मास्कोमा नेपालसँग सहयोग तथा मैत्री समाजको विशेष सम्मेलन सुसम्पन्न

इनेप्लिज २०७१ माघ ५ गते १९:३९ मा प्रकाशित

1

कृष्णप्रकाश श्रेष्ठ,
मास्को, १७ जनवरी । मास्कोको वाहृय चक्रपथको छेवैमा रहेको नेपाली-भारतीय रेष्टुराँ ‘तुन्दुर’ को एक कक्षमा नेपालसँग सहयोग तथा मैत्री समाजको नामबाट पर्ुनर्गठनको सर्न्दर्भमा सम्मेलन सुसम्पन्न भयो । आजभन्दा ५१ वर्षअघि सन् १९६३ को २२ नभेम्बरका दिन स्थापित सोभियत-नेपाल मैत्री समाजको उत्तराधिकारीको रुसमा यस सामाजिक संस्थाको आधा शताब्दीको गौरवमय इतिहासलाई समयको गतिअनुसार नाम र काममा समेत परिवर्तन गर्दै रुस र नेपालका जनताहरुबीच सामाजिक, आर्थिक, सांस्कृतिक आदि विभिन्न क्षेत्रमा जनस्तरमा सहयोग विकासमा योगदान पुर्‍याउँदै आइरहेको मैत्री समाजको यस विशेष सम्मेलनमा रसियालीहरु तथा रुसमा बसोवास गरिरहेका नेपालीहरुको सक्रिय सहभागिता रहेको थियो ।

उल्लेखनीय के पनि छ भने गैरआवासीय नेपाली संघ रुस, विश्व नेपाली साहित्य महासंघ रुस शाखा, रूस सीआईएस नेपाल उद्योगवाणिज्य संघ, नेपाली नारी निकुञ्ज, नेपाली खेलकूद तथा संस्कृति समाज, नेपाली छात्रसंघ लगायत रुसमा नेपाली संघसंस्थाहरुका प्रतिनिधिहरुका साथै रियाजान नगरबाट नेपाली आदिकवि भानुभक्त आचार्य तथा महाकवि लक्ष्मीप्रसाद देवकोटाका काव्यकृतिहरुलाई रुसी भाषामा छन्दोबद्ध अनुवादमा सहयोग गर्ने रसियाली कवयित्री ल्युदमिला साल्तिकोभाको समेत सम्मेलनमा उपस्थिति रहेको थियो । सम्मेलनआरम्भ हुनु अगावै उनी लगायत २५-३० जना रसियालीहरु तथा नेपालीहरुले पनि मैत्री समाजको सदस्यताका लागि निवेदन दिएका थिए र सम्मेलनको क्रममा सर्वसम्मतिबाट उनीहरुको निवेदन स्वीकार गरी सदस्यता प्रदान गरिएको थियो ।

सम्मेलनको संचालनार्थ रुस-नेपाल मैत्री तथा सहयोग समाजका मानार्थ अध्यक्ष अलेक्सान्द्र सोलोभ्एभलाई सम्मेलनको सभापति तथा ताच्याना एगोरोभालाई सचिवमा निर्वाचन गरिएपश्चात् मुख्यतः मैत्री समाजको संगठनात्मक विषयमा ९ बूँदाहरुसहितको विषयसूची पारित गरियो । रुसका लागि महामहिम नेपाली राजदूत डा. रविमोहन सापकोटा अस्वस्थताको कारणले स्वयं उपस्थित हुन नसके तापनि सम्मेलनको सफलताका लागि महामहिमज्यूले शुभेच्छासन्देश पठाउनुभएको थियो ।

सभापतिको आशनबाट अलेक्सान्द्र सोलोभ्एभले रुसको सम्बन्धित सरकारी निकायमा सामाजिक संस्थाको रुसमा मैत्री समाजको पुनः पंजीकरणको क्रममा नयाँ विधानअनुसार संस्थाको नाममा केही हेरफेर भई ‘नेपालसंग सहयोग तथा मैत्री समाज’ भन्ने आधिकारिक नाम रहेको सूचित गरिएपश्चात् मैत्री समाजको कार्यकारिणी समितिमा सर्वसम्मतिबाट ११ जना सदस्यहरुको चयन सम्पन्न भयो र ती सदस्यहरुमध्येबाट सर्वसम्मतिद्वारा अध्यक्ष र २ जना उपाध्यक्षको चयन गरिनुका साथै कार्यकारी सचिवको पनि चयन गरिएको थियो । सम्मेलनले सर्वसम्मतिबाट निम्नानुसार कार्यकारिणी समिति निर्वाचित गरेको छ :

