एक महिनाको सेरोफेरोमा संविधान जारी हुनेः नेता खनाल

इनेप्लिज २०७१ माघ ७ गते १४:२९ मा प्रकाशित

jhalanath-khanalकाठमाडौँ, ७ माघ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले एक महिनाको सेरोफेरोभित्र संविधान आउने बताउनुभएको छ ।

संविधानसभाको आजको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेता खनालले माघ ८ मा संविधान ल्याउन नदिन अवरोध खडा भएकाले निर्धारित मितिमा पूर्णरुपले संविधान ल्याउने अवस्था नरहेको उल्लेख गर्नु भयो । नेता खनालले तर यही सेरोफेरोबाट प्रक्रियाको थालनी भएकाले महिनादिनभित्र संविधान आउने दृढता व्यक्त गर्नुभयो ।

उहाँले संविधान निर्माणको प्रक्रियामा केही पार्टीले अवरोध खडा गरिरहनुभएको छ भन्दै यो लोकतान्त्रिक मूल्यमान्यता, नेपाली जनताको आकांक्षा र राष्ट्रको आवश्यकताविपरीत छ भन्नुभयो ।

“प्रक्रियामा रहेका अवरोध विस्तारै पन्छाउँदै अगाडि बढेर संविधान ल्याउँछौ, माघ ८ भित्रबाटै संविधान निर्माणको प्रक्रिया थालनी हुन्छ,” नेता खनालले भन्नुभयो ।

एमाओवादी रुपान्तरण भएकै छैनः नेता देउवा

नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आफूले बन्द फिर्ता गर्नुस् सहमतिको लागि संविधानसभाको बैठक ६ देखि ८ गतेसम्मका लागि स्थगन गराउन आफूले प्रयास गर्ने बताएकोमा एकीकृत नेकपा –माआवादी०ले त्यसलाई नमानेको बताउनुभयो ।

नेकपा एमालेका शीर्ष नेता, संविधानसभाका अध्यक्षमाथि आक्रमण तथा कक्षमा भएको तोडफोडको घटनाबाट एमाओवादी रुपान्तरण भएको छैन भन्ने पुष्टि भएको उहाँले उल्लेख गर्नु भयो ।  “अवको एउटै समाधान छ, प्रक्रियामा जानुपर्‍यो उहाँहरुले प्रश्नावली बनाउन दिनुप¥यो र त्यसमा सहमति गरेर जानुपर्‍यो, हाम्रो कुरा मान नत्र भए सहमति हुन्न भन्ने कुरा उहाँहरुले त्याग्नुपर्‍यो,” नेता देउवाले भन्नुभयो ।

सङ्घीयताको विषयमा काँग्रेस एमालेले प्रस्तुत गरेको अवधारणा सबैभन्दा उत्तम भएको पनि नेता देउवाले दाबी गर्नुभयो ।

कार्यविधि अघि बढे संविधान आउँछः महामन्त्री सिटौला

काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले जुन कार्यविधि र प्रक्रिया निर्धारण गरेको छ त्यो अघि नबढाएसम्म संविधान बन्न सक्दैन विगत चार वर्षको संविधानसभा असफल हुनुमा पनि यही कुरा जिम्मेवार छ भन्नुभयो ।

“ जब यो कार्यविधि र प्रक्रिया अघि बढ्छ संविधान बन्छ जबसम्म त्यो अड्कन्छ संविधान बन्दैन, भोलिको दिनमा पनि यो प्रक्रिया अघि बढेन भने हाम्रो अत्यन्त ठूलो कमजोरी जनतासामु प्रमाणित हुन्छ माघ ८ गते त्यो कमजोरीबाट मुक्त हुनुपर्छ,” महामन्त्री सिटौलाले भन्नुभयो ।

प्रतिक्रिया