ब्लड बैंक नहुँदा उपचारमा समस्या
जाजरकोट, ९ माघ । सुत्केरी भएको तीन दिन बितिसक्दा पनि सालनाल नखसेपछि जाजरकोटको अर्छानी– १ ठारीभौंताकी ३६ वर्षीया कमला बुढालाई दुर्ई दिन पैदलै बोकेर रुकुमको चौरजहारीस्थित मिसन अस्पतालमा पुर्याइयो ।
अस्पतालले उनको साल त निकाल्यो तर त्यतिबेलासम्म उनको शरीरबाट निकै रगत बगिसकेको थियो । रक्तअल्पताका कारण उनको स्वास्थ्य अवस्था निकै कमजोर भइसकेको थियो ।
अस्पतालमा ब्लड बैंक नहुँदा उनलाई रगत दिन समस्या पर्यो । तत्कालै राष्ट्रिय प्रजातन्त्रपार्टी नेपाल जाजरकोटको सहसचिव शोभा शाही खत्री, नेपाली सेनाको वीरदल गण गुल्म चौरजहारीमा कार्यरत सिपाही फिलीप तामाङ र अस्पतालका स्वास्थ्यकर्मी विशाल बुढामगरले रक्तदान गरेपछि उनको ज्यान जोगियो ।
उनी मात्र होइन उनी जस्ता सयौँ बिरामीलाई यसरी नै सेना, स्थानीय बासिन्दा र स्वास्थ्यकर्मीले रक्तदान गरेर ज्यान जोगाइ दिने गरेका छन् । जाजरकोट जिल्ला अस्पताल र चौरजहारीस्थित मिसन अस्पतालमा ब्लड बैंकको व्यवस्था नहुँदा यस क्षेत्रका रगत दिनुपर्ने बिरामी सधैँ समस्यामा पर्ने गरेका छन् ।
केहीले हारगुहार गरेर रगत पाए पनि धेरैले रगत अभावमै ज्यान गुमाउनु परेको स्थानीयवासीको भनाइ छ । पश्चिम रुकुमको मिसन अस्पतालले जाजरकोट, रुकुम र सल्यानका नागरिकलाई सेवा पुर्याउँदै आएको भए पनि उक्त अस्पतालमा ब्लड बैंकको व्यवस्था नहुँदा उपचार सेवा जटिल बन्दै गएको अस्पतालका प्रशासन प्रमुख दिलबहादुर गिरीले बताउनुभयो ।
पन्ध्र शय्याको जिल्ला अस्पताल जाजरकोटमा पनि न त सुरक्षित प्रसूति गृह छ, न ब्लड बैंक नै यसले गर्दा उपचारमा निकै समस्या परेको खलङ्गा– ३ का गोविन्द कार्की भन्नुहुन्छ ।
मिसन अस्पताल चौरजहारीका प्रमुख डा अभिजित मिश्रले सुत्केरी भएर अत्यधिक रक्तश्रावका कारण रक्तअल्पता भएका अथवा सामान्य शल्यक्रिया गर्नुपर्ने अवस्थामा ब्लड बैंक नहुँदा उपचारमा समस्या परेको बताउनुभयो ।
यो अस्पताल निजी रुपमा सञ्चालित सामुदायिक अस्पताल हो । यता जाजरकोट अस्पताललाई पनि ५० शय्याको बनाई सुविधायुक्त बनाउन आवश्यक पहल भइरहेको जानकारी अस्पताल विकास समितिका अध्यक्ष नगेन्द्र शाहले दिनुभयो ।
सरकारले सबै नागरिकलाई सहजरुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने बताउँदै आएको छ तर जाजरकोट, रुकुम, सल्यान जस्ता धेरै पहाडी तथा हिमाली जिल्लामा अझै पनि ब्लड बैंक नहुँदा उपचार सेवा प्रभावित बन्दै गएको छ ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया