‘चम्पाका हजार पाइला’ उपन्यास विमोचित

इनेप्लिज २०७१ माघ ४ गते ६:१८ मा प्रकाशित

Champa Ka Hazar Paila Book Launchकाठमाडौँ ४ माघ । साबी पाठकद्वारा लिखित ‘चम्पाका हजार पाइला’ नामक उपन्यास विमोचन भएको छ ।

नेपाली नारीले भोग्नुपरेका समस्याबारे लेखिएको उक्त कृतिको शनिबार यहाँ विमोचन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति डा गङ्गाप्रसाद उप्रेतीले नेपाली आख्यान क्षेत्रमा नयाँ कृति थपिएको बताउनुभयो । उहाँले नेपाली नारीका भोगाइलाई उपन्यासमा उतार्नु राम्रो कामको थालनी भएको बताउनुभयो ।

प्रवासमा बस्ने महिलाले आफ्नो कृतिमार्फत नारीको आवाजलाई एउटी चम्पा भन्ने पात्रमार्फत लेख्नु महत्वपूर्ण कामको थालनी भएको उप्रेतीले बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका नेता तथा साहित्यकार गङ्गालाल तुलाधारले कृतिको शीर्षक नै मर्मस्पर्शी भएको भन्दै नेपाली महिलाले भोगेका समस्याविरुद्ध लेखिका राजनीतिक मैदानमा आउन तयार हुनुपर्नेसमेत बताउनुभयो ।

कार्यक्रममा साहित्यकार राधेश्याम लेकाली, युवराज नयाँघरे, पत्रकार देवप्रकाश त्रिपाठी आदिले उपन्यासमा नेपाली नारीले भोग्नुपरेको समस्याको बारेमा चर्चा गर्नुभएको थियो ।

कृति २७६ पृष्ठको रहेको छ भने उक्त कृति लेख्न दुई वर्ष लागेको लेखिका पाठकले जानकारी दिनुभयो ।

प्रतिक्रिया