प्रधानमन्त्रीद्वारा भारत सरकार र जनताप्रति हार्दिक बधाइ

इनेप्लिज २०७१ माघ १२ गते ४:३५ मा प्रकाशित

sushil-koiralaकाठमाडौँ, १२ माघ । प्रधानमन्त्री सुशील कोइरालाले भारतको ६६ औँ गणतन्त्र दिवसका अवसरमा नेपाल सरकार र नेपाली जनताका तर्फबाट त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदी तथा उहाँमार्फत भारतीय नागरिकहरूप्रति हार्दिक बधाइ ज्ञापन गर्नुभएको छ ।

प्रधानमन्त्री कोइरालाले आफ्ना भारतीय समकक्षी श्री मोदीलाई आज एक बधाइ सन्देश पठाउँदै भारतले विविध विधामा हासिल गरेको अभूतपूर्व प्रगतिको नेपालीले गौरवका साथ कदर गरेका र गणतन्त्र दिवस मनाइरहेका भारतीय नागरिकहरूको खुशियालीमा साथ दिएका बताउनुभएको छ ।

नेपाल र भारतबीचको शताब्दीऔँ पुरानो मैत्री सम्बन्ध समान सामाजिक–आर्थिक मान्यता एवम् समझदारी, सद्भाव र सहयोगमा आधारित रहेका बताउँदै सन्देशमा उहाँले समयको प्रवाहसँगै बहुआयामिक द्विपक्षीय सम्बन्ध पारस्परिक लाभका निम्ति निरन्तर प्रगाढ हुँदै गएको उल्लेख गर्नुभएको छ ।

गत साउनमा प्रधानमन्त्री मोदीले गर्नुभएको नेपालको औपचारिक भ्रमण तथा त्यसपछि  मङ्सिरमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको १८ औँ शिखर सम्मेलनका क्रममा गर्नुभएको भ्रमणको स्मरण गर्दै प्रधानमन्त्री कोइरालाले ती भ्रमणबाट नेपाल र भारतबीचको गहन सहकार्य एवम् सहयोगका निम्ति मार्ग प्रशस्त भएको बताउनु भएको छ । उहाँले भारतीय प्रधानमन्त्रीबाट भएका ती भ्रमणबाट नेपाल–भारत सम्बन्धमा अपूर्व प्रगति प्रमाणित गरेको जनाउनुभएको छ ।

“प्रजातान्त्रिक सङ्क्रमणको अन्तिम चरणमा नेपाल पुगेको तथा संविधानसभाबाटै चाँडोभन्दा चाँडो प्रजातान्त्रिक संविधान जारी गरेर विगतमा भएका सङ्घर्षका उपलब्धिलाई संस्थागत गर्दै शान्त, स्थिर, प्रजातान्त्रिक एवम् समृद्ध नेपाल निर्माणको आधारस्तम्भ तयार हुनेमा हामी विश्वस्त छौँ”– प्रधानमन्त्री कोइरालाले सन्देशमा भन्नुभएको छ ।

प्रजातान्त्रिक व्यवस्था तथा सामाजिक–आर्थिक रुपान्तरणका निम्ति भारतको भरोसा तथा निरन्तर सद्भाव एवम् समर्थन नेपालले अपेक्षा गरेको बताउँदै उहाँले प्रधानमन्त्री मोदीको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै भारतीय जनताको शान्ति, प्रगति एवम् समृद्धिको कामना गर्नुभएको छ ।

प्रतिक्रिया