ब्रोइलर कुखुराको मासुको मूल्यमा दोब्बर वृद्धि

इनेप्लिज २०७१ माघ ३ गते ११:२४ मा प्रकाशित

chicken-meat-nepalकञ्चनपुर, ३ माघ । कञ्चनपुर जिल्लामा ब्रोइलर कुखुराको मासुको मूल्यमा एक महिनाको अवधिमै दोब्बर वृद्धि भएको छ ।

एक महिनाअघि रु १८० प्रतिकिलोका दरले बिक्री हुँदै आएको ब्रोइलर कुखुराको मासुको मूल्यमा वृद्धि भई रु २४० पुगेको छ ।

बजारको मागअनुरुप ब्रोइलर कुखुराको आपूर्ति नहुँदा मासुको मूल्यमा दोब्बर वृद्धि भएको मासु व्यापारी गोपाल सुनारले बताउनुभयो ।

चिसो मौसममा ब्रोइलर कुखुराको मासु यहाँका बजारमा बढी माग हुने गरेको छ ।

ब्रोइलर कुखुराको मासु स्थानीय उत्पादनमा कमी आएपछि खुला सिमानाको फाइदा उठाउँदै तस्करले धमाधम भारतीय बजारबाट भित्र्याउन थालेका छन् ।

चल्लाको व्यापारमा लागेका व्यवसायीले पर्याप्तमात्रामा चल्लाको आपूर्ति गर्न नसक्दा कुखुरापालनको कार्यमा अवरोध सिर्जना भएको छ ।

चल्ला नपाइँदा र चिसोमा राखेका चल्लाको मृत्युदर बढी हुने गरेकाले ब्रोइलर कुखुरा पाल्दै आएका अधिकांश व्यवसायीले फ्रेस हाउसमा चल्ला नराखेका कारण ब्रोइलर कुखुरा यहाँका बजारमा अभाव भएको कुखुरा व्यवसायी दीना रानाले बताउनुभयो ।

गर्मी मौसममा यहाँका व्यापारीले कुखुराको मासु स्थानीय माग पूर्ति गर्दै बढी भएका कुखुरा पहाडी जिल्लातर्फ आपूर्ति गर्दै आएका थिए ।

जिल्लामा १८० वटा फ्रेस हाउसमा विगतमा कुखुरापालन हुँदै आएकामा हाल घटेर १०० वटामात्रै फ्रेस हाउस सञ्चालनमा रहेको पशुसेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डा मदन सिंह धामीले बताउनुभयो ।

खुला सीमानाकाबाट निर्वाध रुपमा भित्रिने ब्रोइलर कुखुरासँग प्रतिस्पर्धा गर्न नसक्दा र कुखुरा हुर्काउन बढी मेहनत गर्नुपर्ने भए पनि प्रतिफलअनुसारको मूल्य नपाउँदा कुखुरापालक पलायन हुँदै गएको उहाँले बताउनुभयो ।

यस क्षेत्रमा वार्षिक रुपमा झन्डै २० हजार किलो ब्रोइलर कुखुराको मासु खपत हुने गरेको छ ।

प्रतिक्रिया