्याल, नेपाल अमेरिका पत्रकार संघका (नेजा) क्षेत्रिय संयोजक विकासराज न्यौपाने लगायत नेपाली सिने क्षेत्रका मुकुन्द ढुंगाना र शैलेश आचार्यको समेत उपस्थिति थियो । व्यवस्थित रूपमा अमेरिकाव्यापी नेपाली सिनेमाको प्रदर्शन प्रबन्ध मिलाउने तयारी गर्ने निर्णय गरेको सो जमघटमा प्रयोगका रूपमा भाष्कर ढुंगाना द्वारा निर्देशित ‘सुन्तली’को प्रदर्शन गर्ने सल्लाह भयो । प्रियंका कार्की, सूर्यमाला खनाल, अर्पण थापा, कर्मा, प्रमोद अग्रहरि अभिनित सुन्तली ११० मिनेट लामो नेपाली कथानक चलचित्र हो , जसमा अंग्रेजी सव टाइटलसमेत राखिएको छ ।
न्यूयोर्कमा सिटी काउन्सिल जिल्ला २५ का उम्मेदवार यी(एन्डी)चेनको समर्थनमा कार्यक्रम हुने
अमेरिकामा कोरोना संक्रमित र मृत्यु हुनेको संख्यामा वृद्धि हुदै ,चार जनामा एक जना वयस्कलाई पूर्ण खोप
गैरआवासीय नेपाली संघको पौष मसान्त सम्मको हिसाब किताबको बिबरण सार्वजनिक
बाइडनले सामूहिक गोलीबारी पछि दबाब बढ्दै जाँदा सीमित बन्दूक प्रतिबन्धको घोषणा
टेक्ससको ब्रायनमा गोलीबारी हुँदा १ जनाको मृत्यु,५ जना घाइते
प्रतिक्रिया