कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदी

इनेप्लिज २०७१ फागुन २१ गते २:४७ मा प्रकाशित

timthumb.phpइलाम, २१ फागुन । जिल्ला कारागार इलाममा केही दिनयता कैदी आउने क्रम बढेको छ ।

सुधार गृहको रूपमा निर्मित जिल्ला कारागारमा अहिले क्षमताभन्दा तेब्बर कैदीबन्दी राखिएका छन् ।

एक सय जना पुरूष र २५ जना महिलाको क्षमता रहेको कारागारमा २९५ जना पुरुष, चार जना नाबालकसहित ३७ जना महिला कैदीबन्दीलाई कोचेर राख्नुपरेको कारागार प्रशासनले जनाएको छ ।

अन्यत्रबाट कैदी ल्याउने क्रम नरोकिएपछि कैदीलाई कोचेर राख्नुपर्ने अवस्था सिर्जना भएको कारागार प्रमुख दुर्गाप्रसाद दुलालले बताउनुभयो । कारागारमा धेरै कैदी हुँदा सबैलाई निगरानी गर्न नसकिने कारागार प्रशासनले जनाएको छ ।

कैदीबन्दीलाई निगरानीमा नराख्दा दुई महिनाअघि दुई कैदीले शौचालयको भेन्टिलेसनको रड काटेर भाग्ने योजना बनाएका थिए । कारागारमा सबैभन्दा बढी ८७ जना कर्तव्य ज्यान मुद्दाका कैदी छन् भने छ जना विदेशी नागरिक छन् ।

धेरै जनालाई एकैठाउँमा राख्नुपर्दा धेरै समस्या उत्पन्न भएको छ, दुलालले भन्नुभयो, “धेरै कैदीलाई खानेपानी, उपचार, खेल्नेलगायतको समस्या भएको छ ।”

कारागारमा हाफ इन्चको पाइपमा पानी दिइएको छ । त्यही पानी छेवैको सशस्त्र प्रहरी र कारागार दुवैले उपभोग गर्नुपर्ने बाध्यता छ ।

कैदीबन्दी, कारागारका कर्मचारी र सशस्त्र प्रहरीका गरेर करिब ५०० भन्दा बढीलाई यो पानीले पुग्ने अवस्था छैन । पानीको स्रोत थप गर्न पनि वैकल्पिक व्यवस्था नभएको दुलाल बताउनुहुन्छ ।

पानी अभाव हुँदा खाना पकाउन र शौचालय जान नै समस्या हुन थालेको कैदीबन्दी नाइके शुक्रराज राईले बताउनुभयो । कैदी धेरै भएपछि जुनसुकै काममा पनि घन्टौँ पालो पर्खनुपर्ने बाध्यता भएको कैदीले बताएका छन् ।

सामान्य र गम्भीर बिरामी बनेका कैदीले सहज उपचार पाउन सकेका छैनन् । कैदीबन्दीको सङ्ख्या बढी भएकाले विभिन्न खालका रोग, हैजा फैलने हुनाले उपचारमा समस्या हुने गरेको छ । पित्तथैलीमा पत्थरीया हुने बिरामी आधा दर्जनभन्दा धेरै छन् । उपचारकै समस्याले केही कैदीबन्दीलाई राजधानी सार्ने प्रयास भइरहेको दुलालले बताउनुभयो ।

झापा, मोरङ, झुम्का, उदयपुर, पाँचथर, ताप्लेजुङ जिल्लाबाट कैदीलाई इलाम ल्याइएको छ । अझै बाहिर जिल्लाबाट कैदी आउने क्रम नरोकिएको कारागार शाखा इलामले जनाएको छ ।

सशस्त्र द्वन्द्वका क्रममा २०६२ सालमा माओवादीले कारागार आक्रमण गरेपछि सुधार गृहको रुपमा कारागार निर्माण गरिएपछि अन्यत्रबाट कैदी आउने क्रम बढेको हो ।

प्रतिक्रिया