सेमेस्टर प्रणाली लागू गर्ने निर्णय स्थगित

इनेप्लिज २०७१ माघ ५ गते १६:०२ मा प्रकाशित

tuकाठमाडौँ, ५ माघ । त्रिभुवन विश्वविद्यालयले विश्वविद्यालय क्याम्पस कीर्तिपुरबाहेक उपत्यकाका अन्य क्याम्पसमा सेमेस्टर प्रणाली लागू गर्ने निर्णयलाई स्थगित गरेको छ ।

पूर्वाधारबिना सेमेस्टर प्रणाली लागू गर्न लागिएको भन्दै संयुक्त विद्यार्थी आन्दोलनद्वारा उपत्यकामा आवदेन फारमसमेत वितरण गर्न रोक लगाएपछि विश्वविद्यालयका पदाधिकारीको आजको बैठकले उक्त निर्णय गरेको हो ।

विद्यार्थी सङ्गठनको मागका आधारमा विश्वविद्यालय क्याम्पस कीर्तिपुरबाहेक उपत्यकाका अन्य क्याम्पसमा सेमेस्टर प्रणाली लागू गर्ने निर्णयलाई हालका लागि स्थगित गरिएको विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा गुणनिधि न्यौपानेले जानकारी गराउनुभयो ।

नेपाल विद्यार्थी सङ्घका प्रवक्ता युपी लामिछानेले विश्वविद्यालयले पूर्वाधारबिना सेमेस्टर प्रणाली लगाउन खोजेका कारण आफूहरुले आन्दोलन गरेको जानकारी गराउँदै विश्वविद्यालयले गरेको निर्णय स्वागतयोग्य भएको बताउनुभयो ।

विश्वविद्यालयको उक्त निर्णयप्रति सेमेस्टर प्रणालीमा स्नातकोत्तर तहको भर्नामा लागेका उपत्यकाका निजी कलेजका सञ्चालकहरुले भने विरोध गरेका छन् ।

आजै एक पत्रकार भेटघाट कार्यक्रममा नेपाल निजी कलेज सङ्घ  पिक्यानका संयोजक डा राजेन्द्र केसीले विद्यार्थी तथा अभिभावक सेमेस्टर प्रणालीका लागि तयार भएका अवस्थामा विश्वविद्यालयले यथार्थतालाई नबुझी समयको मागलाई सम्मान गर्न नसकेको बताउनुभयो ।

उच्च माध्यमिक विद्यालय सङ्घ हिसानका उपाध्यक्ष रमेश सिलवालले उपत्यकाका निजी क्याम्पस पूर्ण पूर्वाधारसहित सेमेस्टर प्रणालीमा पढाउन तयार भएर आवेदन फारामसमेत वितरण गरिसकेका अवस्थामा फेरि वार्षिक प्रणालीमा फर्कन इच्छुक नभएको बताउनुभयो ।

हिसानका काठमाडौं अध्यक्ष रामहरि सिलवाल, एम्बिसन एकेडेमीकी देवी घिमिरेलगायतले विश्वविद्यालयबाट उपत्यकाका क्याम्पसमा सेमेस्टर प्रणालीमा भर्ना लिन स्वीकृति दिएर फारम वितरण गर्न लगाउँदै अहिले आएर फेरि वार्षिक प्रणालीमा फर्कन भन्नु गैरजिम्मेवारपन भएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया