संविधान निर्माणका लागि दबाब दिन प्रेस चौतारीको खबरदारी सभा
काठमाडौँ, ४ माघ । समयमा पूर्ण प्रेस स्वतन्त्रतासहितको संविधान निर्माणका लागि दबाब दिन आज प्रेस चौतारी नेपालले नयाँ बानेश्वरमा खबरदारी सभा आयोजना गरेको छ ।
चौतारीको उपत्यका र प्रतिष्ठान अञ्चल कमिटीको संयोजनमा गरिएको सो कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले दलका नेताहरूले आफैँले समयमा काम नगरेका कारण संविधान जारी गर्नुपर्ने मिति माघ ८ नजिकिँदा पनि सहमति वा प्रक्रियाका विषयमा विवाद देखिएको बताउँदै यस्तो स्थिति अन्त्य गर्न माग गर्नुभयो ।
उहाँले माघ ८ देखि लगातार संविधानसभाको बैठक गरेर भए पनि संविधान ल्याउन माग गर्नुभयो । चौतारीका केन्द्रीय अध्यक्ष राजेन्द्र अर्यालले समयमा संविधान ल्याउन दिनरात खटेर काम गर्न सभासद्हरूलाई आग्रह गर्दै जनतामा उत्पन्न निराशाप्रति नेताहरु गम्भीर हुनुपर्ने बताउनुभयो ।
अनेरास्ववियुका अध्यक्ष किशोरविक्रम मल्लले समयमा संविधान नआए आम विद्यार्थी पुनः सडकमा उत्रने चेतावनी दिनुभयो ।
युवा सङ्घ नेपालका महासचिव राजीव पहाडीले मधेसबाट ३० प्रतिशत पनि जनमत ल्याउन नसक्नेले मधेसको ठेक्का लिन खोजेको आरोप लगाउँदै राज्य पुनःसंरचनालगायतका विषयमा सहमति हुन नसकेमा प्रक्रियाबाट संविधान बनाउन सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले निर्णायक भूमिका खेल्नुपर्ने बताउनुभयो ।
यस्तै, पेसागत महासङ्घ नेपालका महासचिव शिव अधिकारी, प्रगतिशील पेसागत कानुन व्यवसायी सङ्गठनका अध्यक्ष रामकुमार श्रेष्ठ, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका महासचिव लक्ष्मण शर्मा, चौतारीका मध्यमाञ्चल उपाध्यक्ष उपेन्द्र केसीलगायतले खबरदारी सभामा ऐक्यबद्धता जनाउनुभएको थियो ।
यसैबीच, चौतारीको काठमाडौँ शाखाले आज काठमाडौँका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालमार्फत संविधानसभाका अध्यक्षलाई समयमा संविधान बनाउन माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
अमेरिकाको मिशिगनमा विनाशकारी घुम्र्पात (टोर्नेडो)को कारण एक जनाको मृत्यु, ४० भन्दा बढी घाइते
ट्रम्पका पूर्व वकिल जुलियानीले जनवरी ६ समितिसँग ९ घण्टा सम्म भेट गरे
अमेरिकामा नेपाली मूलका युवा साङ्गे शेर्पालामा बने शेर्पा समुदाय कै सम्भवत पहिलो वकिल
भर्जिनियाकी एक महिला शिक्षकले सामाजिक संजालमा बाल यौन दुर्व्यवहार सामग्री राखेकोमा पक्राउ
प्रतिक्रिया