अध्यक्ष – मिखाइल सर्र्गेएभिच नेक्रासोभ,उपाध्यक्ष – भ्लादिमिर निकोलाएभिच फेदोतोभ,उपाध्यक्ष – डा. मणिराज पोखरेल
कार्यकारी सचिव – बोरिस भ्पादिमिरोभिच भेर्शिनिन

कार्यकारी सदस्यहरु – सपिला राजभण्डारी, नेल्ली पान्तेलेएभ्ना स्तेपानोभा, नाताल्या आन्द्रेएभ्ना बुबिना, डा. बद्री के.सी, सेर्गेइ निकोलाएभिच माक्सिमोभ, युल्दुज नुरिएभिच हाल्लिउल्लिन, भिक्टर पाभ्लोभिच जुएभ ।

नेपालसंग सहयोग तथा मैत्री समाजको संरक्षक समितिमा पूर्ववत् दुईपल्ट सोभियत संघवीरको उपाधि प्राप्त अन्तरिक्षयात्री भ्लादिमिर अलेक्सान्द्रोभिच जानिबेकोभ पुनः निर्वाचित हुनुभएको छ । रुसका लागि नेपाली राजदूत डा. रविमोहन सापकोटा तथा नेपालका लागि रुसी राजदूत सेर्गेइ भासिल्येभिच भेलिच्किन पदेन समस्य रहनुहुने यस समिीतिको उपाध्यक्षमा डा. ऋषिकान्त मण्डल निर्वाचित हुनुका साथै डा. उपेन्द्र महतो, जीवा लामिछाने, डा. भरतराज पौडेल, एभ्गेनी कोजोरेजोभ, निकोलाइ लिस्तोपादोभ प्रभृत्तिका साथै पुनः मानार्थ अध्यक्षमा निर्वाचित अलेक्सान्द्र सोलोभ्एभ समेत समाविष्ट छन् ।

ताच्याना भिक्टोरोभ्ना एगोरोभाको अध्यक्षतामा डा. एकनारायण चापागाईं र आल्ला नोभिकोभा सदस्य रहेको तीन सदस्यीय अडिट कमिटी पनि सर्वसम्मतिबाट निर्वाचित भएको छ ।

यसरी विभिन्न निकायहरुमा निर्वाचनपश्चात् पुनर्गठित नेपालसंग सहयोग तथा मैत्री समाजको निकटतम क्रियाकलापबारे पनि छलफल भएको थियो । मानार्थ अध्यक्ष अलेक्सान्द्र सोलोभ्एभले मैत्री समाजको स्वर्णजयन्तीप्रति समर्पित गरी यसै पंक्तिकारबाट तैयार पारिएको र ८ वर्षअघि रुस र नेपालबीच कूटनैतिक सम्बन्ध स्थापनाको ५० वर्षको सन्दर्भमा सन् २००६ मा नै ‘मित्रता र सहयोगको गाँठो’ भन्ने शीर्षकमा गैरआवासीय नेपाली संघ रुस राष्ट्रिय समन्वय परिषद्को तर्फबाट प्रकाशमा ल्याइएको पुस्तकको प्रवर्धित तथा परिष्कृत संस्करण प्रकाशमा ल्याउन पहल गर्ने प्रस्ताव राखिएपछि नेपाल र रुसबीच मैत्री सम्बन्धको १४० वर्षको इतिहास झल्कने गरी तैयार पारिएको सात अध्याय तथा परिशिष्टमा विभाजित घटनावली, वक्तव्य तथा दस्तावेज, दुवै देशमा स्थापित मैत्री संस्थाहरु, सम्बन्ध विकासमा योगदान दिने व्यक्तिहरुको संक्षिप्त जीवनी, दुवै देशमा प्रकाशित पुस्तक तथा कृतिहरुको सूची, नेपालबारे रूसी कविहरुका कविताहरु, रुसको यात्रा गर्ने नेपाली साहित्यकारहरु तथा सगरमाथा विजेता सोभियत तथा रुसी पर्वतारोहीहरुको सूची लगायत सामग्रीहरु समावेश गरिएको यो पुस्तक हाम्रा दुर्इ देशबीच मैत्री सम्बन्धको तथ्यगत जानकारी हासिल गर्न चाहने व्यक्तिहरुका लागि निकै उपयोगी सिद्ध हुनेछ भन्ने अभिव्यक्ति दिएको थिएँ ।

