राष्ट्रपतिद्वारा वसन्तश्रवण

इनेप्लिज २०७१ माघ ११ गते ३:५९ मा प्रकाशित

Rambaranकाठमाडौँ, ११ माघ । राष्ट्रपति डा रामवरण यादवले वसन्त पञ्चमीका उपलक्ष्यमा स्थानीय वसन्तपुर दरबारस्थित हनुमानढोका नासलचोकमा आज बिहान वसन्तश्रवण गर्नुभयो ।

वसन्त ऋतुको आगमनसँगै सरस्वती महात्म्य ‘वसन्तश्रवण’ गर्दा जिब्रोमा विद्याकी अधिष्ठात्री सरस्वतीको बास हुन्छ भन्ने धार्मिक विश्वास  छ । परापूर्वकालदेखि वसन्तपञ्चमीका दिन राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखलगायत नेपाल सरकारका विशिष्ट व्यक्तिले वसन्तश्रवण गर्ने परम्परा छ । श्रीमद्भागवत् महापुराणमा राधा र उनका सखीहरूले वसन्त ऋतुको आगमनको स्वागत गर्दै वसन्तराग गाएर कृष्णको आराधना गरेको प्रसङ्ग उल्लेख छ ।

त्यस अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, संविधानसभाध्यक्ष, मन्त्रिगण, संवैधानिक अङ्गका प्रमुख, नेपाल सरकारका राजपत्राङ्कित विशिष्ट श्रेणीका पदाधिकारी र चार वटै सुरक्षा निकायका प्रमुखको उपस्थिति थियो ।

नेपाल वेदविद्याश्रमका गुरु विष्णुप्रसाद पोखरेलले वसन्तवाचन गर्नाका साथै विशिष्ट महानुभावलाई टीका तथा प्रसाद प्रदान गर्नुभएको थियो । समारोहमा नेपाली सेनाको टोलीले राष्ट्रपति सम्मान तथा सम्मानगारत प्रस्तुत गरेको थियो । त्यसअघि गृह मन्त्रालयका सचिव सूर्य सिलवालले राष्ट्रपतिको स्वागत गर्नुभएको थियो ।

समारोहको व्यवस्थापन पुरातत्व विभाग, कौशितोषाखाना कार्यालय, हनुमानढोका दरबार हेरचाह अड्डा र गृह मन्त्रालयले गरेको हो ।

प्रतिक्रिया