संविधान लेखन प्रक्रिया रोकिंदैनः एमाले वरिष्ठ नेता खनाल

इनेप्लिज २०७१ माघ १४ गते ६:४१ मा प्रकाशित

jhalanath-khanalकाठमाडौँ, १४ माघ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खानालले संविधानसभाले आगाडि बढाएको संविधान लेखनको प्रक्रिया कुनै पनि सर्तमा नरोकिने बताउनुभएको छ ।

डल्लुस्थित उहाँकै निवासमा आज संविधान लेखनका विषयमा रिपोटर्स क्लब नेपालको ज्ञापनपत्र बुझ्दै नेता खनालले संविधान लेखनका विषयमा देखिएका विवादलाई सहमतिबाटै समाधान गर्न सकिने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “आम जनता संविधान ल्याउनेको पक्षमा रहेका छन्, संविधानसभाले चालेको निर्णय सही छ, कुनै पनि हालतमा यो फिर्ता हुँदैन ।”

पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका पार्टीका पूर्व अध्यक्ष खनालले विपक्षीहरु चालु प्रक्रियामा आउनुपर्नेमा जोड दिँदै भन्नुभयो, “विपक्षीहरु यही निर्णयमा आउनुपर्छ, यदि उहाँहरु आउनु भएन भने, उहाँहरुको राजनीतिक औचित्यमाथि नै जनताले प्रश्न उठाउने छन् ।”

उहाँले विपक्षीहरुले गर्ने भनेको आन्दोलनको कुनै औचित्य नभएको उल्लेख गर्नुभयो । नेता खनालले भन्नुभयो, “कुनै राजनीतिक दलले चाहँदैमा आन्दोलन हुँदैन । यस्तो आन्दोलनमा जनताको साथ सहयोग पनि रहँदैन ।”

उहाँले संविधान नबन्दासम्म सरकार परिवर्तनको कुनै कुरा नै नहुने स्पष्ट पार्दै भन्नुभयो, “एमालेले सरकारका विषयमा सोचेको छैन, अहिले हामीले सत्ता देखेका पनि छैनौँ, संविधान मात्र देखेका छौँ ।”
नेता खनालले नेपालीहरुको आत्मनिर्णयको अधिकारलाई अन्तर्राष्ट्रिय समुदायले हस्तक्षेप नगर्न पनि आग्रह गर्नुभयो ।

प्रतिक्रिया