त्यसै भव्य वातावरणमा रुसमा आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिक समारोह मनाउने क्रममा विश्व नेपाली साहित्य महासंघ रुस शाखाको तर्फबाट आदिकविका कविताहरुको रुसी अनुवादसहित ‘लोकको गरुँ हित् भनी’ शीर्षकमा प्रकाशित द्विभाषिक संग्रह तथा डा. ऋषिकान्त मण्डलको प्रकाशन सहयोगमा आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिक समारोह समिति रुस महासंघको तर्फबाट रुसी भाषामा प्रकाशित मैथिली लोकसाहित्यका हस्ती गोनु झाको पुस्तक ‘कथाकुथुङ्ग्री’ का साथै दिवंगत नेपालविद् अलेक्सान्द्र लेद्कोभलिखित ‘नेपालको इतिहास : बीसौं शताब्दी’ शीर्षकको पुस्तक पनि नेपालसंग सहयोग तथा मैत्री सम्बन्ध समाजको संरक्षक समितिका अध्यक्ष, अन्तरिक्षयात्री भ्लादिमिर जानिबेकोभलाई उपहारस्वरुप प्रदान गरेको थिएँ…

त्यतिखेर मेरो स्मृतिपटलमा सिनेमाको पर्दामा जस्तै गरी आफूले रुसमा बिताएका ५५ वर्षको घटनाक्रमको झलक प्रतिबिम्बित भइरहेको थियो । ५१ वर्षअघि मास्को मैत्रीगृहको विशाल सभाकक्षमा सोभियत-नेपाल मैत्री संघको स्थापनाको उपलक्षमा आयोजित भव्य समारोहदेखि अहिले आएर मास्कोको रेष्टुराँको कक्षमा सम्पन्न भएको विशेष सम्मेलनसम्म कुनै पनि सभाहरू नछाडेर हरेक महत्वपूर्ण समारोहहरुको सहभागी बन्ने मलाई स्वर्ण अवसर प्राप्त भएको छ । यस सामाजिक संस्थाका संस्थापकहरुदेखि वर्तमान पदाधिकारीहरुसम्म सबै नै मेरा परिचित आत्मीय मित्र रहिआएका छन् । सोभियत-नेपाल मैत्री समाजका प्रथम संस्थापक-अध्यक्ष निकोलाइ पाभ्लोभिच मोखोभ र तत्कालीन नेपाली राजदूत दामोदर शमशेर राणाबीच भेटवार्तामा दोभाषे बन्ने गरेको, द्वितीय अध्यक्ष सोभियत अन्तरिक्षयात्री यूरी भासिल्एभिच मालिशेभसंग कैयौंपल्ट रेडियो मास्को नेपाली सेवाका लागि अन्तरवार्ता लिएको, सोभियत-नेपाल मैत्री समाजका त्यतिखेरका कर्मठ कार्यकर्ताहरुसंग नियमित भेटघाट र उपाध्यक्ष इल्या रेद्कोसंग नेपालको राजनैतिक घटनाबारे विचारविमर्श गर्ने गरेको हिजो जस्तै लाग्छ ।

तर आज उनीहरु हाम्रो माझमा नरहे तापनि उनीहरुले स्थापना गरेको मैत्री समाजले नयाँ रुसको नयाँ वातावरणमा नाम समेत नयाँ लिएर तेस्रा अध्यक्ष अलेक्सान्द्र सोलोभएभको नेतृत्वमा जटिल अवस्थामा समेत अस्तित्व कायम राखेको छ । नयाँ रुसको अवस्थामा विदेशीहरुले पनि मैत्री समाजको सदस्यता पाउने स्थिति कायम भएपछि मैलै सुरुमा यस संस्थाको उपाध्यक्ष र पछि प्रकाशन-प्रमुखसम्म बनेर काम गर्ने अवसर पाएको थिएँ । अहिले यस मैत्री संस्थाले फेरि नामको नयाँ काँचुली फेरेको छ र चौथा अध्यक्षको कार्यभार रसियाली उद्यमी मिखाइल सेर्गेएभिच नेक्रासोभले सम्हाल्ने मौक पाएका छन् । उनको कार्यकालमा नेपालसंग सहयोग र मैत्री समाजले नेपालसंगको सुमधुर सम्बन्धको जगमा अझ केही नयाँ ईंट थप्दै उत्तरोत्तर प्रगति गर्दै जानेछ भन्ने विश्वास छ । नेपाल र रुसबीच जनस्तरमा सहयोग र मैत्री सम्बन्धको विकास गर्ने पुनित उद्देश्यले उत्प्रेरित यस मैत्री संस्थाका सम्पूर्ण नवनिर्वाचित पदाधिकारीहरुलाई निरन्तर सफलता प्राप्त होस् ! नेपाल र रुसबीच मित्रता अमर रहोस् !

फोटो सौजन्य : बोरिस भर्र्शिनिन तथा गोविन्दप्रसाद गौतम
मास्को, रुस महासंघ ।

4

5

2

प्रतिक्रिया