संविधानका विवादित विषयमा चाँडै सहमति जुट्छ: उपप्रम गौतम

इनेप्लिज २०७१ फागुन ५ गते ११:२६ मा प्रकाशित

Bamdev_20140227031052काठमाडौँ, ५ फागुन । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले चार÷पाँच महिनाभित्र संविधानका विवादित विषयमा सहमति जुट्ने विश्वास व्यक्त गर्नुभएको छ ।

महाशिवरात्रिका अवसरमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले आज यहाँ आयोजना गरेको ‘महापरिवर्तनका लागि परमात्म शक्ति’ विषयक प्रवचनको समापन समारोहमा उहाँले मुलुकलाई शान्ति र समृद्धितर्फ लैजान सहमति र सहकार्यबाटै संविधान लेखनको काम पूरा गर्ने बताउनुभयो ।

उपप्रधानमन्त्री गौतमले भन्नुभयो, “नेपाल विभिन्न जातजाति, भाषाभाषी, धर्म मान्नेहरुको बसोवास भएको देश हो, यस्तो देशमा शान्ति, समृद्धि र सद्भावको विकास गर्न शान्तिपूर्ण तरिकाले सहमति र वार्ताका आधारमा काम गर्नुपर्छ ।”

उहाँले धार्मिक क्षेत्रमा लागेका व्यक्तिहरुले पनि आन्दोलन, बन्द र हडतालभन्दा पनि सहमतिबाट संविधान जारी गर्न लगाउन शान्तिपूर्ण दबाब दिनुपर्ने बताउनुभयो ।

ब्रह्मकुमारी राजयोग दिदीले समाजमा एकता र शान्ति बनाइराख्न भगवान् शिवको स्मृति जरुरी भएको बताउनुभयो ।

यसअघि, केन्द्रले उपत्यकाका विभिन्न छ ठाउँबाट शान्ति पदयात्रा निकालेको थियो ।

केन्द्रको केन्द्रीय कार्यालय ठमेलबाट निकालिएको पदयात्रा यात्रा क्षेत्रपाटी, खुसिबुँ, असन, जमल, घन्टाघर हुँदै कमलादीमा आएर समापन भएको थियो । पदयात्राको शुभारम्भ गर्दै कानुनमन्त्री नरहरि आचार्यले गर्नुभएको थियो ।
यसैगरी तीनकुने, चाबहिल, सातदोबाटो, रानीबारी र कलङ्कीबाट पदयात्रा निकालिएको थियो ।

प्रतिक्रिया